रुकुम-जाजरकोट घटनाका सम्बन्धमा:-
केही `विद्वान´ मित्रहरूले घटनालाई `अनावश्यक जातीयकरण´ गरियो भन्ने किसिमका तर्क गरेर घटनालाई `हल्का रूपमा´ लिएको देखियो,
ओके, एकछिनलाई जातको कुरा अलि पर राखेर हेरौं, एकछिनलाई बिर्सिदिऔं (पढ्ने धैर्य गर्नुहोला);-
तर,
- के एउटा प्रेमी आफ्नी प्रेमिकालाई दुलहीका रूपमा लिन जानु अपराध थियो?
- आफ्नो साथीको `पवित्र काम´मा साथ दिन गएर अरु १७ जनाले पनि अपराध गरेका हुन् ?
- उनीहरू लड्ने/भिड्ने भनेर (हतियारसहित) गएका थिए भने किन कुनै हतियार बरामद भएन ? क्षति एकतर्फी मात्र कसरी भयो ? (उनीहरूको प्रतिकार गर्न खोजिएको हो भने अर्को पक्षतर्फ कोही `सामान्य´ घाइते पनि किन भएनन्?)
- उनीहरू १८ जना एकसाथ हिंडेर लकडाउन उल्लंघन भएको हो भने सिङ्गो गाउँ उर्लेर उनीहरूमाथि आक्रमणमा उत्रिनु लकडाउनको पालना हो ? गाउँमा मान्छे आएका छन् भनेर प्रहरीलाई खबर गर्ने कि आक्रमणमा उत्रिने ?
- घरभित्र छिरेर जबर्जस्ति तानेका त थिएनन् (दुवै पक्षको कुरा सुन्दा) , त्यसो गरेको भए पनि कानूनी उपचार खोज्न सकिन्थ्यो होला नि ! तर, सम्बधित किशोरीको घरमा नपुग्दै बीच बाटोबाटै किन लखेटियो ?
- गाउँलेले लखेटेपछि युवाहरू जाजरकोटतर्फ भाग्दै गर्दा पुल किन छेकियो (यदि भगाउनकै लागि लखेटिएको थियो भने, बाटो बन्द गर्न जरुरी थियो)?
- भेरीमा होमिन (आफै हाम्फालेका हुन् भने पनि ) किन बाध्य पारियो ?
मित्रहरू,
प्रश्नहरू तमाम छन् । `अन्तरजातीय प्रेम सम्बन्ध´कै कारण घटना निम्तिएको हो भन्नेमा कुनै सन्देह: छैन । के यो अपराध होइन?
एउटा प्रेम सम्बन्धलाई सफल बनाउन हिंडेकाहरूलाई कहिल्यै नफर्किनेगरी जान बाध्य बनाइयो । के यो मानवताबिरोधी अपराध होइन ?
घटनामा अहिलेसम्म तीन जनाको शव भेटिएको छ, तीन अझै सम्पर्कविहीन छन्, सिधा कुरा- घटनाको शीघ्र निष्पक्ष अनुसन्धान हुनुपर्यो, दोषीलाई कानूनी कारबाही हुनुपर्यो !
हो, आफन्त गुमाएका परिवारले उनीहरूलाई फिर्ता पाउँदैनन् तर, न्याय त पाउँछन् नि ! न्याय मर्न नदिऔं ! फेसबुकबाट
(काठमाडौमा कार्यरत जाजरकोट घर भएका क्षितिज समर्पण पत्रकार हुन ।)