काठमाडौं : मंसिर १६ गते बिहिबार जाजरकोटका सुरेन्द्र सुमनले आफ्नो सामाजिक सञ्जालबाट एक बालिकाको उपचारका लागि सहयोग गर्न अनुरोध पोष्ट गरे । ती बालिका थिइन् जाजरकोटको बारेकोट गाउँपालिका २ ध्यारगाउँकी पाँच महिने बविता गिरी ।
बविताको मेरुदण्डमा जन्मजात मासुको डल्लो पलाए छ । परिवारमा आर्थिक अवस्था कमजोर भएकै कारण अहिलेसम्म उनको उपचार हुन सकेको छैन । उपचारका लागि कुनै निकायले चासो पनि देखाएन । नत स्थानीय तहले नत विपन्नको नाममा डलर कमाउने संस्थाले ।
परिवारमा आर्थिक अवस्था यतिसम्म कमजोर कि उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लिन भाडा समेत थिएन बविताका बुवा नन्दलालसँग । यस्तो अवस्था देखेपछि सुरेन्द्र सुमनले तत्काल पाँच हजार सहयोग गरे । र, सहयोग अभियानमा जुट्न आग्रह गरे ।
उनको आग्रहसँगै सहयोगी हातहरु पनि बढ्दै गए । बुधबार सुरेन्द्र सुमनले दिएको जानकारी अनुसार, बविताको उपचारका लागि क्यानाडियन नागरिक जग्तार साहोताले २ लाख ५ सय १२ रुपैयाँ सहयोग गरेका छन् । त्यो पनि सुमनकै पहलमा । यसअघि सुमनले व्यक्तिगत रुपमा पाँच हजार सहयोग गरेसँगै उनले चलाएको जाजरकोट ग्यालरीबाट ८ हजार ३ सय ४४ रुपैयाँ सहयोग गरे । सहयोगी मनहरु जुट्न थालेपछि बविताको उपचार हुने आशा पलाएको छ । उपचारका लागि तयारी भइरहेको छ ।
यस्तै केही दिनअघि मात्रै सुरेन्द्र सुमनले आफ्नो युट्युबमार्फत एक भिडियो पोष्ट गरे । जुन भिडियो जाजरकोट भेरी नगरपालिका-३ पिपलडाँडा बस्दै आएकी ५८ वर्षीय बेसहारा सुकिला नेपालीको थियो । निकै पीडादायक भिडियो थियो । सुकिलाको नत बस्नलाई बास थियो नत खानाको लागि गास । त्यो भिडियो हेरेर क्यानडा बस्दै आएका भुटानी नागरिकले राहत सामग्री सहयोग गरेका छन् ।
सुमनले दिएको जानकारी अनुसार, नाम नखुलाउने सर्तमा उनले १६ हजार ६ सय रकम सहयोग गरेका छन् । भुटानी नागरिककै इच्छा अनुसार, सुकिलालाई चामल, दाल, तेल चाउचाउ, तातो लुगा, धोती, कुर्ता, ज्याकेट, स्विटर जुत्ता, मोजा, ट्राउजर लगायतका अन्य आवश्यक सामग्री घरायसी खर्च, उपचार खर्चका लागि नगद रकम सोमबार सुमनले सुकिलालाई बुझाएका छन् ।
यस्तै नेदरल्यान्डबाट पन्जाले पनि सुकिलाका लागि १ हजार ३ सय ७५ पठाएको सुमनले जानकारी दिए । त्यो रकम पनि सुमनले सोमबार नै बुझाएका हुन् । त्यसले गर्दा टहरोमा रातदिन बिताइरहेकी सुकिलालाई ठुलो राहत मिलेको छ ।
यति मात्रै होइन जाजरकोट बारेकोटका हरेक विपद्मा सुमन पुगेका हुन्छन् । सुरेन्द्र सुमन लामो समय पत्रकारिता गरेका व्यावसायिक पत्रकार हुन् । उनको वास्तविक नाम भने सुरेन्द्रबहादुर सिंह । घर जाजरकोट बारेकोट जिरीमा पर्छ ।
जाजरकोटबाट पत्रकारिता थालेका सुमन कान्तिपुर टेलिभिजन लगायत काठमाडौँका आधा दर्जन टेलिभिजनमा काम गरेको अनुभव छ । उनी एक व्यावसायिक युट्युबर हुन् । आफ्नो युटयुब प्लार्टफर्म आईएम सुमनमार्फत कर्णालीका कथा व्यथा देखाइरहेका हुन्छन् ।
साथै मेरुदण्डमा मासुको डल्लो पलाएकी पाँच महिने बालिका बविता गिरीको उपचारका लागि सहयोग गर्न बुवा नन्दलाल गिरीको कृषि विकास बैंक बारेकोट शाखा खाता (०७२६४०१६७१००५०१९ ) सार्वजनिक गरिएको छ ।