काठमाडौँ - कर्णाली प्रदेशमा कांग्रेसको संस्थापन पक्ष प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच पानी बाराबारको अवस्था देखिएको छ । बिहीबार कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत कर्णालीमा उद्घाटन कार्यक्रममै देउवा र पौडेल पक्षबीच पानी बाराबारको अवस्था देखिएको हो ।
कर्णाली प्रदेश अधिवेशनका लागि कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का सुर्खेत पुगेका छन् । उनले बिहीबार आयोजित कर्णाली प्रदेश अधिवेशनको भव्य उद्घाटन गरे । मुख्यमन्त्री जीवनबहादुर शाहीलाई साक्षी राखेर उद्घाटन गरिएको कार्यक्रममा देउवा पक्ष हावी रह्यो ।
तर जिल्ला र क्षेत्रको अधिवेशनमा ठूलो धक्का खाएको पौडेल पक्षले भने कर्णाली प्रदेश अधिवेशन नै बहिष्कार गरिदियो । जबकी आफ्नै पार्टीको प्रदेश अधिवेशनमा देउवा पक्षले आफूहरुलाई नबोलाएको पौडेल पक्षका नेता कार्यकर्ताको आरोप छ ।
आफ्नै पार्टीको कार्यक्रमका लागि बोलाउनुपर्ने भ्रामक अडान पौडेल पक्षले लिएको छ भने संस्थापन देउवा पक्षले भने पार्टीको अधिवेशनको आयोजक सबै नेता कार्यकर्ता भएकाले बोलाउनुपर्ने कुरा गर्नु हास्यास्पद रहेको बतायो । बिहीबार पौडेल पक्षले कर्णाली प्रदेशको सभापतिका लागि उम्मेद्वारको टुंगो लगायो ।
त्यसअघिदेखि नै उनीहरु आन्तरिक छलफलमा थिए । तर प्रदेश अधिवेशनमा उपस्थित हुन आवश्यक नठानेर कार्यक्रममा उपस्थित हुन नसकेको पौडेल पक्षले जिल्ला तथा क्षेत्रको अधिवेशनमा पराजित हुन पुगेको रिस पोखेको देखिन्थ्यो ।
पौडेल पक्षका प्रभावशाली भनिएका नेताहरुमा पूर्वमन्त्री शिवराज जोशी, खड्ग बस्यालदेखि सुर्खेतका जिल्ला सभापति कमल रेग्मीसमेत महाधिवेशन प्रतिनिधिको चुनावमा पराजित भएका थिए । आफ्ना प्रभावशाली नेताहरु महाधिवेशनमा प्रतिनिधि बन्नै नपाएपछि संस्थापन देउवा पक्षसँग पौडेल पक्ष आक्रोशित छ । जसको स्पष्ट नमुना बिहीबारको प्रदेश अधिवेशनमा देखियो ।
प्रदेश अधिवेशनमा औपचारिक सहभागिता नजनाएका कालिकोटका नेता भूपेन्द्रजंग शाहीले शुभ होटलमा पत्रकार सम्मेलन गरेर उम्मेद्वारी घोषणा गरे । तरुण दलका पूर्वमहामन्त्री समेत रहेका शाहीले कांग्रेसको कर्णाली नेतृत्व युवापूस्ताको नाताले आफुले गर्ने दाबी गरे ।
प्रदेश अधिवेशनको कार्यक्रममै जान कन्जुस्याई गरेका उनले पत्रकार सम्मेलनमा भने दह्रो भाषण दिए । जबकी जिल्ला अधिवेशनमै पौडेल पक्षबाट गुटका हिसाबले धेरै ठाउँमा नमिठो हार खाएका उनले प्रदेश सभापतिमा जित हात पार्ने जिकिर गरे ।
यता केन्द्रदेखि जिल्ला र स्थानीय तहसम्म एकलौटी जित हात पारिरहेको संस्थापन अर्थात देउवा पक्षले पनि धेरै ठाउँमा हार खाएको पौडेल पक्षलाई धेरै महत्व दिएन । खासगरी गुटगत रुपमा आपसी बोलचाल समेत बन्द भएका कारण बिहीबार देउवा र पौडेल पक्षका नेता कार्यकर्ताबीच पानी बाराबारको अवस्था रहेको तथ्य बाहिरिएको हो ।
गुट भएपनि एउटै पार्टी भएका कारण आपसी रिस, राग र इगोलाई कामुमा राखेर कार्यकर्ताका लागि हाँसेर मञ्चमा देखिनुपर्ने बेला कर्णालीमा भने एक अर्कालाई सकेसम्म सिध्याउने रणनीतिमा कांग्रेसका देउवा र पौडेल गुट उत्रिएका छन् ।
पौडेल पक्षले कालिकोटका युवा नेता शाहीलाई सभापतिको उम्मेद्वार घोषणा गरेको छ । देउवा पक्षबाट भने जाजरकोटका राजीवविक्रम शाह, जुम्लाका ललितजंग शाही र हुम्लाबाट प्रतिनिधित्व गर्ने कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही सभापतिको आकांक्षी छन् ।
शुक्रबार कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको रोजाईमा तीन जनामध्ये एक जनाले सभापतिको लागि उम्मेद्वारी घोषणा गर्ने छन् । महामन्त्री खड्काकै रोजाईमा चिठ्ठा पाउनेले सम्भवतः कांग्रेस कर्णाली प्रदेशको सभापतिको जिम्मेवारी पाउने पक्कापक्की छ ।