काठमाडौँ । जाजरकोट रानागाउँका दलित युवा नवराज विक लगायत तीन जनालाई कुटेर हत्या गरिएको सोती घटनालाई दबाउन भूमिका खेलेको पूर्वगृहमन्त्री तथा रुकुम पश्चिमका सांसद जनार्दन शर्मा प्रभावकरलाई आरोप लागेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले आरोपितको पक्ष लिएर घटनाको विवरण दिएपछि उनलाई घटना दबाउन खोजेको आरोप लागेको हो ।
विपक्षी दलका सांसदले पूर्वगृहमन्त्री शर्माले आफ्ना मान्छेलाई बचाउन घटनालाई दबाएर सामसुम पार्न खोजेको आरोप लगाएका हुन । संघीय संसद प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले घटनाका बारेमा केही जानकारी दिएका थिए । उनले आफू त्यहाँको जनप्रतिनिधि भएकाले वास्तविकता भन्न पाउनुपर्ने माग गरेका थिए ।
तर विवरण दिँदा सांसद शर्माले बोलेको र घटनाका प्रत्यक्षदर्शी तथा घाइतेले बोलेको कुरासँग मेल खादैन । सांसद शर्माले घटनाको विषयमा निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरे । तर त्यसअघि उनले लकडाउनका बेला हुल बाँधेर घरमा नवराज विकले युवाहरु ल्याएर आएपछि युवतीका आमा प्रकाशी मल्लले गुहार मागेको बताए ।
जबकी आरोपित मल्ल अहिले प्रहरी हिराशतमा छन । उनी आफैले घरमा नवराजले युवाहरु लिएर आएपछि डुम भन्दै गालीगलौज गरेको र यसलाई मारेर फाल्न अरुलाई पनि बोलाएको प्रहरीसमक्ष बयान दिएकी छन । सांसद शर्माले संसदमा बोलेको कुराले उनी कतै घटनाका आरोपितलाई बचाउ गर्न खोजिरहेका हुन कि ? भन्ने प्रश्न उठेको छ ।
साथै उनले घरमा जबर्जस्ती आउन खोजेका नवराज विक लगायत युवाहरुलाई लखेट्दा नदीमा हाम फालेको बताए । नदीमा हाम फालेकै कारण उनीहरुको ज्यान गएको पनि पूर्वगृहमन्त्री शर्माको दाबी छ । तर घटनाका प्रत्यक्षीदर्शी र घाइतेले भने नवराजलाई कुटेर मारेर नदीमा फालिएको बताएका कुरा सञ्चारमाध्यममा आइसकेको छ ।
नेपाली कांग्रेसका युवा नेता तथा सांसद प्रकाश रसाइलीले कर्णाली प्रदेशकै अग्रणी नेता मानिने जनार्दन शर्माले घटनालाई लुकाउन खोजेको आरोप लगाए । आफ्ना आफन्तलाई बचाउन सांसद शर्माले घटनालाई दबाउन संसदमा गृहमन्त्रीकै शैलीमा घटनाको विवरण दिन खोजेको तर झुटो बताएको पनि उनको दाबी छ ।
शर्माले बोलिसकेपछि आक्रोशिन बनेर बोलेका सांसद रसाइलीले घटनालाई दबाउन राजनीतिक खेल शुरु भएको बताए । शर्माले बोल्दै गर्दा विपक्षी दलका सांसदले वास्तविकता अर्कै भएपनि झुटो विवरण संसदमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएका थिए ।
यसअघि घटनाका बारेमा मूलधारमा मिडियामा समाचार पनि केही बंग्याएर आएका थिए । कान्तिपुर दैनिकमै पनि विवाहको किचलोमा दुई जनाको मृत्यु शीर्षकमा समाचार प्रकाशित थियो । सोमबार भने कान्तिपुरले नै युवतीका आफन्तले नवराज लगायतलाई कुटपिट गरेर नदीमा फालेको घाइतेको कोडसहित समाचार लेखेको छ ।
घटना शनिबार राती भएपनि पूर्वगृहमन्त्री शर्माले नै पत्रकारलाई समाचार नलेख्न भनेको पनि भित्रभित्रै पत्रकारहरुले बताउने गरेका छन । घटनाका आरोपितसँग जनार्दनको साइनो र सम्बन्धबारे खुलिसकेको छैन । तर उनले शुरुवातमा जे गरे र संसदको शुरुवातमा पनि जे जसरी उनले घटनालाई प्रस्तुत गर्न खोजे, त्यो कतै बचाउ त होइन ? भन्ने प्रश्न ब्युतिएको छ ।
घटना शनिबार राती नै भएपनि उनले तीन दिनपछि सोमबार बेलुकी मात्रै फेसबुकमा स्टाट्स लेखेर घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए । उनले लकडाउनको बेला जातीय विभेद गरिएको घटनाका दोषीलाई हदैसम्मको कडा कारबाही हुनुपर्ने माग समेत सार्वजनिक गरेका थिए ।
तर मंगलबारको संसद बैठकको शुरुमै उनको प्रस्तुतिले कर्णालीका जनता र मतदातालाई झस्काएको छ । खासगरी उनलाई आफ्नो नेता सम्झिने दलित समुदायलाई पनि निराश बनाएको छ ।