मान्छे मान्छे एउटै हो नि फरक किन भो
श्रम चल्छ सीप चल्छ पानी नचल्ने भो ।
यो गीत सुनेपछि अहिलेका युवाको शरिरबाट पनि रातो र तातो रगत उम्लिन्छ । काँडा फुल्छ । सामाजिक विभेद गर्ने । दमन पूर्वक शासन गर्ने शासकविरुद्ध लड्ने आँट दिन्छ । दीपक लिम्बुले गाएको यो गीत सुनेर आन्दोलित हुँदै १० वर्षे माओवादी युद्धमा हिँडेका एक कमरेड हुन्, आकाश । जसको वास्तविक नाम हो हरिचन्द्र विक ।
जति बेला उनको उमेर १५ वर्षको थियो । यो २०४८ सालतिरको कुरा हो । जाजरकोटको बारेकोट गाउँपालिका-६ ताँसीका हरिचन्द्र विक सीता निमावि कार्कीज्युला कक्षा–८ मा अध्ययनरत थिए ।
त्यतिबेला कार्कीज्युला विद्यालयमा एक अपरिचित व्यक्ति आएर भने, ‘अब हामी सच्चा कम्युनिष्ट बन्नुपर्छ । समाज परिवर्तनका लागि कम्युनिष्ट बन्न जरुरी छ । कम्युनिष्ट बनेपछि जातीय विभेद अन्त्य हुन्छ ।’
एक अपरिचित व्यक्तिले यस्तो भनेपछि हरिचन्द्र नजिक पुगेर उनलाई चिन्ने मौका पाए । उनी रहेछन् अनेरास्ववियू छैटौंका नेता महेन्द्र आरसी ।
विद्यार्थी नेता आरसीको कुरा सुनेपछि हरिचन्द्रले सोचे ‘साच्चिकै विभेद अन्त्य हुन्छ भने म कम्युनिष्ट किन नबन्ने ?’ हरिचन्द्रको मात्रै होइन यो सोच हजारौं दलित युवाहरुमा पलायो । हरिचन्द्रमा झन् विशेष गरी पलायो ।
यसको पनि भित्री कथा बेग्लै छ । उनले पटक पटक आफ्नै छिमेकीबाट पानी छोएकै कारण कुटिनु परेको थियो । गाली खानु परेको थियो । ‘यो विभेदबाट आफुसहित आफ्नो समुदायलाई मुक्ति दिलाउन कम्युनिष्ट बन्न अग्रसर भएँ’ हरिचन्द्रले भने ।
हरिचन्द्रले कार्कीज्युला निमावि अर्थात् आधारभुत तहसम्मको अध्ययन मात्रै पुरा गरे । उनले माध्यमिक तहको अध्ययनका लागि जाजरकोटको लह पुग्नु पर्यो ।
२०५० सालतिर कक्षा १० अध्यननका लागि लहको भानुभक्त माध्यमिक विद्यालयमा पुगेका हरिचन्द्र त्यहाँकै अनेरास्ववियू छैटौंको इकाइ कमिटी सदस्य भए ।
‘तत्कालिन भानुभक्त माविमा पढाइ विस्तारै कम हुँदै गयो । शिक्षक सबै राजनीतिमा होमिए । शिक्षक राजनीतिमा होमिएपछि विद्यालय पनि प्रहरीको सूचिमा पर्यो । दिनौं प्रहरीले विद्यालयमा आउने सरहरुलाई खोज्ने काम गरिरह्यो’, हरिचन्द्रले भने, ‘अब हामीलाई पनि इकाइ कमिटिमा भएको थाहा पाएपछि प्रहरीको सूचिमा पर्न गयौं । टेकबहादुर रावल, मनबहादुर रावल, विरजीत घर्ती सर भुमिगत भएको थाहा पाएपछि हामी पनि विद्यालय छोड्नु पर्ने देखियो ।’
हरिचन्द्रले भानुभक्त मावि छोडेपनि पढ्नका लागि उनले जुम्ला जाने निर्णय गरे । जुम्लाको डिल्लीचौरमा पुगे । डिल्लीचौरमा पनि कहाँदेखि आएको ? भनेर सोधे । उनले जवाफ दिए जाजरकोटबाट । उनको जवाफले डिल्लीचौरका शिक्षकहरु एकछिन तर्सिए ।
‘शिक्षक किन तर्सिएका होलान् भनेको माओवादी भनेर रहेछ । उक्त थाहा पाएपछि डिल्लीचौरमा पनि असहज भयो । अनि पुनः बारेकोट फर्किनु पर्ने अवस्था आयो’ हरिचन्द्रले भने, ‘विद्यार्थी राजनीतिसँगै पार्टीका हरेक कामकाज हामीले गरिरहेका हुन्थ्यौं । कमाण्डर कमरेडले पनि अराउनु हुन्थ्यो । त्यसलाई तागत लगाएर पुरा गर्ने गरेका थियो ।’
हरिचन्द्र २०५४ सालको चैतमा तत्कालिन बारेकोटको नायकवाडा हुँदै रुकुमको गोतामकोटसम्म एक एरियाको अध्यक्ष भए । पछि आएर भेला भयो । भेलाबाट कमरेड शुशिल अध्यक्ष भए । त्यसमा बसेर पनि काम गरे । तत्कालिन प्रहरीको दबाबकै कारण केही महिनाका लागि भारत जानैपर्ने भयो ।
भारत पुगेर पनि प्रवासी संगठनको सम्मेलन भयो । त्यो भारतको रामपुर जिल्लामा भएको थियो । त्यहाँ आकाश जस्तै थुप्रै कमरेडहरु सामेल थिए । कमरेड आकाश केही महिना भारतमै संगठन निर्माणमा लागे । त्यतिबेला कमरेड हिमालले नेतृत्व गरेका थिए । त्यहाँ पनि बलियो संगठन थियो । कमरेड हिमालको साथ सहयोगमा हरिचन्द्र नेपाल फर्किने निर्णय भयो ।
२०५५ सालतिर भारतबाट फर्किए । राजनीतिमा लागेको धेरै भइसकेको थियो । तर, कमरेड आकाशको घर परिवारका दुःख उहिँ थिए । कष्ट उहिँ थिए । छानोको घर उहिँ थियो । आकाशलाई लाग्यो ‘अब राजनीति गर्दैन । अब घरमै बसेर परिवारसँगै वर्ष हुँदै दिन बिताउँछु । घरमा पनि प्रहरीको दबाब उस्तै थियो । अनि, कमरेडहरु पनि आइराख्नु हुन्थ्यो ।’
भारतबाट फर्किएपछि शक्तिबहादुर बस्नेत कि बहिनी शोभा बस्नेत र निशा राणा आउनु भएको रहेछ’ उनले भने, ‘मेरो राजनीतिक जीवन देख्नु भयो । लामो नै भयो । राजनीतिमा लागेको । यसबारे शक्ति बस्नेतकी बहिनी शोभाले भनिन्, ‘थाहा छ, तपाई भारतको संगठनमा पनि हुनुहुन्थ्यो ।’ यो रात निकै लामो संवाद भयो । शोभा र निशासँग । रात बित्नै लागेको थियो । कमरेड शोभा र निशाले एक गीत गाउनु भयो ।
‘साथीहरु हो क्रान्ति अझै बाँकी छ । यो यात्राबाट पछि हट्नु हुन्न’ यो गीत कमरेड शोभाले गाउँदा म निदाइ सकेको थिए । फेरी पनि उहाँहरुले अर्को गीत गाउनु भयो कमरेड आकाशले भने, ‘मान्छे मान्छे एउटै हो नि फरक किन भो..। श्रम चल्छ सीप चल्छ पानी नचल्ने भो..।’
यो गीतले आकाशमाथि पुरानै उर्जा भरिएर आयो । अँ साच्चिकै युद्ध बाँकी छ । क्रान्ति पुरा भएको छैन । अनि, मंसिरबाट भुमिगत भए । दोस्रो भुमिगत जीवनपछि २०५५ तिर नै हो ।
बारेकोट खारीदेखि लविशासम्म एउटा टोल बनेको थियो । उक्त टोलको जिम्मा हरिचन्दलाई दिइयो । त्यो टोलको जिम्मा पनि सफलता पूर्वक उनले निर्वाह गरे । यसअघि पार्टीको विभिन्न ठाउँमा रहेर काम गरिसकेको थिएँ । उनका लागि भारत पछि यो नै ठूलो संगठन थियो ।
२०५६ सालको माघमा विद्यार्थीहरुको जिल्ला सम्मेलन भयो । तत्कालिन अध्यक्ष रामदिप आचार्य भए । उनी त्यसको सदस्य थिए । पार्टी भित्रै विद्यार्थी हुँदै हरिचन्द्रको सांस्कृतिक समूहमा रुचि थियो । र, म सामेल पनि थिए । पहिलेदेखि ।
‘थुप्रै गीतहरु निर्माण गरे । करिब २ देखि ३ सयका बीचमा गीतहरु छन् । त्यस्तै नाटकहरु पनि । मेरा गीत एल्वममा बाहिर पनि आएका छन् रे आकाशले भने, तर, कुन कमरेडले ल्याउनु भएको छ खोज्दैछु ।’
०५५ देखि ५६ को बीचमा एक अभियान सुरु भयो । जसको नाम थियो ‘प्यारी’ । उक्त अभियान जाजरकोटको पश्चिम भेगदेखि पूर्व हुँदै डोल्पासम्म पुग्यो । र, समापन भयो ।
जसको नेतृत्व कलाकारले पनि गरे । उक्त अभियानपछि कालिबहादुर मल्लको सिफारिसमा हरिचन्दलाई जनमुक्ति सांस्कृतिक परिवारको सदस्यमा ल्याइयो । अनि, सांस्कृतिक सम्बन्धी पनि उनले थुप्रै काम गरे । पछि नयाँ भाइ बहिनीलाई उत्पादन समेत गरियो ।
आकाश २०६० सालमा जनमुक्ति सांस्कृतिक परिवारको अध्यक्षमा चयन भए । पहिलोदेखि नै हरिचन्द्रकै जिम्मा थियो कि जहाँ पार्टी र पार्टी संगठनका कार्यक्रम हुन्छन् त्यसमा गएर सांस्कृति देखाउने जिम्मा नै थियो ।
त्यतिबेला जाजरकोट जिल्ला पनि पार्टीले दुई जिल्लाका रुपमा विभाजन गर्यो । जाजरकोट पश्चिम भागलाई मोडेल जिल्ला भनियो भने पूर्वलाई जाजरकोट डी वान जिल्ला भनियो । सांस्कृतिक परिवार पनि छुट्याइयो ।
डी वान जिल्लाको सांस्कृतिक परिवारको नाम ‘रमका’ रह्यो । जसको अर्थ थियो । ‘र’बाट रतिलाल रावत ‘म’बाट मानबहादुर रावत ‘का’बाट कालिबहादुर बस्नेत सहिदका नाममा ‘रमका’ सांस्कृतिक परिवार रहेको थियो ।
तीनै जनालाई बारेकोट जीरीको माथिल्लो लेकमा प्रहरीले गोली हानेर मारेको थियो । उनका यस्ता थुप्रै कमरेडहरुलाई प्रहरीले गोली हानेर मारेको कमरेड आकाशले सम्झे । २०६३ सालको गण्डक अभियानमा सामेल हुने मध्ये उनी पनि हुन् ।
उनका लागि यो आक्रमणको तेस्रो अभियान हो । पहिलोमा जनजागरण अभियान । दोस्रोमा यस्तै खाल्को थियो । तेस्रो अभियान भनेको गण्डक अभियान थियो ।
गण्डकलाई ढाँड बनाएर काठमाडौंलाई टाउको बनाएर आक्रमण गर्ने जसलाई ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ नारा तय भएको थियो । सबै सेना उक्त अभियानमा नै केन्द्रीत बनेका थिए ।
उक्त अभियानमा जाँदा रुकुमकोटमा पुगेकै बेला हेलिकोप्टरले गोली चलाउन थाल्यो । जुनबेला हरिचन्द्रको ग्रुपबाट एक जनाले ज्यान गुमाउनु पर्यो । जसको कमाण्ड हरिचन्द्रले नै गरेको थिए । त्यसदिन नेतृत्वको जनमुक्ति सेना असफल भयो । ‘’
‘हामीलाई त्यतिबेला छैटौं ब्रिगेडले बोलाएको थियो’ हरिचन्द्रले, भने ‘रुकुम पुग्दा जहाँ उनीहरु सुरक्षित भएका थिए । एक बहिनी हाम्रै सेभ कभरमा आउँदा हेलिकोप्टरबाट चलेको गोली लागेर बितिन् । अब, हाम्रो त्यहाँ बस्ने अवस्था भएन । रुकुमबाट प्रहरीले लखेट्न सुरु गरेको स्याङजासम्म लखेट्यो । त्यहाँ पनि ठुलै भिड्न्त भयो ।’
जतिबेला ५२ घण्टासम्म हामीले पानी नपिएर चुरेभावर पुगेको । चुरेभावरको जंगलमा बसेको अनुभव छ, आकाशसँग ‘जंगलबाट हेर्दा एक गाउँ देखियो । उक्त गाउँमा साथीहरुलाई पठाइयो । हामी सुतिरहेकै थियो । खानाका नाममा भातको पीरा डल्ला भनौं ल्याइएर दिइयो । त्यो भातको पिरा खाएपछि झन् हामी केहिँ विषादी लागे जस्तो भयो । केही घण्टासम्म सुतिरह्यौं । अनि, साथीहरुले तल गाउँदेखि माथिसम्म पुर्ण रुपमा टपरीमार्फत भात पुर्याएपछि हामीले खायौं । अनि, कार्यक्रम तय भयो । अनि साथीहरु सबैसँग बहस भयो । साथीहरुको सल्लाह अनुसार, हामीमाथि प्रहरीको आक्रमण धेरै भयो । धेरै कमरेडहरुले ज्यान गुमाउनु भयो । अब हामीले पनि एक ठाउँमा आक्रमण गर्नुपर्ने अवस्था आएको छ भन्ने निष्कर्षसहित एक ठाउँमा आक्रमण गर्ने निर्णय भयो ।’
पाल्पाको सदरमुकाम आक्रमण गर्ने तयारीसहित सेना हाम्रो टोली सबै त्यसतर्फ लाग्यो । पाल्पाको सदरमुकाममा रहेको ऐतिहासिक मानिएको दरबार खरानी बनाएर सदरमुकाम कब्जा गरिसकेपछि बल्ल सजिलो भयो । पछि आएर पाल्पाका विभिन्न गाउँ बस्तीमा गएर बस्ने खाने गरेको हरिचन्द्रले बताए ।
अनि मिशनतिर लाग्न निकै सहज भएको थियो । गाउँमा गएर कार्यक्रमहरु गर्ने । नाटक देखाउनेदेखि लिएर अन्य क्रियाकलापमा लाग्ने गर्यौ । पाल्पाको मिशनपछि सुनवलको मिशनतर्फ लाग्यौं ।
सुनवलमा आधा घण्टाका लागि मात्रै कार्यक्रम गरिएको थियो । तत्कालिन प्रहरीको दबाबकाकारण हाइवे साइटको दुबैतर्फबाट एम्बुस राखियो (जसलाई रोडमा बिछ्याइने बम भनियो) यता उताबाट प्रहरी र सरकार पक्षका गाडि आउनु वित्तिकै पड्कन सुरु हुन्थ्यो । र, पड्काउन कार्य गथ्र्यौ ।
कार्यक्रम सुरु हुँदै थियो । बुटवलतर्फबाट गाडि आएको जानकारी प्राप्त भयो । बर्दघाटतर्फबाट आएको गाडि फिर्ता भएर गयो । तर, बुटवल तर्फबाट आएको गाडि आएको गाडिसँग पुरै भिड्न्त भयो । उक्त भिडन्तमा तत्कालिन सत्ता पक्षका कयौं सेनाको मृत्यु भयो । सरकारका चारवटा गाडि जलेसँगै ३९ देखि ५० को बीचमा सरकार पक्षका सेनालाई माओवादी सेनाले पक्राउ गरे ।
त्यो लडाइमा सञ्चार ग्रुपमा भएकाकारण हरिचन्द्र विक आकाशले क्यामेरा समेत बोकेको थिए । उक्त लडाइ भइरहेको थियो । भिडियो खिच्दै नजिकै पुगेको पत्तो भएन । आकाश प्रहरीको नजिकै पुगे । अनि, आर्मीले आकाशलाई मलाई गोली चलाउने मेसो नपाएर सोचिरहेको थियो । बन्दुक ताकिरहेको रहेछ । आकाश रुखहरुको बीचमै थिए ।
पछि अर्को दिशाबाट जनमुक्ति सेनाले देखेपछि आकाश गाली गरेर सेभ रहन आग्रह गर्यो । र, आकाशलाई बन्दुक ताकिरहेकोलाई अर्को जनमुक्ति सेनाले गोली हानेर उसका छातिमा लागेर ढल्यो । त्यो मिशन पनि सफल भयो पछि आएर बुटवल आक्रमण गर्ने साथीहरुको निर्णय भएको आकाशले बताए ।
‘यो सानो मिशन हो । धेरै ठुल्ठुला मिशनमा पनि हिँडेका थियो । बुटवल आक्रमणको बेला स्थलमा बालुवा रहेछ । गोली सेभ गर्न खोज्दा कपाल पुरै लिएरको याद आउँछ ’ आकाशले भने, ‘यो मेरो अविस्मरणीय अभियान हो ।’
हाम्रो गण्डक जितेर काठमाडौं आक्रमण गर्ने प्लान थियो । तर, त्यो नहुँदै शान्ति प्रक्रिया हुन पुग्यो । अनि, आन्दोलन स्थगित भयो । पछि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सात दल र तत्कालिन राजसंस्था पनि तयार भयो । जसको नेतृत्व ज्ञानेन्द्रले गरेका थिए ।
राजा वीरेन्द्रको वंशनाश गरेपछि माओवादी शक्तिलाई शान्ति प्रक्रियामा ल्याउन राजदरवार पनि सक्रिय भएको थियो । तर त्यसरी एउटा युद्ध लडेर आएको सिपाही शान्ति प्रक्रियापछि सबैभन्दा धेरै खुशी र उपलब्धिमा रमाउनुपर्ने हो ।
हरिचन्द्रको अवस्था भने अहिले ठीक उल्टो छ । उनले सुनेर उनलाई माओवादी युद्धमा होमिन बाध्य बनाउने गीत अहिले पनि बजिरहेकै छ । अलिकति पनि समाज बदलिएको छैन । यसले उनलाई झन् पीडा हुन्छ । आफैले हतियार उठाएको पार्टीप्रति पनि आक्रोशित मन हुन्छ । हरिचन्द्रजस्ता कार्यकर्ता जति असन्तुष्ट भएपनि नेतृत्वले भने यस्ता कुरालाई कहिल्यै गम्भीर रुपमा लिएन ।
जसकारण जनयुद्ध लडेकाहरु आज धनयुद्धको पछाडि छन् । आफ्नो पार्टी सरकारमा भएपनि हरिचन्द्र जस्ता थुप्रै लडाकु, योद्धा र एक सच्चा जनयुद्धका सिपाही भने अहिले पनि सडकमै छन् । घर बसेपनि उनी घरका मान्छे छैनन । पार्टीको कार्यकर्ता भएपनि अवसर र पहुँच पुग्न सकेको छैन ।
(कमरेड आकाश अर्थात हरिचन्द्रका जनयुद्धकालिन भोगाई, अनुभव, सांस्कृतिक मोर्चा, गीत र त्यतिबेला उनले लेखका लेखहरु हामी आगामी श्रृंखलामा प्रस्तुत गर्नेछौँ )