काठमाडौँ : एमालेको केन्द्रीय राजनीतिमा कर्णालीबाट चम्किएको नाम हो, यामलाल कँडेल । सुर्खेत उपत्यकाभित्र प्रजातन्त्र पुनस्थापना भएदेखि नै एमालेको राजनीतिक धरातलबाट उभिएका कँडेलले त्यतिबेलाको मध्यपश्चिमदेखि अहिलेको कर्णालीसम्मको राजनीतिमा आफ्नो एकछत्र प्रभाव राखे ।
एमालेको पहिलो कम्युनिष्ट सरकारलाई नजिकबाट नियालेका कँडेल त्यसपछि एकपटक संघीय सरकारमा मन्त्री समेत बने । तत्कालिन नेकपा माओवादीको जनयुद्ध उत्कर्षमा रहेका बेला यामलालले एमालेकै राजनीतिक लाइनलाई आफ्नो मन्त्र बनाए ।
माओवादी नेताबाटै धेरै एमाले नेता प्रताडित बनाएका उनले विशाल छाती बनाएर कार्यकर्ताको रक्षा गरे । खासगरी सुर्खेती राजनीतिक पृष्ठभूमिमा यामलाल भनेको एमाले र एमाले भनेकै यामलालको परिचय बनाए ।
वीरेन्द्रनगरमै आलिसान घर बनाएर कार्यकर्ताको संरक्षणमा आफूलाई समर्पित बनाएका यामलालले केन्द्रीय राजनीतिमा आधुनिक अभिभावकत्व केपी शर्मा ओलीबाट पाइरहे । तर त्यो भरोसा र विश्वास आज टुटेको छ ।
खासगरी नयाँ संविधान, संघीयता र प्रदेश बनेपछि एमालेमा ओलीको छत्रछायामा रहेका यामलाल अन्ततः ठगिएका छन् । धेरैलाई लाग्ला उनी केन्द्रीय पदाधिकारीमा कर्णालीबाट हिस्सा बन्न सकेनन् । तर धेरैले सम्झनुपर्ने विषय यो हो कि यामलाल ओलीका लागि सबै अस्त्र र बस्त्र भएरै अन्ततः केन्द्रीय राजनीतिमा प्रभाव छाड्ने बेला अशक्त भएका छन् ।
उनको राजनीतिक असशक्तताले आगामी दिनमा कतिसम्म असर गर्ने हो ? त्यसको हिसाब किताब बाँकी छ । तर अब प्रश्न उठेको छ, ओलीका कारण अशक्त बनेका यामलाल सशक्त बन्ने चाँही कहिले ? तर त्यसभन्दा पहिले उनी ओलीबाट श्रृंखलाबद्ध ठगिएका केही घटनाक्रम हेरौँः
ओलीले यामलाललाई बाँडेका सपना
सुर्खेतबाट कम्युनिष्ट राजनीतिमा उदाएपनि यामलाल केन्द्रीय राजनीतिको केन्द्रमा पुग्न चाहन्थे । समयका हिसाबले कांग्रेसका प्रभावशाली नेता पूर्णबहादुर खड्का र यामलालको राजनीतिक अन्तर धेरै छैन । तर ओलीको आश्वासनले यामलाल पूर्णबहाहादुर खड्काजसरी केन्द्रीय राजनीतिको केन्द्रमा पुग्न सकेनन् । बरु प्रदेशबाटै झन् कमजोर र रक्षात्मक अवस्थामा पुगे ।
यामलाल यसो हुनुका पछाडि ओलीले बाँडेका सपनालाई आँखा चिम्लिएर विश्वास गर्नु मुख्य कारण हो । भारतीय नाकाबन्दीको विरोध गरेकै भरमा राष्ट्रवादी छविको दाउमा चुनाव जितेका ओली संघीय गणतन्त्रमा सबैभन्दा शक्तिशाली कार्यकारी प्रमुखका रुपमा प्रधानमन्त्री बने ।
नेपालकै शक्तिको केन्द्रबिन्दु बनेका ओलीले यामलाललाई कर्णाली प्रदेशको कमाण्ड सम्हाल्न निर्देशन दिए । नेकपा एमालेमा बामदेव गौतमको स्कुलिङबाट हुर्किएका यामलाल इमान्दारितालाई विश्वास गर्ने नेता हुन् ।
राजनीतिमा नेताहरुको आदेश र निर्देशन मान्नु पार्टीको दायित्व हो । उनले ओलीकै भनेको मानेर काठमाडौँबाट कर्णाली फर्किए । त्यतिबेला कर्णालीको प्रदेशसभामा फर्किदा यामलालले पाएको आश्वासन हो, मुख्यमन्त्री । माओवादीसँग मिलेर देशैभर बहुमत जुटाउने आश्वासनबाट सफलता उन्मुख ओलीले कर्णालीको जिम्मा यामलाललाई दिए ।
बहुमतका हिसाबले पनि एमालेले सबैभन्दा राम्रो जनमत कर्णालीमा पायो । जसको नेतृत्व यामलालले गरेका थिए । तर केन्द्रीय राजनीतिमा प्रचण्डसँग हिसाबकिताब गर्दा ओलीले कर्णाली र सुदूरपश्चिममा एमालेलाई कमजोर सम्झिए ।
चार वटा प्रदेशमा एमालेको राज चलाएर कर्णालीमा यामलालको सपनामाथि ओलीले तुषारापात गरे । माओवादी अध्यक्ष प्रचण्डसँगको भागबण्डामा ओलीले कर्णाली र सुदूरपश्चिमबाट हात झिके । त्यसको एउटा कारण कर्णालीमा ओलीले आफ्ना विश्वासपात्रका रुपमा यामलाललाई सम्झेनन् ।
वामदेवका खास मान्छे ठानिएका यामलालका लागि आफूले अडान राखिरहनुपर्ने कारण पनि ओलीले पाएनन् । जसकारण कर्णालीको पहिलो मुख्यमन्त्री बन्ने यामलालको सपना तुहियो । प्रचण्डको चतुर्याईले कालिकोटका महेन्द्रबहादुर शाहीलाई पहिलो मुख्यमन्त्री बन्ने चिठ्ठा पर्यो ।
यामलालकै सहयात्री मानिने शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, डोरमणि पौडेल र जुनियर शेरधन राई ओलीको रोजाईमा मुख्यमन्त्री बने । यामलाल ओलीको रोजाईमा परेर पनि फुत्किए । त्यो नजरअन्दाज धेरै हदसम्म यामलालका लागि घातक बन्यो । जुन अहिले पुष्टि भयो ।
तत्कालिन समयमा माओवादी र एमाले मिलेर बनेको नेकपामा ओलीले प्रतिगमन लादिरहँदा कर्णालीका यामलाललाई राजनीतिक च्याप्टर बदल्ने अस्त्र बनाए । फलस्वरुप तत्कालिन मुख्यमन्त्री शाहीविरुद्ध माओवादी सांसदकै हस्ताक्षर जुटाएर यामलालले आफ्नै पार्टीको सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराए ।
जुन ओलीको निर्देशन थियो । जसले माधव नेपाल र प्रचण्डलाई जिस्क्यायो । यसले ओलीलाई काठमाडौमा खेल्न सहज भयो । तर आफैले दर्ता गरेको अविश्वास प्रस्ताव ४८ घण्टामै तुहिएपछि यामलाल झन् ठूलो राजनीतिक खिचातानीको खाल्डोमा परे । न उनले मुख्यमन्त्री पाउने अवस्था बन्यो । न परिपक्व राजनीतिक देखियो । परिपक्व राजनीति गर्न रुचाउने यामलाल ओलीका कारण कच्चा खेलाडी बने ।
एकपटक होइन, पटक पटक चिप्लिए । कर्णालीमा यामलाललाई मुख्यमन्त्री बनाउने पूरा बहुमत हुँदा पनि ओलीकै कारण यामलाल ऐतिहासिक अवसर र जिम्मेवारीबाट बञ्चित रहे । परिणामस्वरुप आफ्नै पार्टीका सांसदले फ्लोर क्रस गरेर माओवादीको सरकार जोगाए । त्यसैकारण एमाले पार्टी फुट्यो । ओलीकै निर्देशन र शैली पछ्याँउदा यामलाल राजनीतिक र सैद्धान्तिक हिसाबमा धुँजाधुँजा भए ।
यसैले अहिले माओवादी र तत्कालिन एमालेको माधव नेपाल, बामदेव र झलनाथ खनाल पक्ष यामलाललाई विभाजनको पहिलो षडयन्त्रमा रुपमा लिन्छन् । बामदेव स्कुलिङबाट राजनीतिमा उदाएका यामलाल ओलीको पिछलग्गु नबनेको भए मात्रै पनि नेकपा र एमाले फुट्नबाट जोगिन्थे ।
यामलाललाई ढाल बनाएर ओलीले पहिला सर्वोच्च अदालतबाट नेकपा फुटाए । त्यसपछि एमाले । पार्टी फुट्दा ओलीले पाएको ऐतिहासिक अवसर क्षणभरमै फुत्कियो । मुख्यमन्त्री बन्ने निश्चित भएर कर्णाली हाक्ने जिम्मा पाइसकेका यामलाल ओलीकै कारण रातारात सत्ताबाट सडकमा पछारिए ।
जसका पछाडि ओली प्रमुख कारण थिए । ओलीकै निर्देशनलाई दायाबाया नगरि पछ्याउँदा यामलाल पनि कारक बने । यति गर्दा पनि यामलाल ओलीप्रति असन्तुष्ट थिएनन् । इतिहासकै कठिन र नेपाली कम्युनिष्ट पार्टीकै सबैभन्दा कठिन घडीमा उभिएका बेला पनि यामलालले ओलीलाई साथ दिए ।
कर्णालीबाट ओलीका लागि अस्त्र र बस्त्र भएर सबै दायित्व पूरा गरेका ओलीले एमालेको १० औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी बन्ने आकांक्षा राखे । यो उनको रहरभन्दा बढी बाध्यता थियो । ओलीको विश्वासपात्र बनेर काम गरेका कारण आफूले आकांक्षा राख्दा त्यो पूरा हुने विश्वास पनि उनमा थियो ।
यामलाल किन एमालेको सचिव बन्न चाहन्थे ?
नेपाली राजनीतिमा ओलीका कारण प्रभाव बढाउँदै गएका यामलाल भने केन्द्रीय जिम्मेवारी र पदीय हैसियतमा भने खुम्चिदो अवस्थामा छन् । उनका सहयात्राी अरु दलका नेता भने धमाधम केन्द्रीय पदाधिकारीको हैसियतमा पुगेका बेला यामलाल भने केन्द्रीय सदस्यमा सीमित थिए ।
उनका साथी र उनीभन्दा तल्लो वरियतामा रहेका प्रकाश ज्वाला अहिले एमालेबाट फुटेको नेकपा एकिकृत समाजवादीको उपमहासचिव बनेका छन् । एमाले फुटाउन निर्णायक रोल खेलेका उनले पार्टी फुटाएर नयाँ ठाउँमा नयाँ जिम्मेवारी पाए ।
यस्तै कांग्रेसमा उनकै सहयात्री ठानिने पूर्णबहादुर खड्का अहिले केन्द्रीय महामन्त्री छन् । कांग्रेस नेतृत्वलाई आफु अनुकुल चलाउन सक्ने शक्ति कमाएका खड्का कर्णालीबाटै उदाएका नेता हुन् । यस्तै माओवादीमा रुकुम पश्चिमका जनार्दन शर्मा पनि पार्टी नेतृत्वलाई हल्लाउन सक्ने जिम्मेवारीमा छन् ।
माओवादीको स्थायी कमिटी सदस्य समेत रहेका जनार्दन अध्यक्ष प्रचण्डका विश्वासिला सत्ताधारी नेता हुन् । तर जनार्दन, प्रकाश ज्वाला र पूर्णबहादुर खड्काका अगाडि यामलाल भने एमालेको एक मामुली नेता मात्रै छन् ।
सोही कारण पनि उनले भौगोलिक रुपमा कर्णालीबाट केन्द्रीय पदाधिकारी बन्ने एजेन्डा उठाए । १० औँ महाधिवेशनमा सबै ओलीको रोजाई निर्णायक भएकाले उनले सचिव बन्ने आकांक्षा राखेका थिए । सँगैका साथीहरु एमालेको नेतृत्वमा पुग्दा उनले पदाधिकारीमा समेटिने आशा मात्रै राखे । जसलाई ओलीले पूरा गर्ने सामथ्र्य राख्थे ।
त्यसअनुसार ओलीले पदाधिकारी संख्या बढाएर १९ पुर्याए । ७ जना सचिव बनाउने गरि विधान सशोधन गरे । जसमा हरेक प्रदेशबाट एक जना सचिव हुने गरि पदाधिकारी संख्या बढाइएको थियो । तर यति गर्दा पनि यामलाल ओलीको रोजाईमा पर्न सकेनन् ।
चितवनबाट मात्रै १० जना पदाधिकारी बन्दा कर्णाली शुन्य रह्यो । यामलाल फेरि पनि ओलीका लागि अस्त्र बने । उपयोग भइरहनुपर्ने पात्र बने । आफू नेतृत्वका लागि पदाधिकारीमा पुग्न सकेनन् । लुम्बिनीका पूर्व मुख्यमन्त्री शंकर पोखरेल महासचिव बने । गण्डकी पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ उपमहासचिव बने । बागमतीका पुर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य उपाध्यक्ष बनिन् ।
तर ओलीका लागि कर्णालीमा बलिको बोका बनेका यामलाल सचिव पनि बन्न सकेनन् । ओलीले बनाउने चाहेनन् । यामलाल कतिसम्म लाचार बने भने सर्वसम्मत नभए उम्मेद्वारी दिने तयारीमा थिए । जसका लागि कर्णालीका सारा एमाले एकजुट थिए ।
तर पनि यामलाले ओलीविरुद्ध उम्मेद्वारी दर्ता गर्न सक्ने हिम्मतमा जुटेनन् । उल्टै ओलीले ठगेरै राख्दा पनि यामलाल कर्णालीको परिचयमा सीमित भए । अर्थात केन्द्रीय सरकारले सँधै पछाडि राखिरहने ठाउँका रुपमा । यामलाल पनि त्यसरी नै ठगिए । अरुबाट होइन । आफ्नै पार्टी अध्यक्ष र अभिभावक ओलीबाट ।
यसले यामलाललाई मात्रै होइन, सिंगो कर्णाली र इमान्दार पार्टी कार्यकर्तालाई ठूलो धोकाको पाठ सिकाएको छ । किनभने अब एमाले फेरि ओलीको दम्भका कारण सत्तामा फर्किन गाह्रो छ । सत्तामा फर्किएपनि एकल बहुमत ल्याउन गाह्रो छ ।
अब के गर्छन्, कहिले सशक्त बन्छन् ?
ओलीकै कारण कर्णालीको जनमतको अपमान गरेका यामलाले इतिहासमा धेरै ठूलो अपमानित समय झेल्नुपर्नेछ । तर सबैभन्दा ठूलो अपमान त उनले ओलीबाट पाए । जुन कुरालाई विश्वास गर्न यामलाल अहिले पनि सकिरहेका छैनन ।
यसरी विश्वास गर्नै नसक्ने गरि एमालेको राजनीतिक हैसियतमा अशक्त बनेका यामलालमाथि अब शसक्त कहिले बन्ने प्रश्न उठेको छ । नेताको फेरो समातेर मात्रै नेतृत्वमा पुग्न सकिँदैन भन्ने कुरा आफ्नै अगाडि छर्लंग भएका बेला केन्द्रीय राजनीतिमा उदाउने गरि उनले आफूलाई कसरी अगाडि सार्छन् ?
राजनीतिक सिद्धान्त, सांगठनिक प्रणाली, शक्ति निर्माण, आफूलाई अरुभन्दा फरक नेताका रुपमा उभ्याउन यामलाल अब के गर्छन् ? त्यो भन्दा बढी ओलीभक्त र हनुमानभन्दा पर रहेर राजनीतिक सिद्धान्तमा अब कसरी अब्लल बनेर एमालेको नेतृत्वमा पुग्छन् ? अब यामलालका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो ।
तर उनी स्वयंम यसका लागि कति गम्भीर छन् भन्ने कुरामा उनको आगामी राजनीतिक भविष्य र नेतृत्व क्षमता निर्भर छ । अन्यथा ओली शैलीमै उनको उदय र कर्णालीमा सीमित परिचय बोकेर यामलाल कँडेलको नेतृत्व क्षमता विलय हुन सक्छ ।