जिल्ला अस्पताल जाजरकोट अगाडि शव राखिएको ठाउँमा भीडभाड
वीरेन्द्रनगर : रुकुम पश्चिममा जाजरकोटका एक युवाको हत्या भएको छ । मेला हेर्न गएका जाजरकोट भेरी नगरपालिका–३ स्यालाका १८ वर्षीय प्रकाश जंग शाहको रुकुम पश्चिमको आठविसकोट बाम्नीखेतमा हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार, भेरी नगरपालिका– १ रावतगाँउ र कोलचौरका युवाबीच मृतक शाहसहित उनका साथीको मेलामा विवाद भएको थियो । उक्त विवादकै कारण एक अर्कोलाई हात हालाहाल समेत भएको थियो ।
मंसिर ३ गते लाग्ने मेलामा गएका युवाहरुको विवाद भएपछि विहान मिलापत्र समेत भएको थियो । तर, मिलापत्र भएपनि झडप बढ्दै जाँदा बेलुकापख पनि झडप भएको स्थानीयले बताएका छन् ।
उक्त झडप हुँदा प्रकाशका साथी भागेर ज्यान जोगाए पनि प्रकाश घर फिर्ता भएका थिएनन । प्रहरी र स्थानीयको खोजीका कारण तीन दिनपछि भेरी नगरपालिका– १ कालेगाँउ नजिकैको भेरी नदीको छेउमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
प्रहरीका अनुसार, मृतकको टाउकोमा गहिरो चोट लागेको छ । अन्य शरिर अङ्गभङ्ग भएको छ । ‘घटनाको प्रकृति, पोष्टमार्टम रिपोर्टको आधारमा अनुसन्धान अगाडि बढाइएको छ’ जाजरकोटका डीएसपी मधु कुमार थापाले भने, ‘घटनाबारे बुझ्नका लागि नियन्त्रणमा लिएका पाँच जनालाई सोधपुछ गरिएको छ । ’
‘घटनामा संलग्न तथा मेलामा विवाद गर्ने मध्येका भेरी नगरपालिका १ कोलचौरका सर्जन खत्री, शिवराज परियार र सन्तोष परियार यस्तै भेरी नगरपालिका–१ कालेगाँउका दिनेश केसीसँगै कुशे गाउँपालिका– २ भर भएका भेरी नगरपालिका – १ रावतगाँउ बस्ने केशबहादुर बुढा प्रहरीले पक्राउ गरेको थियो । घटना विषयक थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।