हे फुल फुलेर फल लाग्दैन, धान पहेँला मकै सेता
सुपारीका दानु भिनाजु घुम कर्नाली फर्क यता
फेरी भेट अद्दै रहुँला धान पहेँलै मकै सेता
पड्यो भने राम भिनाजु घुम कर्नाली फर्क यता
यी शब्द कुनै प्रख्यात गीति एल्बमभित्रका होइनन् । न त कुनै कलाकारले उतारेका नै । तर, यी शब्द कुनै नामी कलाकार र चर्चित कविले उतारेका भन्दा कम छैनन ।
एक पत्रकारले कोरा पानामा लेखेका स्मरणीय गीतका शब्द हुन् । जो उनको गीति क्षमताको परिचय मात्रै होइन, उनकै जीवनकै अविष्मरणीय गीतका रुपमा यस धर्तीमा केवल शब्दका रुपमा जिवन्त रहे । किनकी पत्रकार डेकेन्द्र थापालाई नेकपा माओवादीले जनयुद्धमा जिउँदै हत्या गरेर कर्णालीमा मानवताकै धज्जी उडायो ।
खस भाषामा लेखिएका र गाइएका यी गीतका हरेक शब्दमा उनको जीवनको वास्तविक सन्देश छ । आफ्नै जीवन भोगाईको कथा व्यथा छ । उनले जनयुद्धका नाममा नदेखेको विभत्स र क्रुर हत्या पनि ।
गीतमा व्यक्त गरिएका शब्दझैँ उनको जीवन अकालमै गयो । उनको भौतिक उपस्थिती नभएपनि नेपाली पत्रकारिता जगतले सँधै सम्झिरहने नाम हो, पत्रकार डेकेन्द्र थापा ।
माओवादीले जिउँदै गाडेर हत्या गरेका पत्रकार
तत्कालिन विद्रोही नेकपा माओवादीको क्रुर हिंसाबाट जिउँदै गाडेर पत्रकार डेकेन्द्र थापाको हत्या भएको १७ वर्ष बितेको छ । उनको भौतिक शरिर यो संसारमा छैन । केवल उनको सम्झना मात्र बाँकी छ । तर उनी नेपाली पत्रकारिताका एक अविष्मरणीय व्यक्ति हुन् ।
पत्रकारितासँगै सामाजिक सेवाका अन्य क्षेत्रमा पनि उनी उत्तिकै क्रियाशील पत्रकार थिए । दैलेख सदरमुकामको खानेपानी समस्या समाधान गर्न भनेर माओवादीका जिल्लास्तरीय नेतालाई भेट्न २०६१ असार ९ गते स्थानीय पत्रकार कमल न्यौपानेसहित थापा भवानी गाउँतर्फ लागेका थिए ।
एक सामान्य कामका लागि गएका उनी असामान्य रुपमा जन्म र मृत्युको दोसाँधमा पुगे । उनैले गाएको गीतमा फेरी भेटौला भन्ने भाव उनकै जीवनमा दोहोरिएन । फकाएर जंगलमा लगिएका उनको तत्कालिन समयमा विद्रोही नेकपा माओवादीले विभत्स रुपमा तड्पाई तड्पाई हत्या गरेको थियो ।
उनलाई अरुजस्तो गोली हानेर वा कुटपिट गरेर मात्रै होइन, कुटपिट गरेर, रुखमा बाँधेर त्यतिले पनि जीवनको भिख मागिरहेका उनलाई जिउँदै खाल्डोमा गाडेर हत्या गरिएको थियो ।
नेपालको द्धन्द्धकालिन इतिहासमा एक पत्रकारको सबैभन्दा कहालीलाग्दो घटना हो, डेकेन्द्र थापा हत्या प्रकरण । जुन घटना वर्षौ गुपचुप दबाइएको थियो । कैयौँ वर्ष लुकाइएको थियो । तर जब यसको रहस्य बाहिर आयो ।
शान्ति वार्तामा आइसकेको माओवादीले दैलेखमा फेरि संकटकाल ब्युताएको थियो । पत्रकारलाई त्रसित पारेको थियो । कैयौँ दिनका लागि पत्रकारलाई पलायन हुने अवस्थामा पुर्याएको थियो ।
त्यो दिनको घटना
२०६१ साल असार १२ गते शनिवारको दिन थियो । स्व. पत्रकार डेकेन्द्र थापा शनिवारीय कार्यक्रम सकेर श्रीमती लक्ष्मी थापासँग भलाकुसारी गर्न मस्त थिए । आराम गर्न घरमै बसेका उनलाई भेट्न स्थानीय पत्रकार कमल न्यौपाने घरमै पुगे ।
उनीसँग केही केही समय बिताएपछि खानेपानीको वार्तामा जान न्यौपानेले अनुरोध गरे । सहयोगी मनका थापा न्यौपानेको अनुरोधलाई स्वीकार गर्दै माओवादीका जिल्लास्तरीय नेताहरुलाई भेट्न हिडे ।
तत्कालिन विद्रोही नेकपा माओवादीसँग वार्ता गर्न गएका थापा अपहरणमा परे । त्यतिबेला उनी खानेपानी उपभोक्ता समितिको अध्यक्षसमेत थिए ।
तत्कालिन विद्रोही नेकपा माओवादीका जिल्लास्तरीय नेता कार्यकर्तासँग वार्ता गर्न भनेर घरबाट हिडेँका उनी तीन दिनसम्म पनि घर नफर्किदा लक्ष्मीलाई छटपटी भयो । घरमा दुई छोरी र एक छोरा थिए । तर श्रीमान नफर्केपछि लक्ष्मीलाई अत्यास लाग्यो । त्यसमाथि तीन दिनसम्म पनि उनी सम्पर्कमा आएनन् ।
दिनहरु बित्दै गए । श्रीमान फर्किने आशामा लक्ष्मी राती अबेरसम्म बाटो हेरिरहन्थिन । बाहिर कोही आएको आवाजले पनि उनमा आशाको त्यान्द्रो पलाएर आउथ्यो । फेरी एकैछिन्मा त्यो त्यान्द्रो चुडिन्थ्यो । श्रीमान आउने पखाईमै उनका कैयौँ रात अनिँदा बितेका छन् ।
गाउँमा खानेपानी ल्याउन माओवादीसँग वार्ता गर्न गएका थापा घर नफर्किएपछि अन्ततः लक्ष्मी आफैँ खोजीमा हिडिन् । तर पनि भेटाउन सकिनन् । भएभरका आफन्त र थापाले चिनेका सबैसँग श्रीमानको बारेमा बुझ्न नखोजेकी होइनन् । तर कसैले पनि साँचो बोलेनन् ।
घरदेखि बेला बेला श्रीमान अध्यक्ष रहेको खानेपानी अफिस पुग्थिन् उनी । कहिले नजिककका गाउँहरु पुग्थिन् । तर पनि श्रीमान खोज्दा खोज्दा उनले फेला पार्न सकिनन् । अन्तिममा गाउँकै माओवादी नेताले वार्ताका लागि हामीले साथमै राखेका छौँ भन्दा उनको आशामा बिहानी आउँथ्यो ।
‘दिनहरु बित्दै गएपनि श्रीमान आउने आशा मरेको थिएन । आशमै कैयौँ दिन बिते,’ उनले भनिन्, ‘जति खोजेपनि भेटाउन सकेकी थिइनन् । माओवादीले आफूसँगै राखेका छौँ भनेपछि अब फर्केर आउँलान भन्ने लाग्यो ।’
लक्ष्मीले श्रीमानको खोजी गर्दै जिल्लाका प्रत्येक ठाउँहरुमा हारगुहार गरिन् । चिनेजानेका र अन्जान व्यक्तिहरुसँग पनि श्रीमानको जानकारी लिन छोडिनन् । दुधे बालकसँग जिल्लाका कुना कन्धरा सबै ठाउँ सोधखोज पारिन् ।
तर श्रीमानको मुख कतै हेर्न पाइनन् । श्रीमानको मुख नदेखेको लामो समय भइसक्दा पनि भेटिनन् । माओवादीले अपहरण गरेर राखेको कुरा थाहा पाएकी थिइन् । तिम्रो श्रीमान सकुशल छन् केही हुँदैन भन्ने आश्वासन धेरैजनाले दिन्थे । तर उनलाई अब विश्वास लाग्न छाडेको थियो ।
श्रीमान आउने आशमा महिनौ बिते । थर श्रीमान घर फर्केर आएनन् । लामो समयपछि घरबाट लिएको केही दिनमा नै तत्कालिन विद्रोही नेकपा माओवादीले डेकेन्द्रको मृत्यु भएको विज्ञप्ति छापेको कुरा एकदिन लक्ष्मीको कानमा पर्यो ।
यतिका दिन सकुशल छन् भनेर ढाँटेको माओवादीले अन्ततः सत्य कुरा आफैले बाहिर ल्यायो । तर लक्ष्मीलाई पत्याउन गाह्रो थियो । त्यसमाथि जिउँदै फर्केर आउँलान भनेका श्रीमानको मृत्यु भएको खबर सुन्दा लक्ष्मी बेहोस भइन् ।
लास नेभेटरै काजकिरिया
त्यो बेहोसीले पनि डेकेन्द्रको वास्तविकता खुलेन । मृत्युको खबर फैलाइएपनि प्रमाण भेटिएको थिएन । स्वयंम डेकेन्द्रको लास भेटिएको थिएन । अन्तिमपटक श्रीमानको अनुहार हेर्ने मन थियो, लक्ष्मीको । मृत्यु स्वीकार्न लास मात्रै भएपनि देख्नु पाउनुपर्ने लक्ष्मीको अडान थियो ।
तर यसरी आश्वासन र पर्खाईमै कैयौँ दिन बिते । अन्ततः लास नभेटाईकनै कुशको शव बनाएर उनका श्रीमानको काजकिरिया गरियो । मरेको लासको लागि पनि उनी कैयौँपटक भौतारिएकी थिइन् । तर भेटिनन् ।
धेरै वर्षपछि डेकेन्द्रको हत्याबारे सनसनी फैलियो । जहाँ डेकेन्द्रलाई अपहरण गरेर लगिएको थियो । त्यही अर्थात गाउँकै जंगलमा झुण्ड्याएर मार्ने प्रयास गरिएको थियो । त्यतिले पनि सहजै मृत्यु नभएपछि कुटपिट गरेर जिँउदै खाल्डो खनेर गाडिएको सनसनी बयान सार्वजनिक भयो ।
त्यसले दैलेखमा तरंग ल्यायो । तत्कालिन विद्रोहीका नाममा क्रुर हत्याको श्रृंखला चलाएको माओवादी र थापा परिवारबीच लामै लडाई चल्यो । डेकेन्द्रको हत्याविरुद्ध साझा रुपमा आवाज उठाएका पत्रकार एक महिनासम्म सुर्खेत पलायन भए ।
तर पनि डेकेन्द्रको न्यायका लागि आवाज उठ्न छाडेन । अन्ततः डेकेन्द्रका हत्यारालाई पक्राउसम्म गरियो । तर न्याय भने दिइएन । यसले लक्ष्मीलाई झन् पीडा थपिदियो ।
न्यायको त्यान्द्रोमा लक्ष्मीको कठोर संघर्ष
जबसम्म श्रीमानका सबै हत्यारालाई सजाय हुँदैन तबसम्म श्रीमानको आत्माले शान्ती नपाउने लक्ष्मी बताउँछिन् । ‘जसरी मेरो श्रीमानलाई तड्पाएर मृत्युको मुखमा पु¥याए, त्यसरी नै ती अपराधीहरु तड्पिनुपर्छ,’ उनले भनिन्, ‘जसका कारण मेरो घरबार उजाडियो । त्यस्तै हालत उनीहरुको पनि होस भन्ने बिन्ती बिसाएकी छु ।’
पत्रकार थापालाई माओवादीले वार्ताका नाममा बोलाएर दैलेखको नौमुले गाउँपालिका–३ मा २०६१ साल साउन २७ गते विभत्स हत्या गरेको थियो । आफ्ना श्रीमानको हत्या गर्नेविरुद्ध लक्ष्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन । त्यसबेला प्रहरीले पाँच जनालाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।
उनीहरुकै बयानका आधारमा २०६५ काठमाडौबाट नेपालगंज हुँदै दैलेख आएको टोलीले शव उत्खनन् गरेको थियो । शव उत्खनन गर्न मानव अधिकार आयोग र पत्रकार महासंघको टोली घटनास्थल पुगेको थियो ।
शव उत्खनन् गर्दा हत्या गरेको चार वर्षपछि डेकेन्द्रको कंकाल भेटिएको थियो । जसकारण उनको विभत्स र क्रुर ढंगले हत्या भएको घटना बाहिरिएको थियो ।
जनयुद्धमा यति कहालीलाग्दो घटना व्यहोरेकी लक्ष्मी माओवादीका कारण परिवार उजाड हुँदा पनि संघर्षरत छिन् । श्रीमान मरेर गएपनि उनको कर्तव्य मरेको छैन । दायित्व पन्छिएको छैन । त्यतिबेलाका नाबालक छोराछोरी अहिले ठूला छन् ।
वीरेन्द्रनगर नगरपालिकामा नायब सुब्बाका रुपमा कार्यरत लक्ष्मी अहिले जनयुद्धको तितो घटनाले ग्रसित छन् । तर पनि दैनिकी गुजार्नुपर्ने बाध्यात्मक अवस्थाबाट उनको दिनचर्या गुज्रिरहेको छ ।
जागिर खाएको २३ वर्षमा पनि त्यो कहालीलाग्दो घटना अहिले सम्झिदा पनि उनको गला अवरुद्ध हुन्छ । हासो हराउँछ । आशुको भेल बग्छ । उनी जसोतसो तंग्रिएकी छन् ।
जीवनका नयाँ अध्यायको सुरुवात गरेकी छन् । डेकेन्द्रलाई सम्झनामा राखेर जीवनका हरेक मोडमा संघर्ष गरिरहेकी छन् । चाहे त्यो सन्तानप्रतिको दायित्व होस वा दैनिकी गुजार्न धनसम्पतिको जोडजाममा होस ।
समाजको तितो व्यवहार र दृष्टिकोणप्रति पनि उनी उत्तिकै संघर्षरत छिन् । हिजो विद्रोही भनेको पार्टी आज सत्तामा पुग्दा पनि उनले न्यायको महसुस गरेकी छैनन । केवल स्वार्थका लागि राजनीति चलिरहेका बेला उनले आफूले न्याय पाउँछु भन्ने कुरा पनि भ्रम लाग्न थालेको छ । तर पनि संघर्ष नरोक्ने उनको बचनबद्धता छ ।
२५ वर्षकै जवानीमा श्रीमानलाई माओवादीले चुडेका बेला लक्ष्मीले कठोर संघर्षको बाटो अंगालेकी थिइन् । त्यो संघर्षमा आज उनका छोराछोरीको साथ छ । सँगै जीवन कटाउने सपना पुरा नभएपनि उनले आफ्नो जीवनको संघर्षको सपना भने पुरा गर्दै हिडेकी छन् ।
‘सानै भएपनि परिवार रमाएर बसेको थियौँ । सुख दुःख एक आपसमा साटेर जिन्दगी सुखमय रुपमा बितिरहेको थियो,’ जीवनको कहालीलाग्दो घटना बनेका जनयुद्ध सम्झिदैँ लक्ष्मी भन्छिन्, ‘अचानक त्यहि सुखी परिवारमा बज्रपात भयो । मेरो र घरपरिवारको खुशी खोसियो । त्यसपछि सुरु भयो जीवनको वास्तविक संघर्ष । अहिलेसम्म न्यायको न्यान्द्रोमै भएपनि बाँचेकी छु ।’
(२०५२ सालदेखि २०६२ सालसम्म नेपालमा सशस्त्र द्धन्द्ध भयो । तत्कालिन विद्रोही नेकपा माओवादीले जनयुद्ध घोषणा गर्दा देशभर संघीयता, संविधान र गणतन्त्रका लागि योगदान गर्नेको लहर चल्यो । माओवादीको परिवर्तनकारी नारामा समाहित भएर जनयुद्धमा होमिनेको संख्या दिनप्रतिदिन बढ्न थाल्यो । जसकारण जनयुद्ध सुरु भएको १० वर्षसम्म देशभर झण्डै १७ हजारले मृत्युवरण गर्न पुगे । हजारौ घाइते छन् । तीन हजारभन्दा धेरै अहिले पनि बेपत्ता छन् । जनयुद्धका घाइते, बेपत्ता र प्रभावितले अहिले पनि राज्यबाट उचित राहत नपाएको गुनासो गरिरहेका छन् । त्यतिबेला परिवर्तनका लागि भन्दै माओवादीमा लागेका नेता, कार्यकर्ता र सिपाही रगत बगाउन तयार थिए । यता माओवादीकै आक्रमणमा परी कैयौँ सेना, प्रहरी र सशस्त्रले ज्यान गुमाउन पुगे । माओवादी र राज्य पक्षका सुरक्षाकर्मीको आक्रमणमा परी धेरै सर्वसाधारण नागरिकले पनि ज्यान गुमाएका छन् । तर उनीहरुको अहिलेसम्म राज्यले नै लेखाजोखा राखेको छैन । त्यतिबेला रगत बगाउन तयार हुनेहरु अहिले साँझ बिहानको छाक टार्न दैनिक आ - आफ्नै ज्याला मजदुरी गरिरहेका छन् । कतिपयले राम्रो घरबार जोडेका छन् । कतिपय सडकमा छन् । यो जनयुद्धदेखि अहिले बाँच्नका लागि दुई पैसा कमाउन धनयुद्ध लड्नेहरुको कथा हो, 'जनयुद्धदेखि धनयुद्धसम्म' श्रृंखला । त्यतिबेलाको मध्यपश्चिम अर्थात रोल्पाको होलेरीबाट सुरु भएको जनयुद्धले कर्णालीलाई आधार इलाका बनाएको थियो । सुख, शान्ति र समृद्धिको चर्को नारा उचालिएको कर्णाली अहिले पनि जस्ताको त्यस्तै छ । रगतकै बलिदान दिएर पनि कर्णालीको समृद्धि किन हुन सकेन ? हिजो देशका लागि रगत बगाउने, ज्यानको आहुति दिने र जीन्दगीभर जनयुद्धको घाउ बोक्नेको पीडामा किन मलम लाग्न सकेन ? यो श्रृृंखलामा हामी यस्तै प्रश्न र जिज्ञासासहितका सामग्री प्रस्तुत गर्नेछौँ : सम्पादक)