वीरेन्द्रनगर : नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा सुर्खेतमा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । पत्रकार महासंघ जिल्ला शाखाको समन्वयमा एक हप्ते आधारभूत पत्रकारिता तालिम बुधवारदेखि सुरु भएको हो ।
युरोपियन युनियनको सहयोगमा सञ्चालन भएको तालिमको महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले उद्घाटन गर्दै पत्रकारिता गर्दै आएका र नयाँ तालिम लिनेहरुका लागि सहयोग पुग्ने समेत बताए ।
उनले विगतको तुलनामा अहिले पत्रकारिताका विद्यार्थीहरुका लागि तालिमको आयोजना भइरहेकोले यस्ता तालिमलाई अवसरको रुपमा लिएर सक्षम पत्रकार बन्न सुझाव दिए । साथै पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नका लागि महासंघको केन्द्रीय समिति क्रियाशील रहेको पनि उनले बताए ।
पत्रकार महासंघका प्रदेश महासचिव खगेन्द्र भट्टराईले तालिमबाट धेरै भन्दा धेरै सिकेर व्यवहारमा उतार्न आग्रह गरे । पत्रकार महासंघका कार्यक्रम संयोजक संघर्ष पन्तले आधारभूत पत्रकारिता तालिम लिएका पत्रकारहरुलाई नै पछि स्तरवृद्धिको अर्को तालिमको आयोजना गरिने जानकारी दिए ।
मिडिया इन्टरनेशनल अलर्टका बिजय क्षेत्रीले पनि तालिम संचालन र यसको उपादेयतावारे प्रकाश पारेका थिए । पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले जिल्लामा सक्षम र गुणस्तरीय पत्रकारहरुको अभाव रहेकोले तालिमले त्यस्ता पत्रकार बन्न सघाउने विश्वास व्यक्त गरे ।
साथै तालिम अवधिभर सक्रिय सहभागिता जनाउन आग्रह गरिएको छ । पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष सुदीप पुरीले स्वागत र सहसचिव ईश्वर अधिकारीले संचालन गरेको तालिममा महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्मा लगायतको उपस्थिति थियो ।
यहिँ मंसिर १४ गतेसम्म संचालन हुने तालिमको सहजीकरण पत्रकार महासंघका पूर्व केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमले गरेका छन् । तालिममा जिल्लाका विभिन्न संचार माध्यममा कार्यरत ४० जना पत्रकारको सहभागिता रहेको छ ।