सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ । पछिल्लो चौबिस घण्टामा दैलेखमा थप ७ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ११ पुगेको हो । यसअघि सुर्खेतमा तीन जना र दैलेखमा पहिलो संक्रमित भेटिएका थिए ।
आइतबार राती दैलेखमा ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार बिहानै थप दुई जनाको रिर्पोट पनि पोजेटिभ आएपछि कोरोना संक्रमितको संख्या ११ पुगेको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कर्णालीमा सबैभन्दा धेरै दैलेखमा ८ जना संक्रमित भेटिएपछि दैलेख कोरोनाको नयाँ इपिसेन्टर बनेको छ । दैलेखमा जेठ ५ गते पहिलो संक्रमित भेटिएका थिए । त्यसको एक हप्तामा थप ७ जनामा संक्रमण पुष्टि भएको छ ।
सबै संक्रमित भारतबाटै आएका सामाजिक विकास मन्त्रालयले जनाएको छ । भारतबाट आएका संक्रमितले अरुलाई पनि कोरोना सारेको हुन सक्ने अनुमान गरिएको छ ।
अब सुर्खेतबाटै रिर्पोट सार्वजनिक
कर्णाली प्रदेशमा अब कोरोना संक्रमितको अन्तिम रिर्पोट सुर्खेतबाट सार्वजनिक हुने भएको छ । सुर्खेतको प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा परीक्षण गरेपछि नै अन्तिम रिर्पोट सार्वजनिक गरिने सामाजिक विकास मन्त्री दलबहादुर रावलले जानकारी दिए ।
उनका अनुसार सुर्खेतको प्रयोगशालामा पिसिआर पोजेटिभ देखिएकाको रिर्पोट नेपालगञ्जबाट पनि पोजेटिभ नै आएकाले अब सुर्खेतबाट अन्तिम रिर्पोट सार्वजनिक गर्न लागिएको हो । अब सुर्खेतमा पिसिआर परीक्षण गर्दा त्यसलाई अन्तिम रिर्पोट मानेर सार्वजनिक गरिने मन्त्री रावलले बताए ।
यसअघि पुनःपुष्टिका लागि सुर्खेतमा पिसिआर पोजेटिभ देखिएकाको नमुना नेपालगञ्ज पठाइने गरेको थियो । सुर्खेतबाट चुनाव जितेका नवराज रावत स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएपनि सुर्खेतमा गतिलो परीक्षण नभएको भन्दै आलोचना भएको थियो ।