काठमाडौँ । नेपाल पत्रकार महासङ्घले जातीय विभेदलाई लिएर पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा ५ व्यक्तिको ज्यान जाने घटना मानव अधिकारविरुद्धको निकृष्ट ज्यादती हुनुका साथै मानवताविरुद्धको जघन्य अपराध भएको ठहर गरेको छ ।
महासङ्घले आज प्रेस विज्ञप्ती जारी गरी मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापित भई जातीय विभेद र छुवाछुतलाई अन्त्य गर्ने घोषणा भइसकेको अवस्थामा भएको रुकुम घटना मानवता विरुद्धको जघन्य अपराध भएको ठहर गरेको हो ।
विज्ञप्तीमा भनिएको छ, “मानव सभ्यतालाई नै कलंकित बनाउने यस किसिमका घटनाले मुलुकमा विद्यमान कानूनी शासनको समेत धज्जी उडाउने र समाज कुन दिशातर्फ जाँदै छ भन्ने प्रश्नसमेत खडा गरेको छ, महासङ्घ जातीय विभेद र छुवाछुतको विषयलाई लिएर घटेको यस घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।”
महासङ्घले सोही घटनाका विषयमा भ्रामक समाचार सामग्री सम्प्रेषण नगर्न र पत्रकार आचारसंहिताभित्र रहेर सत्यतथ्य समाचार सामग्री मात्र सम्प्रेषण गर्न सञ्चारमाध्यम र युट्युव सञ्चालकलाई अपिलसमेत गरेको छ ।
शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी किशोरीसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ । मृतक नवराजको शव भेरी नदीमा भेटिएको थियो । नवराजसँगै केटीको घरमा गएका अन्य तीन चार जनाको शव पनि भेरी नदीमा भेटिएको छ ।
घटनामा अझै एक जना बेपत्ता छन् । निष्पक्ष रुपमा छानविन गरी दोषीलाई हँदैसम्मको कानूनी कारवाही गर्न माग गर्दै संसद् र सडकमा विभिन्न राजनीतिक दलका नेता, अधिकारकर्मी, दलित नागरिक समाज, सरोकारवाला सङ्घ/संस्थाले समेत आवाज उठाउँदै आएका छन् ।