जाजरकोट । अन्तरजातीय प्रेम विवाहका लागि ज्यान गुमाएका जाजरकोटका नवराज विकसहित तीन जनाको आज सामूहिक अन्त्येष्टि गरिदैछ । गएको शनिबार विवाहका लागि रुकुम पश्चिमको सोती पुगेका नवराजसहित चार जनाको हत्या भएको थियो ।
दुई जनाको शब आइतबार, एक जनाको सोमबार र अर्का एक जनाको शब हिजो बुधबार भेटिएको थियो । अझै दुई जना बेपत्ता छन । रुकुम पश्चिम सोतीका स्थानीयको कुटपिटबाट मारिएका जाजरकोट रानागाउँका नवराजसहित टीकाराम सुनार र गणेश बुढाको बिहीबार भेरी नदी किनारामा अन्त्येष्टि गर्न लागिएको हो ।
लोकेन्द्रको शब हिजो मात्रै भेटिएको र आज पोष्टमार्टम गरेपछि मात्रै अन्त्येष्टि गर्ने तयारी छ । घटनामा अझै दुई जना बेपत्ता छन । बेपत्ता गोविन्द शाही र सन्जय विकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
दलित सांसदको भूमिकामाथि प्रश्न
रुकुममा हत्या गरिएका जाजरकोटका चारै जनाको पोष्टमार्टम रिर्पोट आउन बाँकी छ । यसअघि घटनाको छानबिन हुनुपर्ने भन्दै आफन्तले शबको पोष्टमार्टम गर्न दिएका थिएनन् । तर शब कुहिने अवस्थामा पुगेपछि र प्रहरी प्रशासनले अनुसन्धान तथा सरकारले छानबिन समिति गठन गरेपछि उनीहरुले पोष्टमार्टम गर्न दिए ।
तर घटना घटेको ५ दिन बितिसक्दा पनि पोष्टमार्टम रिर्पोट आएको छैन । ढिला गरी गरिएको पोष्टमार्टम रिर्पोट नआउँदै शबको अन्त्येष्टि गरिनु अर्को दुःखद पाटो बनेको छ । चारै जनाको धारिलो हतियार प्रहार गरेर हत्या भएको प्रमाणहरु देखा परेका छन ।
तर अस्पताल र प्रहरीले पोष्टमार्टम रिर्पोट सार्वजनिक गरेको छैन । पोष्टमार्टम रिर्पोट सार्वजनिक नगर्दै शबको अन्त्येष्टि हुनु प्रमाण नष्ट गर्नु हो । जसले थप मुद्दा कमजोर बन्ने र निर्मला हत्याकाण्डजस्तै रहस्यमय बन्ने खतरा बढेको छ ।
साथै घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीका लागि भन्दै जाजरकोट पुगेका दलित सांसदमाथि पनि प्रश्न उठेको छ । घटनाका आरोपितलाई पूर्वगृहमन्त्री जनार्दन शर्माले सरंक्षण गरेको आरोप लागिरहदा कतै शर्माकै आग्रह र निर्देशनमा बहुसंख्यक नेकपाका दलित सांसद पनि प्रमाण नष्ट गर्न सहयोगी बन्दै त छैनन् ? प्रश्न उठेको छ ।
घटना झन रहस्यमय बनाउने कोसिस भइरहेको पीडित पारिवारका आफन्त र दलित अधिकारकर्मीको भनाई छ ।
(यसअघि चारै जनाको अन्येष्टि गर्न लागिएको भन्ने शब्द सच्याएर तीन जना बनाइएको छ -सम्पादक)