कर्णाली : कर्णाली प्रदेशमा नेपाली कांग्रेसको सभापतिका लागि तीन समूह मैदानमा आइसकेका छन् । यसअघिसम्म पार्टी सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मात्र उम्मेद्वारी घोषणा गरेका थिए ।
तर, शुक्रबार विमलेन्द्र निधि पक्षले पनि उम्मेद्वारी दर्ता गराएको छ । निधि पक्षबाट कालिकोटका मोतिराज बमले सभापतिमा उम्मेद्वारी दर्ता गराएका छन् । देउवा पक्षबाट जुम्लाका ललितजंग शाही, पौडेल पक्षबाट युवा नेता तथा तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले उम्मेद्वारी दर्ता गराएका छन् ।
निधि पक्ष र पौडेल पक्षबीच कालीकोटकै उम्मेद्वार हुन् । यसकारण कालिकोटका प्रतिनिधिको मत विभाजन हुने भएको छ । एक जिल्लाबाट दुई उम्मेद्वार उठ्दा प्रतिनिधिको मत विभाजित हुने भएको निश्चित जस्तै हो ।
तर, पौडेल पक्ष भने बलियो छ । देउवा पक्षले कालिकोटमा पौडेल पक्ष पकट भत्काउनकै लागि निधि पक्षबाट उम्मेद्वारी उठाएको हुनसक्ने उठाएको बुझिएको छ ।
निर्वाचन समितिले सभापतिदेखि सदस्यको नामावली सार्वजनिक गरिसकेको छ । शुक्रबार दर्ता गराएका मध्ये सभापतिका लागि तीन जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
उप–सभापतिका लागि चार जनाले उम्मेद्वारी दर्ता गराएका छन् । जस मध्ये उप–सभापतिका कालीबहादुर सहकारी, सनतकुमारी कार्की, देबेन्द्रबहादुर शाही र तिलकबहादुर भण्डारी हुन् ।
महामन्त्रीका लागि पाँच जनाले उम्मेद्वारी दर्ता गराएका छन् । सह–महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये चार जना पुरुष र २ जना महिला रहेका छन् ।
जसमा महामन्त्रीमा निरञ्जन केसी, कृष्णकुमार रोकाया, कृष्णबहादुर वीसी, खगेन्द्रबहादुर मल्ल र गोविन्दबहादुर कोइरालाले उम्मेद्वारी दिएका छन् ।
सहमहामन्त्री पुरुषतर्फबाट उपेन्द्रबहादुर थापा, एकराज डांगी, नेत्रलाल पौडेल र जयनन्द उपाध्यायको उम्मेद्वारी परेको छ भने सहमहामन्त्री महिलातर्फबाट रामछाया शाही र देविकाकुमारी सिंहको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ ।
कुन सभापति बलियो ?
कर्णालीको सभापतिमा तीन जनाले उम्मेद्वारी दिँदा नेतृत्व गर्ने जिम्मा कसले गर्ने चासोको विषय बनेको छ । यसअघि पौडेल पक्षबाट उम्मेद्वार उठेका कालिकोटका भुपेन्द्रजंग शाही पनि बलियो छन् ।
किन ? उनी युवाहरुको माझ लोकप्रिय मानिन्छन् । पूर्व नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष समेत भएका शाही तरुण दलका केन्द्रिय महामन्त्री हुन् । उनको उम्मेद्वारी यतिबेला कमजोर बन्यो जतिबेला कर्णालीमा प्रभाव नभएको गुटबाट उम्मेद्वारी आयो । त्यो पनि उनकै गृह जिल्लाको उम्मेद्वार खडा गरिएको छ ।
अर्कोतर्फ देउवा पक्ष जिल्लाबाट वर्चश्व कायम गर्दै आएकाकारण बलियो मानिएको छ । कर्णालीका १० मध्ये सात जिल्लामा देउवा समूहले सभापति पाएको छ ।
यो हेर्दा देउवा समूका उम्मेद्वार ललितजंग शाहीको जित्ने सम्भावना पनि उत्तिकै बढेको देखिन्छ । तर, अहिले नै भन्न सकिने अवस्था छैन यसकारण सभापति देउवा पक्ष भएपनि कतै प्रतिनिधि भने पौडेल पक्षले पनि वर्चश्व कायम गरेको छ ।
यस्तै सबैभन्दा कमजोर पक्ष भनेको निधि पक्ष हो । सबै प्रतिनिधि दुई धारमा पुगिसकेपछि कसैको मत काट्का लागि मात्रै शुक्रबार एक्कासी निधि पक्षले उम्मेद्वारी दिएको थियो । निधि पक्षबाट सभापतिको उम्मेद्वारी दिने व्यक्ति पनि देउवा निकटका मानिन्थ्ये ।
यसलाई यस्तो पनि भन्न सकिन्छः कर्णालीका जिल्लामा सभापति देउवा समूहले वर्चश्व कायम गरेपनि महाधिवेशन प्रतिनिधि र अन्य प्रतिनिधि पौडेल पक्षबाट छन् । निधि पक्षलाई उभ्याएर पौडेल पक्षको मत काट्नको लागि पनि देउवा पक्षकै रणनिति हुन हुनसक्छ ।
सात जिल्लामा देउवा पक्षका सभापति छन् । भने तीन जिल्लामा पौडेल पक्षका सभापति छन् । कर्णालीमा महाधिवेशन र प्रदेश अधिवेशन प्रतिनिधि गरेर ७५० मतदाता छन् ।
शुक्रबार साँझ ५ः४५ देखि ७ बजेसम्म दाबी विरोध रहने भएको निर्वाचन समितिले बताएको छ । शनिबार बिहान ७ बजेसम्म उम्मेद्वारी फिर्ता हुने बताइएको छ ।
निर्वाचन समितिले सभापतिको उम्मेद्वारका लागि १५ हजार अन्य पदाधिकारीको लागि ११ हजार र सदस्यका लागि ५ हजार शुल्क लिएको जानकारी गराएका छन् ।