सुर्खेत : कर्णाली प्रदेशको राजधानी बनेपछि वीरेन्द्रनगरमा व्यापार व्यवसाय बढ्दो छ । प्रदेशको राजधानी भएसँगै जनसङ्ख्याअनुसार नै व्यापार व्यवसाय बढ्दै गएको हो । राजधानी भएसँगै थुप्रै व्यवसायहरु थपिदै गएका छन् । त्यसमध्य होटेल व्यवसायीको संख्या पनि बढ्दो छ । रेष्टुरेन्ट त सुर्खेतका चोक चोक गल्ली गल्लीमा भेटिएकै छन् ।
तर गरिब, असहाय र दैनिक ज्याला गरेर खाने मजदुरका लागि पेटभरि खाना खाने सुपथ होटेल कमै भेटिन्छन् । त्यहि काम गरेर खाने मजदुरदेखि हाकिमसम्मलाई पेटभरि खाना खाने घर पनि सुर्खेतमा सञ्चालनमा आएको छ ।
जहाँ मात्र ८५ रुपैँयामा पेटभरी खाना खान पाइन्छ । सुन्दा यो पत्याउन मुश्किल पर्ला । तर काम गर्ने मजदुरदेखि मालिकसम्मले ८५ रुपैँयाले पेटभरी खाना खाने ठाउँ सुर्खेतमा खुलिसकेको छ ।
जसको नाम हो, कर्णाली खानाघर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ यरीचोकमा कर्णाली खानाघर अवस्थित छ । कर्णाली चिनाउनका लागि पनि यो खानाघरको स्थापना भएको हो । त्यसमाथि प्रदेशको राजधानीमा बढ्दो महंगीमा मजदुरदेखि मालिकसम्मलाई सस्तो मूल्यमा खाना खुवाउने यसको उद्धेश्य हो ।
कालिकोटको पाँच जना युवाहरु मिलेर खोलिएको कर्णाली खाना तथा खाजा घरमा पछिल्लो समय आकर्षण बढ्दै गएको छ । खाना तथा खाजा खानेको संख्या बाक्लिदै छ । अहिले यहाँ कामदार देखि मालिकसम्मले ८५ रुपैयाँमा एक छाक खाना खाएर निस्किन्छन् ।
कालिकोटका युवा वीरेन्द्रबहादुर केसी, कालीबहादुर बुढा र रत्न बुढालगायत पाँच जना युवाहरु मिलेर ‘खाना जीवन हो, माया हजुरको’ नाराका साथ कर्णाली खाना खाजा घर संचालन गरेका हुन् ।
सहरमा बस्ने सबैजनाले महंगो पैसा तिरेर खाना खान नसक्ने अवस्था भएकोले तिनका लागि पनि आफुहरुले ८५ रुपैयाँमा खाना खुवाउने गरेको सञ्चालकमध्येका एक कालीबहादुर बुढाले बताए ।
‘सहरमा बस्ने सबैले महङ्गो होटेलमा पैसा तिरेर खान सक्ने अवस्थाका नहुन पनि सक्छन् । कोरोना महामारीका कारणले कयौंको रोजगारी गुमाएका छन्,’ उनले भने, ‘यसै पनि सबै मानिस पीडामा छन् । सबैले महङ्गो खाना खान सक्ने अवस्था छैन । खाना भनेको जीवन हो । त्यसैले पनि भोकाएका पेटहरुलाई सस्तोमा खुवाउन कर्णाली खाना घर सञ्चालन गरेका हाँै ।’
उनका अनुसार कर्णाली खाना खाजा घरमा शुद्ध शाकाहारी खाना मात्रै पाउने गर्छ । उनले संचालन गरेको होटेलमा खानामा दाल, भात, तरकारी चटनी उपलब्ध हुने गर्दछ । त्यस्तै दिउँसो बिहान नास्तामा रोटी, तरकारी, पुरी ५० रुपैँयामा पेटभरी खान पाइने गरेको उनीहरुको भनाई छ ।
१० लाख लगानीमा शुरु गरिएको खाना खाजा घरमा भोका कोही नरहुन भन्ने लक्ष्यका साथ खाना तथा खाजा घर खोलिएको बुढाको भनाई छ । ‘हामीले सडक बालबालिका, असहाय र विपन्न समुदायलाई निःशुल्क खुवाउने गरेका छौं र खुवाउदै आएका पनि छौँ ।’
खाना खाजाबाट आएको रकम घरभाडा र कर्मचारीको तलबमा खर्च गर्ने गरिन्छ । ‘हाम्रो कुनै व्यवसाय गरेर नाफा कमाउने उद्देश्य हाम्रो हैन । घरभाडा र कर्मचारीको तलव खुवाउन यो पैसा लगिएको हो’ उनले थप अगाडि भने ।
गएको भदौ २० गतेदेखि सञ्चालनमा आएको खाना तथा खाजा घरमा अहिले दैनिक ५० जनाले खाना तथा खाजा खाने गरेका छन् । त्यसको १ प्रतिशत रकम बचत गरेर सडक बालबालिका, असहाय र विपन्न समुदायका लागि उनीहरुले खाना तथा औषधी वितरण गर्ने उद्देश्य राखेका छन् ।
आफुहरुलाई सरकारी तथा गैरसरकारी संस्थाहरुले सहयोग गरे निःशुल्क खाना खाजा खुवाउने सञ्चालक केसी बताउँछन् । ‘अहिले हामीले व्यक्तिगत लगानीमा सुर्खेतकै सस्तो मुल्यमा खाना तथा खाजा खुवाइरहेका छौं । नाफा कमाउने हाम्रो उद्देश्य हैन,’ उनले भने, ‘सरकारी तथा गैरसरकारी संघसंस्थाबाट सहयोग भए निःशुल्क खाना खुवाउन सक्छौं ।’
८५ रुपैयाँ खानाबाट आउने रकम अहिले घरभाडा, कर्मचारीको तलव, पानी बिजुली बत्ती र खाद्यान्न खरीदमा खर्च हुने गरेको सञ्चालकहरु बताउँछन् ।
अन्तिममा हामीले फेरि सोध्यौँ, ‘साच्चिकै अन्यत्र र कर्णालीघरमा के फरक छ ?’ केसी सजिलोसँग उत्तर दिन्छन् , ‘कर्णालीमा पछिल्लो समय डेढदेखि दुई सय पर्ने सादा खाना मात्रै ८५ रुपैयाँमा पाउँछ ।’
उनले थप अगाडि सविस्तार भने, ‘बाहिर ३० रुपैँया पर्ने पानीलाई २० रुपैयाँमा दिन्छौँ । दही ३० पर्नेलाई २० मात्रै तिरे पुग्छ । १६ सयमा किनेको चामलबाट घाटा नहुने र तरकारी किन्दा भएको घाटा चामलबाट पुर्ति गरेर ८५ रुपैयाँमै खाना खुवाइरहने हाम्रो उद्धेश्य हो ।’
यति भनेपछि उनले मुस्कुराउँदै थपे, ‘सबै मान्छे नाफा र व्यापारका लागि मात्रै व्यवसाय गर्दैनन् । सफा मनले सबैको सेवा गर्नु पनि व्यवसाय हो । हामी सेवा गर्न चाहन्छौँ । एउटालाई मात्रै होइन, सबैलाई । सबैलाई सेवा गर्दा नाफा र व्यापारभन्दा बढी मन सन्तुष्ट हुन्छ । जीवनको सबैभन्दा ठूलो खुशी नै सन्तुष्टि हो ।’