जाजरकोट । रुकुम पश्चिम सोतीको जातीय विभेदको घटनाका विषयमा आन्दोलन चर्किएपछि कर्णाली प्रदेशका दलित सांसद जाजरकोट पुगेका छन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी कर्णाली प्रदेश सचेतक सीता नेपाली, प्रदेशसभाको सामाजिक विकास समितिकी सभापति राजु नेपाली लगायतका पाँचै जना सांसद बुधबार राती जाजरकोटको खलंगा पुगेका हुन ।
सांसद नेपालीद्धयका साथमा रुकुम पश्चिमकै सांसद रातो कामी, मुगुका सांसद दानसिंह परियार र नेपाली कांग्रेसकी सांसद झोबा विक जाजरकोट पुगेर पीडितका आफन्त, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायत सरोकारवालाई भेटेर पीडितलाई न्याय र दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।
यसअघि कर्णाली प्रदेशसभा बैठकमा पनि उनीहरुले रुकुम घटना छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेका थिए । कर्णाली प्रदेश सरकारले उनीहरुका माग नसुनेपनि संघीय सरकारले गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
घटनालाई राजनीतिकरण गर्ने प्रयास भएका बेला कर्णालीका सबै दलित सांसद एकसाथ जाजरकोट पुगेका हुन । गएको शनिबार राती प्रेमिका शुष्मा मल्ललाई विवाहका लागि भगाउन रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती गएका जाजरकोट रानागाउँका नवराज विक लगायत ६ जनालाई स्थानीय वडाध्यक्ष डम्बर मल्ल लगायतले कुटेर हत्या गरी भेरी नदीमा फालेका थिए ।
भेरी नदीमा फालिएकामध्ये नवराज विक, टीकाराम सुनार, लोकेन्द्र सुनार र गणेश बुढाको शब भेटिएको छ । बाँकी दुई जना अझै बेपत्ता छन । प्रहरीले गोताखोरको टोली लगाएर शबको खोजी गरिरहेको छ । वडाध्यक्ष मल्ल, युवतीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल लगायत २० जनाविरुद्ध पीडितले किटानी जाहेरी दिएका छन ।
यो पनि पढ्नुहोस:
उच्चस्तरीय छानबिन समिति बनाउन सांसद नेपालीको माग