हुम्ला : दुर्गमको विद्यालयमा ‘स्मार्ट शिक्षा’ कार्यक्रम लागु भएको छ । सहयोगी हातहरुको सहयोगमा विद्यालयमा पठनपाठन कार्यका लागि आवश्यक सहयोग प्राप्त हुँदा डिजिटलाइज गर्ने लक्ष्य अनुसार ‘स्मार्ट शिक्षा’ कार्यक्रम लागु भएको हो ।
हुम्ला मध्ये क्षेत्रको खार्पुनाथ गाउँपालिकाको मान्धारा माध्यामिक विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले ‘स्मार्ट शिक्षा’ कार्यक्रम लागु भएको जानकारी दिए । यो कार्यक्रम लागु भएसँगै अब कक्षा छदेखि दशसम्मका सबै कक्षा र विषयमा यो प्रणालीबाट पठनपाठन सुरु शाहीले बताए ।
यसका लागि इन्टरनेट भएको बेला अनलाइनबाट र नभएको बेला अफलाइनबाट कक्षामा पठन पाठन सुरु गर्ने गरिएको छ । यसका लागि सानो आकारको मुख्य ल्याप्टपबाट टच पेनले शिक्षकले पठन पाठन गर्नु पर्नेछ ।
यसमा एपबाट पाठ्क्रमका अतिरिक्त श्रव्यदृष्य सामग्री शिक्षकले डाउनलोड गरेर पठन पाठन गर्न सक्नेछन् । उनले यसले गर्दा हाल विद्यालयमा प्रयोग हुँदै आएको ह्वाइटबोर्ड, मार्कर डष्टर समेत विस्थापित भएका छन् । विद्यालयमा नयाँ प्रविधि भित्रिएको र अब शिक्षकले निकै मेहनत गरेर अगाडि बढ्नु पर्ने खाँचो रहेको प्रधानाध्यापक शाहीले बताए ।
बालविकासका विद्यार्थीदेखि कक्षा पाँचसम्मका विद्यार्थीलाई पठनपाठन गर्न सकिने भएको भएपनि शिक्षकमा सीपको कमी भएको कारण हाल यो प्रविधिबाट पठन पाठन सुरु गर्न सकिएको छैन । यसका लागि शिक्षकलाई तालिमको समेत व्यवस्था दुई महिना भित्र दिने तयारी सहयोग संस्थाले गरेको विद्यालयले जनाएको छ ।
यसका लागि उक्त विद्यालयलाई काठमाडौं जेसुइत सामाजिक संस्थाले सहयोग गरेको हो । संस्थाबाटै उपकरण जडानका लागि प्राविधिक हुम्ला आएर इन्स्टल गरेको थियो । हाल कक्षा यो प्रविधिबाट पठनपाठन सुरु भएका कक्षामा १२५ जना विधार्थी तथा शिक्षक प्रत्यक्ष रुपमा लावान्भित भएका छन् । यो प्रविधिबाट पठन पाठन सुरु गर्ने हुम्लाको पहिलो मध्यको एक विद्यालय उक्त विद्यालय भएको छ ।