काठमाडौँ । मंगलबारदेखि नेपाल आउने यात्रुले अनिवार्य रुपमा नोवेल कोराना भाइरसको संक्रमण नभएको प्रमाण पत्र ल्याउनुपर्ने व्यवस्था गरिएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उच्चस्तरीय कार्यदलको बैठकले गत साता यो निर्णय गरेको उल्लेख गरिएको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत सरुवा तथा रोग नियन्त्रण महाशाखाका प्रमख डा वासुदेव पाण्डेले विषाणुको प्रकोप देखिएको देशबाट आउने विदेशी अथवा स्वदेशी यात्रुले कोभिड १९ छैन भन्ने प्रमाणपत्र अनिवार्य लिएर आउनुपर्ने बताए।
उनले नेपालको परराष्ट्र मन्त्रालयले ती देशको परराष्ट्र मन्त्रालयलाई यसबारे पत्राचार पनि गरिसकेको बताए।
यसैगरी नेपाल आउने यात्रुले सबैले सेल्फ डिक्लेरेसन फर्म भर्नुपर्ने व्यवस्था पनि गरिएको डा पाण्डेले बताए।
कतारले आइतबारदेखि नेपालसहित १४ देशका यात्रुलाई कतार प्रवेशमा रोक लगाएको छ। कोरोनाको संक्रमण रोक्न कतारले चीन, इजिप्ट, भारत, इराक, इरान, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया, थाइल्यान्ड र नेपालबाट कतार जाने यात्रुमाथि रोक लगाएको हो। कतारमा १५ जनामा कोरोनाको संक्रमण देखिएको छ।
नेपालले भने यस प्रकारको बन्देज तत्काल लगाउन लागेको हो भन्ने प्रश्नमा डा पाण्डेले विश्व स्वास्थ संगठनले यस्तो सुझाव दिइनसकेको र हाल नेपाल आउने यात्रुहरुको संख्या आधा घटेकाले पनि तत्काललाई त्यस्तो निर्णय नगरिएको बताए।
चीनको वुहान सहरबाट गत डिसेम्बरबाट सुरु भएको यो भाइरसको प्रकोपले सोमबारसम्म विश्वका एक सय देशमा फैलिएको छ। यो रोगले एक लाख आठ हजारलाई संक्रमण भएको छ भने तीन हजार आठ सय २१ को ज्यान गइसकेको सिएनएनले जनाएको छ।