वीरेन्द्रनगर : नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा चितवनमा जारी रहेको छ । यसै बीचमा एमाले पार्टीले पदाधिकारी तथा सदस्यहरू छनौट गर्नेकाम पनि जारी छ । त्यसै क्रममा कर्णाली प्रदेशको भूगोल खुल्लाबाट नेकपा (एमाले) केन्द्रीय सदस्यमा बौद्धिक युवा नेता योगेन्द्र शाहीले पनि उम्मेदवारी दिएका छन् ।
पुरुषतर्फका ६ जनाको कोटाका लागि सातजनाको उम्मेदवारी परेको छ । पार्टी एकतालाई थप सुदृढ पार्न सिद्धान्त, आदर्श, निष्ठा र मूल्य मान्यताको राजनीतिका लागि सक्षम युवा नेतृत्वको आवश्यकता खड्किएको बताउँदै उम्मेदवारी दर्ता गरेको शाहीले बताएका छन् ।
गतिशील पार्टी निर्माणका लागि युवा नेतृत्वको आवश्यकतालाई ध्यानमा राखेर अमूल्य मतदान गरी आफूलाई विजयी गराइदिन शाहीले सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई अनुरोध समेत गरेका छन् ।
तीन दशकदेखि राजनीतिमा सक्रिय
राष्ट्रिय राजनीतिमा समेत प्रभावशाली छवि बनाएका शाही विगत तीन दशकदेखि निरन्तर कम्युनिष्ट राजनीतिमा सक्रिय छन् । युवा नेता शाही वि.सं. २०५१ सालमा १८ वर्षको उमेरमा सुर्खेत शिक्षा क्याम्पसको स्ववियु सभापति भई पूर्णकालिन राजनीतिमा प्रवेश गरेका हुन् । वि.सं. २०५५–२०६१ सालसम्म अनेरास्ववियुको प्रचार विभाग, संगठन विभाग र विदेश विभाग प्रमुख भएर उनले विद्यार्थी आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका छन् ।
विश्व प्रजातान्त्रिक युवा संघको उपाध्यक्ष र एसियाली राजनीतिक पार्टीहरुको संगठन (आइक्याप) मा संलग्न भई विश्वका ६० भन्दा बढी देशमा प्रतिनिधि तथा वक्ताका रूपमा शाहीले सहभागिता जनाएका छन् । उनले वि.सं. २०६७–२०६९ सम्म नेपाल लोकतान्त्रिक मञ्च, युरोपको संस्थापक संयोजकको भूमिका समेत सफलतापूर्वक निर्वाह गरेका थिए ।
उनले युथ भिजन–२०२५’ निर्माण कार्यदलको संयोजक भएर समेत सफलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गरेका थिए । शाहीले जवाहरलाल नेहरु विश्वविद्यालय, भारतबाट क्षेत्रीय विकास र प्राकृतिक स्रोत साधन व्यवस्थापनमा एमफिलसम्मको अध्ययन पूरा गरेका छन्।
पुरुषतर्फ ६ जनाको कोटामा सातजनाको उम्मेदवारी
कर्णालीबाट एमाले केन्द्रीय सदस्यको लागि पुरुषतर्फबाट ६ जनाको कोटाका लागि सातजनाको उम्मेदवारी परेको छ । जसअनुसार योगेन्द्रबहादुर शाही लगायत गुलाबजंग शाह, डम्बरबहादुर सिंह, धर्मराज रेग्मी, नागिन्द्र शाही (नेशनल), निरज आचार्य, विष्णु रिजालको उम्मेदवारीस् दर्ता भएको छ । उक्त सातमध्ये एकजनाले पनि समयसीमाभित्र उम्मेदवारी फिर्ता लिएनन् भने कर्णालीमा पुरुष केन्द्रीय सदस्यमा ६ कोटाका लागि प्रतिस्पर्धा हुनेछ ।