राजनीतिमा त्याग तपस्याको जरुरत पर्छ । अनि, उसले गरेको संघर्ष बलिदान र त्यागको अहम् महत्व हुन्छ । र, हुँदै आएको छ । यस्तै कांग्रेस भित्र त्याग र तपस्या गरेका मध्ये एक हुन् ललितजंग शाही ।
शाही, आइतबार नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कर्णाली प्रदेशको सभापतिमा ४ सय २२ मत ल्याएर निर्वाचित भए । उनको घर जुम्ला हो ।
विद्यार्थी जीवनदेखि नेपाली कांग्रेसको फेर समातेका शाही २०३६ सालमा राजा महेन्द्रले घोषणा गरेको जनमत सङ्ग्रहमा बहुदलको प्रचार गर्ने व्यक्ति मध्येका एक हुन् ।
बिपीसँगको भेटपछि कांग्रेस भित्र झन् सक्रिय रुपमा राजनीति गर्ने उर्जा थपियो । अनि, त्यो उर्जासँगै त्यतिबेला कर्णाली अञ्चल बहुदल प्रचार समिति कालिकोट संयोजक भए ।
त्यो बेलादेखि कांग्रेस राजनीतिमा सक्रिय शाही तत्कालिन बहुमत जनतालाई बहुदलका पक्षमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध डटेर लाग्ने एक कांग्रेसको सिपाहीका रुपमा चिनिए ।
शाहीले विस्तारै कांग्रेसबारे जनतालाई सचेत बनाउने अभियानमा थाले । त्यतिबेला पार्टीले दिएको जिम्मेवारी पुर्ण रुपमा पालना गरे । त्यहिँ अभियानबाट प्रजातन्त्रको अनुभूतिसँगै स्वतन्त्र अधिकारका लागि लड्ने मध्येका ललित पनि हुन् ।
त्यसपछि पनि कांग्रेसका विभिन्न संगठनमा बसेर काम गरेका शाहीले लामो समय नेपाल रेडक्रसको केन्द्रीय सदस्य हुँदै उपाध्यक्षमा समेत पुगे । काम गरे । आफ्नो लामो राजनीति जीवनको यात्रासँगै समाजसेवामा पनि भिज्ने मौका पाए ।
२०५१ सालको आम निर्वाचनमा ‘बागी’ उम्मेद्वारी दर्ता गराए भने २०५६ को आम निर्वाचन पनि उनको ‘बागी’ उम्मेद्वारी नै थियो । उनले बिवी विचारकाविरुद्ध भएकाहरुलाई तहमा ल्याउने काम समेत गरे ।
कांग्रेस भित्रैको लामो राजनीतिपछि जुम्लाबाट प्रतिनिधित्व गर्दै संविधान सभा निर्वाचन २०७० मा निर्वाचित भए । उनी निर्वाचित भएसँगै आफ्नै एजेन्डामा बोकेर जुम्ला पुगेका थिए ।
योसँगै २०४८ सालदेखि जुम्लाको कम्युनिष्ट पकट भत्काउन सफल भएका शाही नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको प्रदेशमा भएको चुनावमा कर्णालीको पहिलो सभापति बन्न सफल भएका हुन् । उनको कांग्रेस भित्रको सक्रिय राजनीति गरेको चार दशक भन्दा बढी भइसकेको छ ।
कर्णालीमा सभापतिका लागि तीन समूह मैदानमा उत्रिएका थिए । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा समूहबाट ललितजंग शाही, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट भुपेन्द्रजंग शाही, उपसभापति विमलेन्द्र निधि समूहबाट मोतिराज बम प्रदेश सभापतिका लागि चुनावी मैदानमा उत्रिएका हुन् ।
जसमध्ये देउवा समूहबाट ४ सय २२ मत ल्याएर ललितजंग शाही निर्वाचित हुन् । उनका प्रतिद्धन्द्धी तथा पौडेल समूहका उम्मेद्वार भुपेन्द्रजंग शाहीले ३ सय १७ मत ल्याएका थिए । उनका अर्का प्रतिद्धन्द्धी तथा निधि समूहका उम्मेद्वार मोतिराज बमले भने सात मत प्राप्त गरेका थिए ।