काठमाडौं : कर्णाली हिजो युद्ध भएको ठाउँ हो । गोली चलेको ठाउँ हो । हजारौं आमाको काख रित्तिएको ठाउँ हो । हजारौं नारी बिधुवा भएको ठाउँ हो । कर्णालीमा अझै युद्धको घाउ छ । जनयुद्धको डोब छ ।
रगतको कुलो बगेकोदेखि परिवर्तनका नारा उब्जिएको एरिया हो । त्योसँगै त्यहिँ पृष्ठबाट राजनीतिमा होमिएको दल माओवादी केन्द्रको पकट छ । कांग्रेस र एमालेले केही ठाउँमा माओवादीको पकट भत्काए पनि केही ठाउँमा यथावत् नै छ ।
प्रदेश सभाकै स्थिती हेर्दा प्रत्यक्षबाट कांग्रेसले एक सिट मात्रै जितेको छ । भनौं कर्णालीमा कांग्रेस कमजोर थियो । र, छ ।महाधिवेशनपछि कर्णालीमा कांग्रेसका एजेण्डा के ? बलियो बन्ने कि पुरानैस्थितीमा फर्किने ? माओवादीसँगै एमालेको पकट भत्काउने कि उसलाई राज सुम्पिने ? अब आउने नेतृत्वको भरमा छ । जिल्लाको नेतृत्व सम्पन्न भइसकेको छ ।
अब प्रदेशको नेतृत्व कस्तो ल्याउने प्रतिनिधिकै हातमा छ । कर्णालीबाट कांग्रेसको केन्द्रिय राजनीतिमा कमै छन् । ती मध्येका पुर्णबहादुर खड्का पनि हुन् । उनको गृह जिल्ला सुर्खेतमा नेतृत्व चयन गर्दा पौडेल पक्षका पार्टी सभापतिले नै प्रतिनिधिमा हार व्यहोर्नु पर्यो ।
यस्तै कर्णालीका अन्य जिल्लाहरुमा पनि रस्साकस्सीमै नेतृत्व चयन भएको हो । कतै चुनाव त कतै सहमतिको आधारमा नेतृत्व चयन गर्ने प्रक्रिया पुरा भएको छ ।
बिहिबारदेखि नेपाली कांग्रेसको प्रदेश अधिवेशन देशभर सुरु भयो । कर्णालीमा पनि कांग्रेसका महामन्त्री पुर्णबहादुर खड्का, कर्णाली मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले अधिवेशन उद्घाटन गरे ।
योसँगै नेतृत्व चयन कसरी गर्ने ? कसको वर्चश्व कायम गर्ने ? कुन गुटलाई थाङ्नोमा सुताउने ? भन्ने विषयमा चिन्ता उत्पन्न भइसकेको छ । सभापतिका लागि रस्साकस्सी सूरु भइसकेको छ । दुई समूहको रस्साकस्सी त चल्ने नै भयो । तर, एउटै समूहबाट पनि रस्साकस्सी चलिरहेको छ ।
कर्णालीको सभापतिका लागि देउवा पक्षका दुई र पौडेल पक्षका दुई जनाले दाबी गरेका छन् । देउवा पक्षबाट राजीव बिक्रम शाह र ललितजंग शाहीले सभापतिको दाबी गरेका छन् ।
पौडेल पक्षबाट भुपेन्द्रजंग शाही र दिपकजंग शाहले दाबी गरेका छन् । दाबी गरेपनि दुबै पक्षले आफ्नो उम्मेद्वार टुङ्गो लगाउन भने बाँकी छ ।
विहिबार कर्णालीखबरसँग कुरा गर्दै नेता राजीव विक्रम शाहीले भने, ‘मेरो उम्मेद्वारी सभापतिमै हुन्छ । यसकारण कांग्रेस भित्रको गुट अन्त्यका लागि, पार्टी सुदृढ लागि, संगठन बलियो बनाउनका लागि, कर्णालीमा कांग्रेसको बलियो पकट बनाउनका लागि मेरो उम्मेद्वारी हुनेछ ।’ राजीव शाह देउवा पक्षबाट होमिए पनि गुट अन्त्य गरेर कांग्रेसलाई बलियो बनाउने इच्छाशक्ति राख्ने मध्येका एक नेता हुन् ।