सुर्खेत : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको प्रदेश अधिवेशन विहिबारबाट सुरु भएको छ । अधिवेशन कर्णालीमा तीन समूह भिड्ने भएका छन् ।
शुक्रबार मात्रै प्रदेशको सभापतिका लागि विमलेन्द्र निधि समूहले पनि दाबी गरेको छ । निधि समूहबाट कालिकोटका मोतिराज बमले उम्मेद्वारी घोषणा गरेका छन् ।
यसअघिसम्म उनले उम्मेदवारी दिएका थिएनन् । उम्मेद्वार मनोनयन दर्ताको समयमा भने उनले पनि सभापतिका लागि उम्मेद्वारी घोषणा गरेका हुन् ।
उनको उम्मेद्वारीसँगै कर्णालीमा तीन समूह भिड्ने भएको छ । देउवा पक्षबाट ललितजंग शाही, पौडेल पक्षबाट भुपेन्द्रजंग शाही, र निधि पक्षबाट बमको प्रतिस्पर्धा हुने भएको छ ।
यसघि देउवा समूहबाट आफ्नो उम्मेद्वारी दिने तयारी गरेका जाजरकोटका राजीव बिक्रम शाह, हुम्लाबाट प्रतिनिधित्व गर्ने मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही ब्याक भएका छन् ।
महामन्त्री पुर्णबहादुर खड्काको डिजाइनमा देउवा समूहबाट जुम्लाबाट प्रतिनिधित्व हुने गरी ललितजंग शाही उम्मेद्वार बनेका छन् ।
पौडेल पक्षले जाजरकोटका दिपकजंग शाह ब्याक भएर दरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीलाई उम्मेद्वारी बनाएको छ ।
पहिले उम्मेद्वारी दिने कुनै चहल पहल नभएका निधि समूहबाट कालिकोटका मोतिराज बमले उम्मेद्वारी घोषणा गरिसकेका छन् । अब, प्रदेशमा तीन समूहको भिडन्त चल्ने छ ।