वीरेन्द्रनगर : सुर्खेतमा देउवा समूहले पुर्ण रुपमा वर्चश्व जमाएको छ । देउवा समूहले वर्चश्व जमाउँदा पौडेल समूहका जिल्ला सभापतिनै महाधिवेशन प्रतिनिधिमा पराजित हुनु परेको छ ।
सुर्खेतका दुबै क्षेत्रको निर्वाचनमा देउवा समूहको नै हाबी छ । क्षेत्र नम्बर १ मा झकबहादुर डाँगीको टिम विजयी भएको छ । डाँगी देउवा समूहका हुन् । ७१९ मत प्राप्त गरेर डाँगी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार, डाँगीका प्रतिद्धन्दी बलबहादुर वलीले १०३ मत प्राप्त गरेका थिए । मंगलबार भएको निर्वाचनमा क्षेत्र नम्बर १ का ९ सय १७ मत मध्ये ८ सय ७४ मत खसेको हो ।
यस्तै महाधिवेशन प्रतिनिधिमा उक्त क्षेत्रबाट कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कासहित उदय गिरी, ऋषिप्रसाद शर्मा, खड्गबहादुर पोखरेल, खिमानन्द ढकाल, देवबहादुर चन्द, नरहरि भट्टराई, लक्ष्मी पौडेल, हरिप्रसाद शर्मा, हिरामणि सुनार, अमृता शाही, खगिसरा आचार्य, धनकुमारी बुढा योगी, मैना विक, यामकुमारी वैगार र उदे कामी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा महामन्त्री खड्काले ७ सय ३६ मत प्राप्त गरेर विजयी भएका हुन् ।
सुर्खेत क्षेत्र नम्बर २ मा पनि देउवा समूहले वर्चश्व जमाएको छ । उक्त क्षेत्रमा ६४८ मत ल्याएर देउवा पक्षका ईन्द्रबहादुर रावल विजयी भएका छन् ।
रावलले पौडेल पक्षबाट उम्मेद्वार ललित भट्टराईलाई पराजित पार्दै सभापतिमा रावल विजयी भएका हुन् । भट्टराईले २८८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । भने अर्का सभापतिकै उम्मेद्वार लालवीर भण्डारीले ने ६ मत ल्याएर पराजित भएका थिए ।
यस्तै हालका सुर्खेत जिल्ला सभापति कमलराज रेग्मी महाधिवेशन प्रतिनिधिबाट पराजित भएका छन् । उनी पराजित भएसँगै उपेन्द्रबहादुर थापा, कलमबहादुर खत्री, कालीप्रसाद शाक्य, टोपबहादुर रावत, नारायणप्रसाद सापकोटा, तिर्थजंग शाही, निरञ्जन केसी, यज्ञबहादुर बुढा क्षेत्री, विष्णुबहादुर खड्का र श्यामकुमार भारती महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन् ।
जस मध्ये उपेन्द्रबहादुर थापा विद्यालय बन्द गराएरै पनि महाधिवेशन गराएका थिए । सुर्खेतमा देउवा पक्षले वर्चश्व जमाएको छ । सुर्खेत महामन्त्री पुर्णबहादुर खड्का गृहजिल्ला समेत हो ।