वीरेन्द्रनगर : कर्णाली प्रदेशको गरिबी र यहाँका समस्या बुझ्ने उद्देश्यसहित संयुक्त राष्ट्र संघको टोली कर्णालीमा आएको छ । कर्णालीमा बर्षेनी हुने खाद्यान्न संकट, अब्यवस्थित बस्ती, भूमिहिन जस्ता कुराहरुको अध्ययन–अनुसनधान गर्न टोली यहाँका आइपुगेको हो । टोली यूएनको विशेष र्यापोटर ओलिभियर डी–स्कटरको नेतृत्वमा आएको हो ।
टोलीले बिहीबार वीरेन्द्रनगर नगरपालिका–११ स्थित गन्धर्व बस्तीको अनुगमन समेत गरिसकेको छ । बस्तीको अध्ययन तथा अनुगमन गर्दै टोलीले बस्तीमा देखिएका समस्या समाधानका लागि पहलकदमी चाल्ने बताएको छ । यो टोलीले बस्तीका समस्याहरु प्रदेश सरकार, केन्द्र सरकार मार्फत समाधानका लागि प्रयत्न गरिने समेत बताएको थियो ।
गन्धर्व समुदायका समस्याहरु सुन्दै विशेष र्यापोटर ओलिभियरले लामो समयदेखि स्थानीयले भोग्दै आएको समस्या समाधानको लागि केन्द्र सरकार मार्फत विशेष पहल गर्ने बताए । जंगलको छेउमा २०५३ सालबाट बसोबास गर्दै आएका गन्धर्व समुदायले सरकारी क्षेत्रबाट कुनै पनि सहयोग नभएको बताएका छन् ।
सरकारले आफुहरुलाई लालपुर्जा दिनुपर्ने मुख्य माग राख्दै आएको बस्तीले त्यसका लागि पहल गरिदिन विभिन्न राजनीतिक दलहरुलाई आग्रह समेत गरेका छन् ।
टोलीले कर्णालीको बारेमा वीरेन्द्रनगरमा रहेका विभिन्न सरोकारवालाहरु संग पनि विशेष छलफल गरेको छ । छलफलमा कर्णाली प्रदेशको गरिबी, खाद्यन्नको समस्या, अविकास, शिक्षा, स्वास्थ्यको समस्याहरुको बिषयमा चर्चा गरिएको छ ।
कार्यक्रममा फिएन नेपालका कार्यकारी निर्देशक अशोकबहादुर सिंहले कर्णाली प्रदेश संक्षप्ती परिचयसहितको कार्यपत्र प्रस्तुत गर्दै कर्णालीका समस्याहरु समाधान गर्नको लागि राष्ट्र संघलाई सहयोगको लागि अपिल समेत गरे ।
छलफलमा इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले द्धन्द्धको उद्गम स्थल कर्णालीमा लामो समयसम्म पनि घाइतेतथा बेपत्ता परिवारले न्याय नपाएको बताए ।
प्रदेशको रोजगारी, खाद्यन्न संकट, स्वास्थ्य क्षेत्रमा चरम संकट रहेको तथा प्राकृतिक रुपमा समेत बेला बेलामा कर्णालीले ठूलो क्षति व्यहोरीरहेको भन्दै सहयोको अपेक्षा गरे । कार्यक्रममा खाद्य अधिकार संजालका संयोजक जगत केशीले प्रदेशका बर्षेनी समस्याहरु दोहोरीने भए पनि दिर्घकालिन समस्या समाधानको लागि कुनै कार्य नभएको बताए ।
![](/uploads/editor/2021-12-03/093412847260302247_5240495645967147_7544402211383080120_n.jpg)
यस्तै सहभागि अन्य सरोकारवालाहरुले पनि कर्णालीको समस्याको बारेमा चर्चा गर्दै सरकारी क्षेत्रको गम्भिर ध्यानाकर्षण हुनुपर्ने बताए । यूएनको टोलीले अध्ययन तथा अनुगमन गरेर यहाँका समस्याहरुको बिषयमा कर्णाली प्रदेश सरकार तथा केन्द्र सरकारलाई ध्यानाकर्षण गराउने फिएन नेपालका कर्णाली प्रदेश संयोजक प्रकाश नेगीले जानकारी दिए । राष्ट्र संघको टोली जुम्ला, कालिकोट समेत जाने कार्यक्रम रहेको छ ।