काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ९ सय नाघेको छ । बुधबार एकैदिन १२९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ९ सय नाघेको हो । बुधबार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा नयाँ संक्रमित भेटिएका हुन ।
यससँगै कूल संक्रमितको संख्या ९ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरु सबै सप्तरीका हुन् ।
कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौंडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा पोजेटिभ देखिएको छ । दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामो पोजेटिभ देखिएको हो । बाँकेको भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।
बुधबार कर्णालीमा पनि १५ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा बुधबार संक्रमण देखिएकामध्ये पुरुष ८०५ र महिला ९६ रहेका छन् । यसमध्ये १ सय ८३ जना उपचारपछि निको भएर घर फर्किएका छन भने पाँच जनाको ज्यान गएको छ ।