वीरेन्द्रनगर : शनिबारदेखि नेकपा (माओवादी केन्द्र) को ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ सुरू भएको छ । माओवादीको सम्मेलन प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको सिटी हलमा सुरू भएको हो । उक्त सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भर्चुअल मार्फत् गरेका हुन् ।
माओवादी केन्द्रको प्रदेश सम्मेलनमा कुल नौसय ६२ जना प्रतिनिधि सहभागी भएका छन् । माओवादी केन्द्रमा कर्णाली प्रदेश समितिको नेतृत्वका लागि आधा दर्जन नेताहरु आकाङ्क्षी देखिएका छन् । सुर्खेतका नरबहादुर विष्ट, सल्यानका टेकबहादुर बस्नेत, रुकुमपश्चिका राजकुमार शर्मा, जाजरकोटका रामदीप आचार्य र कालीबहादुर मल्ल, कालीकोटका महेन्द्रबहादुर शाही लगायतका नेतृत्वका लागि आकाङ्क्षी छन् ।
विष्ट सुर्खेत इन्चार्ज हुन् भने बस्नेत र मल्ल प्रदेश कमिटी सह–इन्चार्ज हुन् । त्यस्तै रुकुमपश्चिमका शर्मा बहालवाला प्रदेश कमिटी अध्यक्ष, जाजरकोटका आचार्य प्रदेश कमिटी सचिव हुन् । कालिकोटका शाही कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री एवम प्रदेश सह– इन्चार्ज हुन् । तिमध्ये शार्मा पुनः अध्यक्षमै दोहो(याउने पक्षमा छन् ।
शर्मा र शाहीलाई पार्टीका संगठन विभाग प्रमुख एवम अर्थमन्त्री जनार्दन शर्माको बलियो साथ छ । तर, प्रदेश कमिटी इन्चार्ज एवम पूर्वमन्त्री शक्ति बस्नेतले जाजरकोटका मल्ल, आचार्य र सल्यानका बस्नेत मध्ये एक जनालाई नेतृत्वमा ल्याउन चाहेको माओवादी केन्द्रले जनाएको छ ।
माओवादीमा कर्णालीबाट १६ जना केन्द्रीय सदस्यहरु छन । प्रदेश इन्चार्ज बस्नेत र संगठन विभाग प्रमुख शर्मा बाहेक १४ जना मध्येबाट एक जनालाई प्रदेशको महत्वपूर्ण जिम्मेवारी दिने माओवादीले तयारी छ ।