सल्यान : सल्यानको शारदा नगरपालिका वडा नम्बर ५ रानीकोटमा भाउजुले देवरको हत्या गरेकी छन् । ३३ वर्षीय शेर बहादुर चन्दको दुई भाउजु मिलेर हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या गर्नेमा उनकी भाउजु पर्ने २६ वर्षीया लक्ष्मी चन्द र छिमेकी भाउजु नाता पर्ने २५ वर्षीया राधा पौडेल चन्द छन् । लक्ष्मी र राधा दुइ भाइकी बुहारी हुन् । मृतक चन्दको शव आधा जलेको अवस्थामा भेटिएकाले घटनाको थप अनुसन्धान भइरहेको अनुसन्धान अधिकृत इन्सपेक्टर श्याम प्रसाद यादवले बताए ।
घटनाको प्रकृति हेर्दा हत्या नै भएको र हत्यासपछि सबुत प्रमाण नष्ट गर्नलाइ आधा शव जलाएको देखिएको छ । घर नजिकै सडक छेउमा शवलाई आधा जलाएपछि २० मिटर पर बाँसको झारीमा लगेर शव घाँसले छोपिएको थियो ।
देवरको हत्या गरेपछि लक्ष्मी भाग्नको लागि सदरमुकाम खलंगा पुगेर बैंकबाट पैसा निकाल्दै थिइन् भने राधा घरमै सुतेकी थिइन् । खलंगा आएकी लक्ष्मीले स्थानीय अटो चालक शेर बहादुर बुढाथोकीसँग आफुले देवरको हत्या गरेको र अब आफुलाइ बचाइदिन् आग्रह गरेको पनि प्रहरीले जनाएको छ ।
घटना कसरी घट्यो ?
हत्या गरिएका चन्द गत फागुनमा मात्रै विदेशबाट घर आएका थिए । उनकी श्रीमती माइतमा छन् । दाजु विदेशमा र आमाबुबा कोहलपुर बस्ने भएकाले घरमा मृतक शेर बहादुर, भाउजू लक्ष्मी र लक्ष्मीकी ४ वर्षीया छोरी मात्रै थिए । स्थानीयकाअनुसार राती १२ बजेसम्म शेर बहादुर, भाउजू लक्ष्मी, राधा र राधाका श्रीमानसँगै बसेर रक्सी खाएका थिए ।
प्यारालाइसिस रोगले ग्रसित राधाका श्रीमान रक्सी लागेपछि घर गएका थिए भने राधा त्यहि बसेकी थिइन् । त्ससपछि रक्सीको तालमा उनीहरुबीच विवाद, झगडा, कुटपिट र हत्यासम्म भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुबीच यौन सम्बन्ध रहे नरहेकोबारे प्रहरीले थप अनुसन्धान गरिररहेको जनाएको छ ।
हत्याको आरोपमा पक्राउ परेकी राधा भने यसअघि पनि अपराधिक घटनामा जेल परेर छुटेको स्थानीयले बताएका छन् ।