रुकुम पश्चिम : रुकुम पश्चिमको एक सरकारी बिद्यालयका शिक्षकहरुले साउन महिनादेखि हालसम्म तलब पाएका छैनन । तलब नपाउँदा शिक्षक कर्मचारीले दशै तिहारको खर्च समेत ऋण निकालेर मनाउनु परेको बताएका छन् ।
बाँफिकोट गाउँपालिका-९ मा रहेको जनकल्याण माध्यमिक बिद्यालयका शिक्षकहरुले चालु आव.०७८,०७९ को पहिलो चौमासिकको तलब हालसम्म पनि नपाएका हुन् ।
कार्तिक महिनामै दिनुपर्ने तलब हाल सम्म पनि नदिएपछि बिद्यालयमा कार्यरत १४ जना शिक्षकहरु मर्कामा परेको बिद्यालयका प्रधानाध्याक धर्मसिं केसीले बताए ।
प्रधानाध्यापक केसीका अनुसार बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम देवकोटा बिद्यालयमा जानकारी नदिई सम्पर्कमा नरहेकोले तलब खुवाउन नसकिएको छ । ‘आधिकारीक जानकारी त हामीलाई आएन,’ प्रधानाध्यापक केसीले भने ‘अध्यक्ष ज्यु बैदेशिक रोजगारीको शिलशिलामा नेपाल बाहिर पुगेको सुनिन्छ ।’
शिक्षकहलाई दसैँ तिहारको बेलामा समेत तलब खुवाउन नसकिएको उल्लेख गर्दै प्रधानाध्यापक केसीले ७, ८ पटक व्यवस्थापन समितिका पदाधिकारीको बैठक बोलाउदा पनि कोरम नपुग्दा बैठक नै बस्न नसकेर तलब दिन नसकेको जनाए ।
उनका अनुसार शिक्षकहरुको तलब गाउँपालिकाले लक्ष्मी बैंकमा रहेको बिद्यालयको खातामा दशै अगाडि नै जम्मा गरिसकेको छ । खातामा अध्यक्ष देवकोटाको हस्ताक्षर अनिवार्य रहेकोले पैसा निकाल्न नसकिएको प्रधानाध्यपक केसीको भनाइ छ ।
विद्यालय व्यबस्थापन समितिको कार्य अवधि पनि असोज मै सकिएको हो । नयाँ व्यवस्थापन समितिको गठन गर्नको लागि गाउँपालिकामा अब १, २ दिनमै गएर अनुमति ल्याउने र प्रक्रिया बमोजिम व्यबस्थापन समिति गठन गरेर तलब खुवाउने प्रधानाध्यपक केसीले बताए ।
बिद्यालयमा कार्यरत शिक्षकहरुले बिद्यालयको आन्तरिक समस्याको कारण शिक्षकहरु मारमा परेको बताएका छन् । आफुहरुको बौद्धिक श्रमको अवमूल्यन गरिएको र दशै तिहारमा समेत तलब नपाउँदा दुख लागेको उनीहरुको प्रतिक्रिया रहेको छ ।
शिशु कक्षा देखि १० कक्षा सम्म सञ्चालित उक्त बिद्यालयमा १४ जना शिक्षकहरु कार्यरत छन् । कार्यरत शिक्षकहरुमा ३ जना स्थायी, ९ जना अनुदान कोटामा, १ जना प्राथमिक तहको राहत र १ जना निजि श्रोतबाट तलब खुवाउने गरी कार्यरत छन् ।