खलंगा : जुम्लामा दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्न कर्णाली हातेमालो सेवा समाज जुटेको छ । यस संस्थाले जुम्लाको सिंजा, तातोपानी र पातारासी गाउँपालिका भित्र रेडपाण्डा संरक्षणकोे कार्य गर्दे आएको छ ।
हातेमालो जुम्लाका कार्यकारी निर्देशक टेकबहादुर रावतले रेडपाण्डाको संरक्षणका लागि स्थानीय तहमै तीव्र छलफल भइरहेको बताए । उनले भने, ‘स्थानीय तहले पनि सकारात्मक प्रतिक्रिया दिँदै आएको छ । वन्यजन्तु संरक्षण ऐन २०२९ मा कुनै पनि व्यक्तिले नियन्त्रणमा राखेको वा मारेको र ओसारपसार गरेको पाइएमा १ देखि १० वर्षसम्म कैद वा एकदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान रहेको छ । यसलाई नै समातेर हामी अगाडि बढिरहेका छौं ।’
रेण्डपाण्डा संरक्षण जुम्लामा चुनौती पूर्ण बन्दै गएको छ । बासस्थान विनास, खण्डीकरण, चोरी शिकारीका कारण संरक्षित क्षेत्रमै संख्या कम हुनु यसका प्रमुख चुनौती रहेको प्रशिक्षक शंखर प्रसाद कोइरालाले बताए । उनले भने, ‘रेडपाण्डाको चोरी शिकारी नियन्त्रणमा मिडियाको भुमिका महत्वपुर्ण हुने छ ।’
‘स्थानीय सरकारमा जागरुक आउनुपर्छ’
दुर्लभ रेडपाण्डा संरक्षणमा चुनौती थपिएकाले हातेमालो नेपाल जुम्लाले चिन्ता समेत व्यक्त गरेको छ । रेडपाण्डा संरक्षणमा स्थानीय सरकार जागरुक बन्नु पर्ने आवश्यक रहेक भएको हातेमालोले बताएको छ ।
‘रेडपाण्डाको संरक्षण र चोरी शिकारीमा स्थानीय सरकारले नीतिगत व्यवस्था गर्नुपर्छ’ रेडपाण्डा संरक्षक दिनेश घलेले भने ‘रेडपाण्डाको संरक्षणमा स्थानीय सरकार जिम्मेवार हुनैपर्छ। रेडपाण्डा संरक्षणमा सक्रिय संस्था रेडपाण्डा नेटवर्कका कार्यक्रम हामीले लागु गरेका छौं ।
“रेड पाण्डाको संरक्षणका लागि सामुदायिक वनका पदाधिकारीलाई सचेतना दिने काम भइरहेको छ’ उनले थपे, ‘सामुदायिक वन संरक्षणको काम अघि बढ्ने वित्तिकै रेडपाण्डाको संरक्षण हुने देखिन्छ । वन क्षेत्रमा हुने आगलागी, गाईवस्तु चरिचरन, बढ्दो मानवीय गतिविधिले रेडपाण्डाको संरक्षण चुनौती पूर्ण देखिएको छ । रेडपाण्डाको चोरी शिकारीसँगै लेकाली गोठमा पालिने कुकुरको आक्रमणले पनि रेडपाण्डा असुरक्षित हुने गरेका छन् ।’
सामुदायिक वनहरुसँग सहकार्य गर्दै रेडपाण्डाको वासस्थान पहिचान गर्नका लागी नियमित अनुगमन गर्ने, सामुदायिक वनका पदाधिकारीहरुलाई सशक्तिकरण गरेर बासस्थानको संरक्षण गर्ने कार्यमा जुट्न खोजिएको छ ।
हातेमालो कार्यकारी निर्देशक रावतले थपे, ‘उच्च पहाडी क्षेत्रका वन क्षेत्रमा पाइने रेडपाण्डाको आयू ८ देखि १० बर्षसम्म हुन्छ । पुस र फागुनमा भाले लाग्ने र जेठदेखि साउन सम्म गर्भाधान हुने महिनाको रुपमा लिइन्छ।’
रेडपाण्डालाई पर्यटन प्रवर्द्धन गर्न र अध्ययन अनुसन्धान गर्न महत्वपूर्ण वन्यजन्तु मानिएको रावतले स्थानीय सरकारको तर्फबाट यसको संरक्षणमा ध्यान दिनु पर्ने बताए । रेडपाण्डा नेटवर्कसँगको सहकार्यमा कर्णाली हातेमालो सेवा समाज जुम्लाले तिनवटा स्थानीय तहमा रेडपाण्डा संरक्षणको कार्य गर्दे आएको छ।
निगालोको टुसा र पात रेडपाण्डाको मुख्य आहारा हो । रातो हाब्रेको नामाले चिनिने रेडपाण्डाको बासस्थान विनाश, चोरी शिकारीका घटना लगायतका कारण संरक्षणमा कठिनाइ थपिँदै गएको हो ।
दुर्गम क्षेत्रमा यातायात, मानव बस्ती र चरिचरण क्षेत्रको विस्तार, वन डढेलो, रासायनिक वस्तुको अधिकतम प्रयोग, चोरी शिकारजस्ता कार्य भइरहेको प्रशिक्षक शंखर प्रसाद कोइरालाले बताए । उनले भने, ‘नेपालमा रेडपाण्डा संरक्षणका लागि गरिएको अनुसन्धानले २३ हिमाली तथा पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, डोल्पा, जुम्ला, मुगु, कालीकोट र जाजरकोटमा रेडपाण्डा पाईदै आएको छ । ’
देशभर रेडपाण्डाको अवैध ओसारपसारका कारण ५८ जनाले कारागारमा रहेका छन । एक दशकअघि यहाँका गाउँ ठाउँमा सजिलै देख्न सकिने रेडपाण्डा लोप भएपछि यसको संरक्षणमा चासो बढेको हातेमालो नेपाल जुम्लाले बताएको छ ।
समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम मार्फत रेडपाण्डा नेटवर्कको सहयोगमा हातेमालो सेवा समाज जुम्लाद्धारा रेडपाण्डा संरक्षणका लागि जिल्लाका वन क्षेत्रमा ब्लक निर्धारण गरी उनिहरुको बासस्थान सुरक्षित गर्ने प्रयास थालीएको छ ।