वीरेन्द्रनगर : कर्णाली प्रदेशका विभिन्न जिल्ला अन्तर्गतका स्थानीय तहहरुमा कृषि क्षेत्र विकास कार्यक्रम विस्तार गरिएको छ । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास अन्तर्गत सञ्चालित कृषि क्षेत्र विकास कार्यक्रमले कर्णालीमा पनि कार्यक्रम विस्तार गरेको हो ।
कृषि क्षेत्र विकास कार्यक्रमका संयोजक भोजराज सापकोटाका अनुसार हुम्ला र डोल्पा बाहेकका ४७ वटा पालिकामा यो कार्यक्रम सञ्चालन हुनेछ । त्यसका लागि कृषि क्षेत्र विकास कार्यक्रमबीच समझदारी समेत भइसकेको छ भने यस कार्यक्रम अन्तर्गत पालिकामा सामुदायिक कृषि प्रसार सेवा केन्द्र स्थापना गरिरहेको छ ।
संयोजक सापकोटाले चालु आर्थिक बर्ष २०७८÷०७९ मा विभिन्न पालिकामा गरी थप ४३ केन्द्र स्थापना गर्ने लक्ष्य लिएको उनले जानकारी दिए । यस कार्यक्रमले नाफामूलक कृषि मूल्य श्रृङ्खला बाली वस्तुको पहिचान तथा छनोट, बाली वस्तुको मूल्य श्रृङ्खला विकासको लागि सह–लगानी, मूल्य श्रृङ्खला प्रत्यक्ष जोडिने सामुदायिक तथा सार्वजनिक पूर्वाधार निर्माणमा सह–लगानी, ग्रामीण वित्तीय सेवाको विकास, कर्जा पहुँचमा सहजीकरण एवं स्थानीय तहमा सहभागितामूलक तथा बहुपक्षीय कृषि प्रसार सेवाको संस्थागत विकासमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।
यस कार्यक्रम अन्तर्गत कृषि बालीवस्तु, पशुपन्छी र माछाको नयाँ जात र नश्लहरुको परीक्षण तथा प्रदर्शन गर्ने, आधुनिक प्रविधिको परीक्षण तथा प्रदर्शन, आधुनिक, खेती लागत कार्यबोझ न्यूनीकरण गर्ने कृषि औजार उपकरणहरुको परीक्षण तथा प्रदर्शन गर्ने, कृषि बालीवस्तु, पशुपन्छी र माछा सम्बन्धी सामूहिक तालिम दिने लगायतका कार्य हुनेछन् ।