जाजरकोट । पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको जातीय विभेद घटनाका पीडितले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन्। घटनामा सलंग्न भएका वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवतीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, आफन्त सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुन मगर लगायतका २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा सम्बन्धमा किटानी जाहेरी दिएका प्रहरीले जनाएको छ ।
यसअघि प्रहरीले किटानी जाहेरी लिन मानेको थिएन । जिल्ला प्रहरी प्रमुख डिएसपी किशोरकुमार श्रेष्ठका अनुसार दलित अधिकारकर्मी र पीडित परिवारले घटनाबारे निष्पक्ष छानबिन हुनु पर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनु पर्ने, घाइतेको निशुल्क उपचारको व्यवस्था मिलाउनु पर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्ने लगायतका माग राखेका छन । साथै उनीहरुले तत्काल दोषीमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग पनि गरेका छन ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले पीडितका माग सम्बोधन गर्ने र माग पुरा गर्ने सम्बन्धमा सम्बन्धित निकायमा आवश्यक पहल गरिने आश्वासन दिएका छन । पीडितको मागलाई सम्बोधन गरेपछि मृत्तक तीन जनाको पोष्टमार्टम गरिएको छ ।
सोतीमा शनिबार राती प्रेमिकालाई विवाहका लागि भगाउन जाँदा जाजरकोट रानागाउँका नवराज विक, टीकाराम सुनार र गणेश बुढाको हत्या भएको थियो । जाजरकोट भेरी नगरपालिका वडा नम्बर ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन्।
प्रहरीले घटनालगत्तै वडाध्यक्ष डम्बर मल्ल, युवतीका बुवा वीरबहादुर मल्ल र आमा प्रकाशी मल्लसहित १५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । बेपत्ताहरुको खोजीका लागि कर्णाली प्रदेशबाट गएको गोताखोर टोलीले खोजी जारी राखेको छ ।
चौतर्फी विरोध हुनुका साथै संसदमा समेत आवाज चर्किएपछि सरकारले गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।