जाजरकोट । दलित युवाहरुको विभत्स हत्या गरिएका शबको अवलोकन गरेर कर्णाली प्रदेशका सांसदको टोली रुकुम चौरजहारीको सोती घटनास्थलतर्फ हिडेको छ ।
जाजरकोट रानागाउँका पीडित परिवार, मारिएका युवाहरुको शब र हिजो मात्रै भेटिएका बेपत्ता लोकेन्द्र सुनारको शबको अवलोकन गरेर टोली बिहीबार दिउँसो रुकुम पश्चिमको चौरजहारी हिडेको हो ।
जाजरकोटमा सांसदको टोलीले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, पीडित परिवारका आफन्त, स्थानीय र दलित अधिकारकर्मीसँग छलफल गरेर घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरेको थियो ।
साथै कुनै पनि हालतमा दोषीलाई उन्मुक्ति दिन नहुने भन्दै प्रदेश सरकारसँग यसको जवाफ माग गर्ने पनि कर्णाली प्रदेश सांसद दानसिंह परियारले बताए । उनले इमान्दार रुपमा न्याय नपाइए घटनालाई अन्तराष्ट्रियकरण गर्ने चेतावनी समेत दिएका छन । घटनालाई राजनीतिकरण गरेमा पनि त्यसको असर पार्टी र केन्द्रिय नेताहरुलाई हुने पनि परियारको दाबी छ ।
दलित वर्गले व्यवस्था परिवर्तनका लागि जनयुद्ध लडेको तर अहिले सामाजिक परिवर्तन खोज्दा ज्यान गुमाउनुपर्ने बाध्यता आइलागेको भन्दै रुढीवादी मानसिकता पालेकाहरुविरुद्ध उनले आपत्ति प्रकट गरे । नेकपाको कर्णाली प्रदेशका सचेतक तथा सांसद सीता नेपालीको नेतृत्वमा रहेको टोलीमा सामाजिक विकास समितिकी सभापति राजु नेपाली, प्रदेशसभा सांसद रातो कामी, झोवा विक र केही दलित अधिकारकर्मी पनि छन ।
सांसदको टोली रुकुम चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मासहित सोतीमा युवतीको घर पुगेर फर्किने कार्यक्रम छ । गएको शनिबार सोतीमा प्रेमिका शुष्मा मल्ललाई बिहेका लागि भगाउन गएका जाजरकोटका युवा नवराज विकसहित ६ जनाको हत्या भएको थियो ।
हत्यामा सोतीका वडाध्यक्ष डम्बर मल्लसहित युवतीका बुवा आमाको सलंग्नता रहेको आरोप छ । आरोपित सबैलाई पूर्वगृहमन्त्री जनार्दन शर्माले संरक्षण दिएको पनि आरोप लागेको छ । कर्णाली प्रदेशका सांसदको टोलीले सबै घटनाक्रमलाई अध्ययन गरेर प्रदेशसभामा कुरा उठाउने तयारी गरेको छ ।
यो पनि पढ्नुहोस:
कर्णाली प्रदेशका सबै दलित सांसद जाजरकोटमा