जाजरकोट । रुकुम पश्चिमको चौरजहारीस्थित सोतीबाट बेपत्ता जाजरकोट रानागाउँका युवा सञ्जु भन्ने सन्दीप विकको शब भेरी नदीमा भेटिएको छ । बिहीबार जाजरकोटको छेडागाड नगरपालिका १ स्थित कालापहारमा उनको शब भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको टोलीले सञ्जुको शब भेटाएको जिल्ला प्रहरी प्रमुख किशोर कुमार श्रेष्ठले जानकारी दिए । सञ्जुको शब भेटिएसँगै सोती घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । अझै एक जना बेपत्ता छन ।
सोतीमा प्रेमिका शुष्मा मल्ललाई भगाउन गएका जाजरकोट रानागाउँका युवा नवराज विकसहित उनका साथीहरु गणेश बुढा, टीकाराम सुनार, लोकेन्द्र सुनार, सञ्जु विक र गोविन्द शाहीको हत्या भएको थियो । हत्या गरेर भेरी नदीमा फालिएकामध्ये नवराज, गणेश, सञ्जु, टिकाराम र लोकेन्द्रको शब भेटिएको छ । गोविन्द शाहीको शब भने अझै पत्ता लाग्न सकेको छैन ।
नवराज र टीकारामको शब आइतबार, गणेशको शब सोमबार, लोकेन्द्रको शब बुधबार र आज बिहीबार सञ्जुको शब भेटिएको हो । पाँच जनामध्ये नवराज, गणेश र टीकारामको आजै जाजरकोटको शिवालयस्थित भेरी नदी किरानामा अन्त्येष्टि गरिएको छ ।
लोकेन्द्र सुनार र आज भेटिएका सञ्जुको पोष्टर्माटम हुन बाँकी छ । प्रहरीले ६ जनाको हत्या आरोपमा सोतीका वडाध्यक्ष डम्बर मल्ल, शुष्माका आमाबुवासहित १८ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । घटनाका विषयमा छानबिन गर्न सरकारले गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाएको छ ।