दाजु भैरव रिसाल पहिलोपल्ट २०२८ सालमा दुर्गम क्षेत्र विकास समितिका सदस्य सचिव डोरबहादुर बिष्टसँग रु. २०० को प्लेन भाडाको व्यवस्था गरी तत्कालिन तिब्रीकोट, जुम्ला, हुम्ला र मुगुमा पहिलो पाइला टेक्ने व्यक्ति हुनुभयो । जुन बेला बटुवाले ओडार र रुखको फेदमुनि रात बिताउनुपर्थ्यो, आफ्नै सातुसामल बोकेर हिँड्नुपर्थ्यो ।
घाँसको लट्टाको पुल, पैदल बाटो, खोलानाला, नदी तर्दै अदम्य साहस बोकेर कर्णाली पुगेर फर्केपछि त्यहाँको यातायात, शिक्षा, स्वास्थ्य, गरिब निमुखाहरूको सेवा र सहयोगका लागि आफै पनि बारम्बार सोचविचार गरी सहयोग गर्न लागेका छन् ।
भाषणमा कर्णालीको नाम लिएर नथाक्ने नेता अहिले नामै लिन डराउँछन् तर भैरव दाइ कुनै पनि बेला कर्णालीबारे बहस गर्न, मुद्दा उठाउन र सहयोग गर्न पछि पर्दैनन् ।
कर्णालीलाई राज्यको मूल प्रवाहमा ल्याउन त्यहाँका नेता, जनता र कार्यकर्तालाई घचघच्याउन मात्र होइन स्वयं प्रत्यक्ष संलग्न रही सरकारलाई चुनौती दिँदै कर्णाली विकासमा निरन्तर लागिरहेका उनले हुम्लाका ५५० घरपरिवारलाई उज्यालोका लागि निःशुल्क सोलार, हुम्ला सिमिकोटमा कोदो चुट्ने मेसिन, मुगुमा श्रीनगरका दलित वस्तीलाई आधुनिक चुलो र सोलार, हुम्ला जिल्लाका विभिन्न स्कूलमा कम्प्यूटरको व्यवस्था, डोल्पा, मुगु र हुम्लाका प्राविधिक शिक्षा पढ्ने छात्राहरूलाई आंशिक छात्रवृत्ति आदि त उनले गरेका कामका उदाहरण मात्र हुन् ।
कर्णाली विकास निर्माणका हरेक सवालमा आफै प्रतिनिधित्व गरी सघाउने व्यक्ति हुन् भैरव रिसाल । रक्तदान जीवनदान र उत्पादनमा विभिन्न क्षेत्रमा सक्रिय योगदान गरिसकेका भैरव रिसाललाई हामी कर्णालीका नेता कार्यकर्ता मात्र होइन समाज सेवामा लाग्ने जो कोहीले पनि एकपल्ट सम्झन जरुरी छ ।
देशका सक्षम नागरिकले खेल्नुपर्ने भूमिका भैरव दाइको जीवनबाट अनुसरण गरी अघि बढ्दा दिगो शान्ति र नयाँ संविधान निर्माणलाई टेवा पुग्ने छ भने यस्तो काममा प्रेरणा दिने व्यक्ति आदरणीय दाजु भैरव रिसाललाई म मात्र होइन सबैले नजिकबाट चिन्न जरुरी छ ।
(वरिष्ठ पत्रकार भैरव रिसालले पञ्चायतकालकै बेलामा कर्णालीको भ्रमण गरेका थिए । अहिले पनि विकट जिल्लामै गनिएका कर्णालीका हुम्ला, मुगु र डोल्पाको अवस्था त्यतिबेला झन् दर्दनाक थियो । त्यसबेला पनि कर्णालीका हिमाली जिल्लामा पत्रकार रिसालले भ्रमण गरेर कर्णालीबासीका लागि गरेको महत्वपूर्ण कामका बारेमा वर्तमान कर्णालीका कृषिमन्त्री समेत रहेका चन्द्रबहादुर शाहीले लेखेका लेख रिसालको पुस्तकबाट लिएका हौँ – सम्पादक)