काठमाडौँ । आज २५ जना कोभिड–१९ जितेर घर फर्किएका छन् । आज डिस्चार्ज भएका २५ जनासँगै घर फर्कनेको सङ्ख्या ११२ जना पुगेको छ । नारायणी अस्पताल वीरगञ्जमा उपचार गराइरहेका १८ जना डिस्चार्ज भई घर फर्किएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
ती डिस्चार्ज हुनेमा चार महिने शिशुदेखि ६६ वर्षीय पुरुष रहेका छन् । उनीहरुको डिस्चार्जको अवधि नौ देखि १० दिन रहेको बताइएको छ । यसैगरी पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान, ललितपुरमा उपचार गराइरहेका धनुषा, धादिङ, दाङ्, बर्दिया र काठमाडौँका एक/एक जना डिस्चार्ज भएका छन् ।
शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालबाट सर्लाही घर भएका एक जना र रुपन्देहीको तौलिहवावाट एक जना डिस्चार्ज भएका छन् । तौलिहवाका डिस्चार्ज हुनेमा स्वास्थ्यकर्मी रहेको उनले बताए ।
स्वास्थ्य सामग्रीको व्यवस्था
सरकारले पाँच हजार सङ्क्रमितलाई लक्षित गरेर औषधिको व्यवस्थापन गरेको छ । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य विभागको व्यवस्थापन महाशाख निर्देशक डा भोगेन्द्रराज डोटेल पाँच हजारलाई लक्षित गरेर औषधि व्यवस्थापन गरिएको जानकारी दिए ।
उनले शुरुमा एक हजार ५०० सङ्क्रमित हुने अनुमानलाई आधारमा मानेर औषधि व्यवस्थापन गरेपनि सङ्क्रमित सङ्ख्या दिनहुँ बढेकाले पाँच हजार सङ्क्रमितलाई आधारमा मानेर औषधि व्यवस्थापन गरेको बताए । उनका अनुसार सरकारले अहिलेसम्म ९२ करोडको स्वास्थ्य सामग्री ल्याइसकेको र थप ६६ करोडको सामग्री ल्याउने प्रक्रियामा रहेको छ ।
उहाँले हालसम्म एक लाख भिटिएम प्राप्त गरेको र ती भिटिएम विभिन्न जिल्ला र प्रदेशलाई ८८ हजार वितरण गरिसकेको जानकारी दिए। दुई लाख पाँच हजार भिटिएम खरिद गर्ने प्रक्रिया अगाडि बढाएको उनले बताए ।
विभागले पिसिआर किट एक लाख २८ हजार प्राप्त गरेकामा ७८ हजार विभिन्न ठाउँमा पठाएको छ । उनले थप एक लाख ७५ हजार पिसिआर किट खरिद प्रक्रिया अगाडि बढाएको बताए ।
यसैगरी एक लाख ७५ हजार आरडिटीमा ८० हजार विभिन्न ठाउँमा पठाइएको र थप एक लाख २१ हजार आरडिटी खरिद गर्ने प्रक्रियामा रहेको जानकारी दिए । एक लाख ४६ हजार व्यक्तिगत सुरक्षा कवच पिपिईमा ५४ हजार विभिन्न जिल्ला र प्रदेशलाई वितरण गरिएको छ ।
यस्तै एन–९५ मास्क एक लाख ८० हजार, पञ्जा दुई लाख ७८ हजार महाशाखासँगै मौज्दात रहेको उनले बताए । उनका अनुसार १० हजार वोटल स्यानिटाइजर विभिन्न ठाउँमा पठाएको छ । अन्तरराष्ट्रिय दातृ संस्थाले दिएका स्वास्थ्य सामग्रीलाई विभिन्न ठाउँमा पठाइएको महाशाखाका निर्देशक डोटेलले जानकारी दिए ।