सिमकोट : जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले पहिलो पटक सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गत साउन महिना भित्रै गर्नुपर्ने सुनुवाइ कार्यक्रम गाउँपालिकाले स्थानीयको दवाबपछि गरेको हो ।
गाउँपालिका अध्यक्ष बिष्णुबहादुर लामाले आफ्नो कार्यकालको पहिलो पटक सार्वजनिक सुनुवाइ कार्यक्रम भएको जानकारी दिए । उनले दुई वर्ष अगाडी गर्ने तयारी गरिएको भएपनि कोरोनाको कारण गर्न नसकिएको बताउदै अहिले आएर दुई आर्थिक वर्षको सुनुवाइसँगै गरिएको बताए ।
कार्यक्रममा उनले सेवाग्राहीबाट आएका जिज्ञासाहरुको पनि जवाफ दिएका थिए । गाउँपालिकाबाट सम्पादन भएका कार्यहरुमा शिक्षा, स्वास्थ्य, सडक, कृषि, पशु बिकास र पर्यटन क्षेत्रबाट प्राप्त उपलब्धिहरुको पनि जानकारी गराएको थिए ।
यसअघि खेला प्रमुख अस्विीनी कुमार देबकोटाले आव ०७७/०७८ मा गाउँपालिकामा प्राप्त भएको बजेट ४२ करोड ४६ लाख १३ हजार २४२ रुपियाँमा २० लाख ५६ हजार २९६ रुपियाँ फिर्ता गएको र बाँकी बजेट शिर्षक अनुसार खर्च गराएका थिए।
कुल खर्च भएको बजेट मध्य ३३ लाख ७९ हजार रुपियाँ कोरोना रोकथामका लागि खर्च भएको जानकारी गराए । त्यसैगरि उनले आव ०७६/०७७ मा गाउँपालिकालाई प्राप्त भएको बजेट ३४ करोड ६४ लाख ३९ हजार ५०४ रुपियाँको आय-व्यय पनि प्रस्तुत गरेका थिए ।
सो आर्थिक बर्षमा ४४ लाख १८ हजार ७०७ रुपियाँ कोरोना संक्रमणका लागि खर्च गर्नु परेको कार्यक्रममा जानकारी गरिएको थियो । ७५ लाख ७६ हजार रुपियाँ फिर्ता गर्नु परेको जानकारी गरिएको थियो ।
लेखा प्रमुख देवकोटाले उक्त आवमा दुई करोड ७७ लाख ५२ हजार रुपियाँ गाउँपालिकाको संचित कोषमा जम्मा गर्न सफल भएको बताए ।
स्थानीय सेवाग्राही, सरोकारावाला पक्ष र जनप्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा आर्थिक पारदर्शिता कार्यम गर्न र पालिकाले सम्पादन गरेका कार्यक्रमबाट प्राप्त उपलब्धिहरुको सार्वजनिकीकरण गर्न कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा अध्यक्ष लामा, उपाध्यक्ष पेमा लामा, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, वडा अध्यक्ष लगाएको सहभागिता रहेको थियो ।