सिमकोट : हिमाली जिल्ला हुम्लाका सात वटै गाउँपालिकामा फोटो सहितको मतदाता नामावली संकलन कार्य हुने भएको छ ।
आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै निर्वाचन कार्यालयद्धारा सो कार्य सुरु गर्न लागिएको छ । मतदाता नामावली संकलन बिशेष कार्यक्रम बारे सरोकारवाला पक्षबिच सञ्चालन भएको अन्र्तकृया कार्यक्रममा जिल्ला निर्बाचन कार्यालय प्रमुख ओम प्रकाश महत्तोले मङ्सिर १७ गतेबाट सुरु हुने बताए ।
जसमा पहिरो चरणमा चंखेली ताँजाकोट र नाम्खा गाउँपालिकाबाट सुरु हुने छ । त्यसैगरि मङ्सिर २९ गतेबाट खार्पुनाथ, सर्केगार्ड र अदानचुली गाउँपालिका केन्द्रमा एक साथ सो कार्य सुरु हुने छ ।
गाउँपालिका केन्द्रमा सञ्चालन हुने फोटो सहितको मतदाता नामावली संकलन कार्य दश दिनसम्म सञ्चालन हुनेछ । यता सिमकोट गाउँपालिकाका लागि भने जिल्ला प्रशासन कार्यालय र निर्बाचन कार्यालयमा संकलन कार्य हुने छ ।
यसका लागि प्रत्येक गाउँपालिकाका लागि एक जना सोही गाउँपालिकाको कर्मचारीलाई संयोजकका रुपमा तोकिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले अब हुन लागेको बिशेष मतदाता नामावली संकलन कार्यमा सबैलाई सहयोग गर्न आग्रह गरे ।
उनले यसमा राजनीति दल र जनप्रतिनिधिहरुको महत्वपुर्ण भुमिका हुने भएको कारण सबैलाई संकलन कार्यमा छुटेका मतदातालाई सहभागी गराउन अनुरोध गरे ।
जनप्रतिनिधिहरुका तर्फबाट नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा लामाले मतदाता नामावली कार्यमा खटिएर आउने कर्मचारीलाई पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा सहभागी राजनीति दलका प्रतिनिधिहरुले भुगोलको कारण गाउँपालिका केन्द्रमा जान मतदातालाई कठिन भएको कारण वडा स्तरमा संकलन कार्य गर्न आग्रह गरेका थिए ।