सुर्खेत - कर्णालीमा रोग, भोक र विभेद चर्को थियो । जुन परिवर्तन गर्न भन्दै धेरैले युद्धमा हाम फाले । तर कर्णालीमा अहिले पनि रोग, भोक र विभेद अहिले पनि चर्कै छ ।
१० वर्षको सशस्त्र द्धन्द्धमा पनि कर्णालीका जनताले उन्मुक्ति पाउन सकेनन । राजतन्त्र फालेर गणतन्त्र ल्याउँदा पनि देशमा भुईमान्छेको अवस्था जस्ताको तस्तै छ । रगतको बलिदान दिएर पाएको नयाँ व्यवस्थामा उनीहरुले आफ्नो सफलतामा चित्त बुझाउन सकिरहेका छैनन ।
नयाँ व्यवस्थामा केही नेता, केही कार्यकर्ता र केही राजनीतिक पार्टी बढी सन्तुष्ट छन् । तर साच्चै गरीब, दुःखी र सर्वसाधारण भने खुशी छैनन ।
माओवादी सत्तामा थिएन । जनयुद्धमा कैयौँ आशाहरु देखाइयो । जब माओवादी सरकारमा पुग्यो । गरिब निमुखाका समस्यालाई नहेरेर आफ्नै वरिपरिका आसेपासेलाई मात्र पक्षपोषण गर्न थालियो ।
जसले गर्दा सर्वहारा वर्गका समस्या ज्युँका त्युँ रहे । नेपाली आमाका १० हजार छोराछोरीको रगतको खोलो बग्यो । तर उनीहरुले आफ्नो जीवन खुशी हुने अचुक उपाय पाएका छैनन । आफन्त गुमाएको त्यो घाउ अहिले पनि ताजै छ । भुल्न सकेका छैनन् । कोही दिनरात बेपत्ता पारिएका आफ्ना आफन्त आउने दिन गनेर बसेका छन् ।
व्यवस्था परिर्वतनका निम्ति पुराना शासक त फालियो । फेरी नयाँ शासको उदय भयो । आफ्ना आफन्तको विभत्स हत्या भएका ती घाउ अहिले पनि आलै र ताजै छन् । जनयुद्धको यही आलै घाउँको पीडा कालिकोटको खाडाचक्र नगरपालिका ८ की देवी परियारले पनि झेलिरहेकी छन् ।
देवी र लालु परियार एक असल जोडी थियो । एक रथका दुइ पाङ्ग्रा जस्तै थियो उनीहरुको जीवन । श्रीमान लालु र देविका दिनहरु संघर्षरत यात्रामा अघि बढिरहेका थिए । त्योबेला देवीका श्रीमान तत्कालिन विद्रोही नेकपा माओवादी गाजस प्रमुख समेत थिए ।
आनदोलन सशक्त रुपमा चलिरहेको थियो । देविका श्रीमान पार्टीको कामसँगै कपडा सिलाइकटाइमा व्यस्त रहन्थे । माओवादीको आन्दोलन चर्किरहेको थियो । गोलाबारुदका आवाज घन्किरहन्थे । गाउँमा आज यो त्यो मान्छेलाई राज्य पक्षले लिएर घाइते बनायो, मा¥यो भन्ने खबर दैनिक सुनिन्थे ।
ती कुराले देविको मनमा पनि अतास लागेर आउथ्यो । त्यो भन्दा बढी गोलाबारुदका आवाजले उनीहरुको निन्द्रा बिथोलिन्थ्यो । कतै आफ्ना श्रीमानलाइ पनि राज्य पक्षको अपहरणमा पारेर लैजाने त हैन भन्ने कराले उनलाई दिन रात झस्काइरहन्थ्यो । पिरोलिरहन्थ्यो ।
देवीका लागि त्यो दिन टाढा रहेन । श्रीमानलाई सेनाले अपहरण गरेर लग्योे । २०५९ साल मंसिर १७ गते दैनिक कपडा सिलाइकटाइको दिनभरि कर्म गरेर दुइ दम्पती र एक छोरा मस्त निन्द्रामा थिए ।
बिहानको चार बजेको थियो । मस्त निन्द्रामा थिए देवीको परिवार । ढोकामा ढकढक आवाज आयो । कोरहेछ भनेर देविले ढोका खोलिन् । श्रीमान कहाँ छ ? भन्दै चारपाँचजना सेनाहरु घरभित्र पसे । नभन्दै आखिर सेनाले उनको श्रीमानलाई काखबाटै घिसारेर लिए ।
दुइ वर्षकोे छोरालाई काखमै च्यापेर उनी पनि पछि पछि लागेर श्रीमान भन्दै रोइ कराइ गरिन् । उनकै अघि कुटदै कुट्दै लिएर बिच बाटोमै हात भाँचे दाँतको बङ्गारा झारे । देविले झनै रोइ कराइ गरिन् ।
तर पनि देविको केही सिप लागेन । यति गरिसक्दा देविले सक्नेजति रोइकराई गरिन् । सायद त्यो पल सम्झिदा अहिले पनि उनी आँखाबाट आशु झार्दै भक्कानिन्छन् ।
‘त्यतिन्जेल गर्दा पनि श्रीमानलाई छुटिहाल्छन् कि भन्ने आशले पछि पछि गए,’ उनले भनिन्, ‘कुट्दै, पिट्दै थिए । आधा ज्यान बाटोमै गइसकेको थियो । अपहरणकारीलाई मेरा श्रीमानलाई मारिसक्यौ अब अन्तिम श्वास घरमै फेर्नदेउ छोड्देउ प्रभु भन्दै हारगुहार गरेँ । उल्टै मलाइ लखेटे । तल तल लिदै गर्दा नजर पुगुन्जेल हेरिरहेँ । आखिर लिएरै छोडे । क्रुर यातना दिदै दिएरै छोडे । ’
एसएलसी समेत पास भएका परियार गाजस प्रमुख थिए । अपहरण गरेको एक महिनापछि खाडाचक्र नगरपालिका –८ धाला परिवार टोलका परियारको मान्मको राताडावा भन्ने ठाउँमा एक महिनापछि विभत्स हत्या गरेर वेवारिसे अवस्थामा फालेको लास भेटियो ।
श्रीमानलाई अपहरण गरेको देखेर अरु भएका आफन्त पनि पछि कोहि गएनन् । मरिने डरले । पछि आफ्नै केही आफन्तले लास पाइसकेपछि उतै गाडेर आए । श्रीमानको मृत्यु भइसकेपश्चात् ।
लक्ष्मीका दिनहरु निकै संघर्षरत रहे । १६ वर्षको उमेरमा मागी विवाह गरेकी देवीको २१ वर्षको उमेरमै सिन्दुर मेटियो । त्यसपछिका उनका दिन कठिन अवस्थामा बिते । घरमा खाने अन्न थिएन । त्यो पल सम्झिदा उनको फेरी गला अवरुद्ध भयो । पछ्यौरीको तालले आखाँमा आएका आशुलाई पुछद्दै उनले आफ्नो जनयुद्धकालिन तितो अनुभव पोखिन ।
३२ वर्षको कलिलै उमेरमा श्रीमानको मृत्युपश्चात् घरपनि भत्कियो । आफ्नो बस्ने घरको छाप्रो समेत थिएन । अरुकै गोठमा बसेर पनि हिम्मत हारिनन । लुगा कपडा सिलाउँदै छोरालाई हुर्काइन् ।
पतिले सिकाएको सिपको उपयोग गर्दै सिलाउदै गाउँ गाउँ पुगेर अन्न पैशाले छोरो हुर्काइन् । श्रीमानले बिच बाटोमै छोडेर गए पनि श्रीमानले सिकाएको सिपले पल पल याद आइरहन्छ । श्रीमानको याद ताजै लाग्छ । आफ्नै वरिपरि भएजस्तो लाग्छ ।
परिर्वतनका लागि संघर्षमा लाखौ नेपाली आमाका सपुतहरुको बली चढाएको माओवादी सत्तामा पुगे पनि पीडितको घाउमा मलम लगाएको छैन । उल्टै नेपाली आमाका छोराहरुलाइ नास्ने मास्नेतिर अघि बढिरहेको छ । माओवादी आन्दोलनको मुख्य उद्धेश्य परिर्वतन गर्नु थियो । तर परिवर्तनका लागि बलिदान दिनेको सम्मान र सहयोग पनि त्यत्तिकै महत्वपूर्ण विषय हुनुपर्ने हो ।
तर अहिले लाग्छ, माओवादीले आश्वासन बाड्यो । गरीब जनताका लागि व्यवस्था परिवर्तन गरेपनि संस्कार र सामन्ती प्रथा परिवर्तन गर्न सकेन । अझ उनले मुखै खोलेर भनिन्, माओवादीले राजनीतिक स्वार्थपूर्ति मात्रै गरेर छाड्यो ।
अहिले पनि देवी परियारसँग जग्गाका नाउमा एक चिम्टि माटोसम्म छैन । आफ्नै हातखुट्टाका नंग्रा खियाएर गुजारा चलाइरहेकी छिन् । बस्नलाई सानो एउटा झाप्रो छ । एक छोरा बुहारी र नातीनिसहित चार जनाको परिवार त्यही झुप्रोमा बस्दै आएको छ ।
जनयुद्ध र धनयुद्धमा तपाइलाई कुन ठुलो लाग्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘धनयुद्धकै लागि जनयुद्ध भएको थियो । परिर्वतनका लागि जनयुद्ध भएको भए त जनयुद्धका लागि सहीद भएका परिवारको घाउमा मलम लगाउनुपर्ने अहिलेसम्म कसैले घाउमा मलम लगाएन । आफ्नो खुशि खोसिएपछि मलाई कुनै ठुलो लाग्दैन ।’
अहिले उनी ४६ वर्षको पुगिन् । उनीसँग एक छोरा बुहारी र नातिनी छन् । अहिले पनि उनको दैनिकि संर्घषमै बितेको छ । घरखर्च चलाउन अहिले पनि उनी साँझ अबेरसम्म लुगाकपडा सिलाइकटाई गरेर बिहानै गाउँमा निस्किन्छन् । अहिलेसम्म जसोतसो गुजारा गरिरहेको उनी बताउँछिन् ।
कर्णाली आफैमा गरीब प्रदेशका रुपमा चिनिन्छ । कर्णालीका धेरै नागरिकको पीडा अभाव र रोजगारीको समस्यामा बित्ने गर्छ । तर जनयुद्धले आफ्ना आफन्त र घरपरिवार बित्दा कर्णालीबासीलाई अहिले दिनमा दुई छाक टार्न पनि मुश्किल छ ।
बुबाको त्यो मृत्युको खबरले छोरा भरत परियारको मन भक्कानिएर आउछ । दुइ वर्षको दुधे बालक । त्यसमाथि दुध खाँदै गरेको अवस्थामा सेनाले अपहरण गरेर लिएको थियो । सबैले बुबा बुबा भन्थे । विद्यालय जादा बुबाको हात समाएर विद्यालय जानेबेला बुबाको यादले पिरोल्थयो भरतलाई । सबैजना साथीभाइ आफ्नो बुबाको हात समाएर विद्यालय जान्थे । कहिले घुम्न जान्थे त्यो बेला भरतको गहभरी आशु झर्थे । तर पनि मन बुझाउथे । बुबाले दिने माया आमबाट पाएको छु भनेर मन बुझाउथे ।
‘गाउँघरमा जसोतसो पेट पाल्न समस्या हुँदैन । तर पनि घरमा आमा, श्रीमति र एक छोरी छन् । म पढ्दै छु । आवश्यकता बढ्यो । खाने मुख थपिए,’ उनले पीडा सुनाउँदै भने, ‘जनयुद्धको पीडा परिवारमा मात्रै कहाँ छ र ? हरेक दिन आइपर्ने समस्यामा पनि अभावले पेल्ने रहेछ ।’
(२०५२ देखि २०६२ सालसम्म व्यवस्था परिवर्तनका लागि र अहिले बाँच्नका लागि दुई पैसा कमाउन लड्नेहरुको कथा हो, 'जनयुद्धदेखि धनयुद्धसम्म' श्रृंखला । त्यतिबेलाको मध्यपश्चिम अर्थात रोल्पाको होलेरीबाट सुरु भएको जनयुद्धले कर्णालीलाई आधार इलाका बनाएको थियो । सुख, शान्ति र समृद्धिको चर्को नारा उचालिएको कर्णाली अहिले पनि जस्ताको त्यस्तै छ । रगतकै बलिदान दिएर पनि कर्णालीको समृद्धि किन हुन सकेन ? हिजो देशका लागि रगत बगाउने, ज्यानको आहुति दिने र जीन्दगीभर जनयुद्धको घाउ बोक्नेको पीडामा किन मलम लाग्न सकेन ? यो श्रृृंखलामा हामी यस्तै प्रश्न र जिज्ञासासहितका सामग्री प्रस्तुत गरिरहेका छौँ - सम्पादक)