रुकुम पश्चिम : जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर २ रातामाटामा सोमबार बेलुका साढे सात बजे भएको बस दुर्घटनामा परेर घाईते हुनेको संख्या ४० पुगेको छ । घाईते मध्य १० जनाको अवस्था गम्भिर रहेको र चार जनालाई थप उपचारको लागि रिफर गरिएको प्रहरीले बताएको छ ।
गम्भिर घाईते हुनेमा मुसिकोट नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष बिरबल केसी, सोहि वडाका सुशिल थापा, मानबहादुर ओली, सुरेन्द्र भण्डारी, नवराज खड्का, बिमला खत्री र प्रेम केसी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी सोहि वडाका टेकबहादुर बस्नेत, चोपबहादुर बस्नेत र बुधुराम खड्का पनि गम्भिर घाईते भएका छन् ।
गम्भिर घाईते मध्य वडा अध्यक्ष केसी, शुशिल थापा, नवराज खड्कालाई थप उपचारका लागि जिल्ला अस्पतालले नेपालगंज रिफर गरेको छ । मुसिकोट नगरपालिका १ कै बुधुराम खड्कालाई थप उपचारको लागि चौरजहारी अस्पताल रिफर गरिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक डेकेन्द्र शर्माका अनुसार घाईते ४० मध्य ३० जनाको अवस्था आसमान्य रहेको छ भने ५ जना सामान्य उपचारपछि घर फर्किएका छन् । अन्य सबै घाईतेको उद्धार पश्चात जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्वर ५ घर भएका चालक दोज बहादुर भण्डारी भने फरार रहेका छन् ।
जिल्लाको बाँफिकोट गाउँपालिका २ पिपलबाट दुलहि लिएर मुसिकोट नगरपालिका १ घिमानेतर्फ फर्किरहेको ग १ ख २१०९ जन्ती बस दुर्घटनामा परेको हो । बस सडकबाट १ सय मिटर तल खसेको बताईएको छ । घाईतेहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए ।