सुर्खेत । जातीय विभेदको घटनामा रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा मारिएका जाजरकोटका युवा नवराज विकलाई ढुंगाले हानेर मारेपछि भेरी नदीमा फालिएको खुलासा भएको छ । स्थानीय केही प्रत्यक्षदर्शी र नवराजको साथमा गएका युवाहरुले नवराजलाई आधा घण्टासम्म ढुंगाले हानेर मारेपछि भेरी नदीमा फालिएको बताएका हुन ।
शनिबार राती प्रेमिका शुष्मा मल्ललाई विवाहका लागि भगाउन रुकुम पश्चिमको सोती पुगेका नवराजसहित १९ जनाको टोलीलाई शुष्माका आमाबुवा र गाउँले मिलेर कुटपिट गरेका थिए । शुरुमा लखेटेका उनीहरुले पछि भेटेर आधा घण्टासम्म कुटपिट गरेर मारेको प्रत्यक्षदर्शीले बताएका छन ।
'पहिला त उनीहरुले देख्नेवित्तिकै डुम भन्दै गालीगलौज गरे । त्यसपछि अरु गाउँलेलाई समेत बोलाए । अनि लखेट्न शुरु गरे । झण्डै १० मिनेट लखेटेर छोपेपछि नवराजलाई आधा घण्टासम्म ढुंगाले हाने । ढुंगाले हानेर मरेपछि बल्ल नदीमा लिएर फालेका हुन । अरुलाई पनि त्यसरी नै ढुंगाले हानेर मारेका हुन ।' नाम नखुलाउने शर्तमा एक प्रत्यक्षदर्शीले टेलिफोनमा जानकारी दिए ।
नवराजको साथमा गएका युवाहरुले पनि आफूहरुलाई कुटपिट गर्न थालेपछि भागेको बताएका छन । भाग्ने क्रममा ६ जना एकातिर र अरु अर्कोतिर भागेको बताएका छन । नदीतिर भागेका ६ जनालाई नै कुटपिट गरेको नवराजका ती साथीको भनाई छ ।
घटनालाई ढाकछोप गर्नका लागि नवराज र उनका बेपत्ता साथीहरुले नदीमा हाम फालेको आरोपितले दाबी गर्दै आएका छन । सोतीका वडाध्यक्ष डम्बर मल्ल, युवतीका बुवा वीरबहादुर मल्ल र आमा प्रकाशी मल्लको योजनामा नवराजसहितका युवाहरुलाई कुटेर मार्ने योजनाअनुसार हत्या भएको पाइएको छ ।
यसअघि पनि नवराज जातीय छुवाछुतलाई खुल्ला चुनौति दिदै युवतीलाई भेट्न सोती पुग्ने गरेका थिए । सोही क्रममा वडाध्यक्ष मल्लले नवराज र उनका एक साथीलाई कुटपिट समेत गरेर आइन्दा गाउँमै नआउन चेतावनी समेत दिएका थिए । तर नवराजले युवतीका अभिभावकलाई चुनौति दिएर दलबलसहित प्रेमिकालाई भगाउन खोज्दा दुर्घटना निम्तिएको प्रत्यक्षदर्शीको भनाई छ ।
जाजरकोटको भेरी नगरपालिका ४ रानागाउँका विक उनीसँगै गएका टीकाराम सुनार र गणेश बुढा मगरको शब भेटिएको छ । तिनै जनालाई मारेर फालिएको प्रत्यक्षदर्शीको भनाई छ । तर युवतीका आमाबुवा र आरोपितले भने उनीहरु ज्यान बचाउन भेरी नदीमा खसेर मरेको दाबी गर्दै आएका छन । युवाहरुको टाउकोमा गहिरो चोट लागेकाले पनि ढुंगाले हानेर मारेको सप्रमाण रहेको प्रत्यक्षदर्शीको भनाई छ ।
प्रहरीले हत्याको आरोपमा चौरजहारी ८ का वडाध्यक्ष डम्बर मल्ल, युवतीकी आमा प्रकाशी मल्ल र बुवा वीरबहादुर मल्लसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । बेपत्ता भएका तीन जनाको खोजी चलिरहेको र थप एक जनाको शब जंगलमा भेटिएको आशंका गरिएको छ ।
घटना नियोजित भन्दै दलित अधिकारकर्मीले छानबिनसहित दोषीलाई कारबाहीको माग गरेका छन । पूर्वगृहमन्त्री जनार्दन शर्माले पनि घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन । यता मृत्तकका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै शबको पोष्टमार्टम हुन दिएका छैनन् ।
लकडाउनका बेला जातीय विभेदको घटनाले जाजरकोट भने अशान्त बनेको छ । मृत्तक युवाहरुको आफन्तले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा धर्ना दिइरहेका छन ।
यता रुकुम प्रहरीले भने घटनालाई नियन्त्रणमा लिनुको साटो वडाध्यक्ष मल्लको पक्षमा जाजरकोटका युवाहरुलाई कुटपिट गर्न दिएको पनि पाइएको छ । प्रहरीकै सामुन्नेमा उनीहरुमाथि कुटपिट गरेर हत्यासम्म हुँदा पनि प्रहरी मुकदर्शक बनेको प्रत्यक्षदर्शीको भनाई छ ।