‘आफ्नाहरुको भिडमा एक्लै संघर्ष गर्नुको मज्जा नै बेग्लै हुनेरहिछ बहिनी,’ चटपट बनाउदै गरेको हातलाई एकछिन रोकेर रियाले भनिन् । स्याङ्जाको वालिङ नगरपालिका ८ मा रिया थापा मगरको ठेला छ । आँधी खोलाको पुल तर्ने बित्तिकै उनको ठेला देखिन्छ । अनि टाढैबाट मुसुक्क मुस्कुराएर उनी चटपट तयार पारेर पाहुनाको स्वागत गर्छिन् ।
उनले ठेलामा पानी पुरी र चटपट बनाएर बेच्ने गर्छिन । पानी पुरी र चटपटसँगै आफ्ना ब्यथालाई घोल्छिन । आफ्ना पिडाहरुलाई बहलाउने गर्छिन । भेल बाढी आए पनि शान्त भएर सुस्त सुस्त गतिमा बगि रहेको आँधी खोलाझै पिर ब्यथाका आँधीलाई आत्मसात गर्दै शान्त भएर रिया जिन्दगीको गतिमा छिन् ।
१५ वर्षको उमेरमा १९ वर्ष अघि चापाकोटबाट वैवाहिक जीवनमा बाँधिएर वालिङ आईन उनी । कक्षा ६ मा पढ्दै थिइन् । पढाई पनि राम्रो थियो । पढाई सकेर स्वावलम्बी बन्ने उनको सपना थियो । पढाई राम्रो भएर के गर्नु ? उनको लागि परिस्थिति नराम्रो भैदियो । उनले आफ्ना सपनालाई तिलान्जली दिँदै आमाको निर्णयलाई आत्मासात गरिन् ।
वैवाहिक जीवनको अर्थ बुझ्न नपाउँदै उनी दुलही बनिन् । ‘विवाहको अर्थ नै थाहा थिएन, ’ उनले भनिन् । मेरो जन्म भएको दुई वर्षपछि मेरो बुबा बेपत्ता हुनु भयो अरे । त्यसपछि आमा माईती बस्नु भयो रे । थुप्रै वर्षको पर्खाईमा बुबा नआएपछि मामाहरुले दोस्रो बिहे गरिदिनु भयो अरे । रियालाई च्यापेर उनकी आमा दोस्रो विवाह गरेर दुलाहाको घर लागिन् ।
एक वर्षसम्म आमाले सन्तान नजन्माउन्जेल दोस्रो बुबा भएपनी ठिकै व्यवहार गरे । जब आमाले भाईहरु जन्माइन् । तब उनीमाथी काका बुबाहरुले बतासे बाबु बिनाकी आदि भन्दै दुव्र्यवहार गर्न थाले ।
भाईहरुले गल्ती गरेपनी गाली र पिटाई रियाको भागमा परिहाल्थ्यो । बुबा काकाको कुटपिटबाट निलडाम शरीर लिएर स्कुल पुग्थिन रिया । उनको दैनिकी यति धेरै कष्टकर थियो कि उनी सोचेर पनि त्यसलाई अहिले सम्झन्न चाहन्नन् । तर उनले उत्सुकतापूर्वक प्रश्न राखेपछि पीडाको पोको फुकाइन् ।
दुःखको दोस्रो अध्याय
बुबा र काकाको अत्याचारले आजित भएर आमाले उनलाई १५ वर्षको कलिलो उमेरमा बिहे गर्दिइन् । दुःखै दुःखमा जिन्दगी गुजारिरहेकी रियाको विवाह पछि झन् दुःखका दिन सुरु भए । पतिले रक्सी सेवन गर्थे ।
रक्सीकै लतमा उनले परस्त्री ताके । घरमा आएपछि रियालाई कुटपिट गर्न थाले । सासुको अत्याचार नि उस्तै । घरमा उज्यालो हुदा १० पाथी मकै जाँतोमा पिस्ने उनको दैनिकी थियो । त्यति नगरे सासुको जगल्टाई पिटाई सहनु पथ्र्यो । उनलाई आफ्नो जीन्दगीदेखि घरी घरी धिक्कार लाग्थ्यो । तर उनले हिम्मत हारिनन् ।
यस्तै दुःखका अध्याय चलिरहदा रियाले सन्तान जन्माइन् । तिनको मायाले भएपनी पतिलाई छोडन हुन्न भन्ने सोचेर उनले बाटो मोडिनन् । व्यथा सहने निर्णय लिइन् । कुटपिट सहेर आँशु पिउदै बसिन । रक्सी बनाएर बेच्दै घर खर्च जोहो गर्न उनी पछि परिनन् ।
त्यही पैसा पनि पतिले बलजफ्ती खोसेर लगिदिन्थे । पैसा खोसेर उनका पति अन्य महिलाको ससंर्गमा थिए । घर आईहालेपनि बबण्डर मच्चाउँथे । जिन्दगी जसो तसो चलिरहेकै थियो ।
दुःखको तेस्रो त्रिशुल
यत्तिकैमा रियाका पतिले दोस्रो विवाह गरे । जिन्दगीमा नमिठो बतासले हान्यो । लाग्यो, अब सबै आशा सकियो । उनका लागि आकाश खसेजस्तै भयो । आकाश त खसेन । तर आँखाबाट निरन्तर आँशु भने झरिरहे ।
उनले जीवनमा सबथोक सहेकी थिइन् । सहनु मात्रै उनको विकल्प थियो । पतिले अर्को विवाह मात्रै गरेका थिएनन् । घरमा पनि ल्याए । यो उनको लागि सबैभन्दा पीडादायी क्षण थियो । अब उनीसँग सहन सक्ने धैर्यता रहेन । सम्बन्ध बिच्छेदका लागि प्रहरीमा उजुरी दर्ता गरिन् ।
घर खर्च चलाउदा लागेको एक लाख १० हजार रुपैयाँ ऋण आफै तिर्ने सहमतिसहित सम्बन्ध बिच्छेदको कागजमा रियाले हस्ताक्षर गरिन् । त्यतिबेला सम्झिन्, त्यो विवाह । विवाहका लागि त्यो हदसम्मको पीडा । आगोको ज्वालालाई साक्षी राखेर गरिएको विवाह । त्यो विवाहले दिएको खुशी र पीडा । अनि अहिले एउटा कागजमा लेखिएको सहमतिको शब्द र जीवनको उत्तराद्र्ध । साच्चिकै यो जति अनौठो थियो, त्यत्तिकै पीडादायी पनि ।
‘अग्नि राखेर जोडिएको सम्बन्ध अदालतमा सम्बन्ध बिच्छेदको कागजमा हस्ताक्षर गरेसँग सकियो । आखिर छुट्नु नै रहेछ यति धेरै कुटपिट, यातना र पीडा नभोगी छुटया भए हुनेरहेछ,’ रियाले डिभोर्स पीडा भनिन् ।
छोराछोरी, समाज, इज्जत भनेर पनि रियासँग सहनुको विकल्प थिएन । आखिर जिउने आफुले रहेछ । भोग्ने आफैले रहेछ । यति बुझ्न बुझ्न रियाले १६ बर्ष कुटाई खानु पर्यो । सम्बन्ध बिच्छेद गरेसँगै छोराछोरी च्यापेर वालिङ बजार झरिन् रिया । दुई वर्षसम्म घर बनाउने ठाँउतिर ज्यामी काम गर्न थालिन् ।
अलिकति पनि बिचलित नभैकन निरन्तर काम गरिरहिन् । बच्चाहरुको स्कुललाई निरन्तरता दिन स्कुल भर्ना गराइन् । अहिले जेठी छोरी १२ कक्षामा पोखरा राखेर पढाउँदै छन् । सम्बन्ध बिच्छेद गरेपनि पतिले पिडा दिन त कहाँ छोडथे र ? कान्छी छोरिलाई स्कुलबाट थाहा नै नदिई लगे ।
त्यतिबेला उनलाई पीर पर्न सम्म पर्यो । जब छोरिलाई भुतपुर्व पतिले लगेको थाहा पाइन् । उनको मन बेचैन बनेको थियो । तर उनका पतिले छोरी ल्याउन दिएनन् । जसोतसो उनले आफ्नो मुटुको टुक्रा फिर्ता ल्याइन् ।
छोराछोरीको अनुहार हेरेर नै जिन्दगी जिउने हिम्मत आउँछ रियालाई । जीवन त तितो मिठो भोगाईको सम्मिश्रण न हो ।
‘दुई बर्ष ज्यामी काम गरेर नानीहरू पढाउदै श्रीमानसँग रहँदाको एक लाख दस हजार रुपैयाँ ऋण तिरे । अहिले एक वर्ष भयो यो ठेला चलाउन थालेको । यसैबाट घर भाडा छोराछोरी पढाई खर्च खान सबै पुगेको छ,’ उनले भनिन् ।
भोगाई र बुझाईको फरकमा जीन्दगीको परिभाषा
उनको दैनिकी ठेलासँग गुज्रिरहेको छ । कुनै यातना छैन । पीडा छैन । यसैले उनको बुझाई छ, अचेल जिन्दगी गज्जबले चल्या छ । भन्न पो सजिलो छ । उनले यहाँसम्म आउनका लागि कति दुःख झेलिन् । कति कुटाई खाइन् । कति पीडा सहिन् । त्यो उनलाई मात्रै थाहा थियो । तर ओठमा मुस्कान ल्याएर जीन्दगी गज्जबले चल्याछ भनिरहदा आँखाका डिलमा आँशुका ढिक्का परेलीसम्म आइपुगेका थिए ।
झर्नै लागेका आँशु पछ्यौराले लुकाई लुकाई पुछेर उनले जीवनको भोगाई, दुखाई र बुझाईको आन्तर्य खोलिन् । ‘छोराछोरीलाई भनेजस्तै खान लाउन दिन सक्या छु । कुटपिट सहनु पर्या छैन । आफ्नो मिहेनत गरेर कमाएर खाँदैछु,’ हसिलो मुद्रा पारेर रियाले थोरै भएपनि सन्तुष्टिको भाव राखिन् ।
तर उनको जीन्दगीको बुझाई कहाँ यति मात्रै छ र ? हिजोजसो तसो खुशीको लागि दुःख र पीडाको जीन्दगी गुजारिन् । अब छोराछोरीको आशा र भरोसा छ । तर यो कुरा कहिलेसम्म भन्ने पक्का छैन । अनि त्यसपछि के गर्ने ? सबैले सबैको खुशी त कहाँ सँधैसम्म राखिरहन्छन् र ? उनमा पनि यो अन्यौलता लुकेको छ ।
‘कहिलेकाही धेरै नराम्रो लाग्छ । दुई छोराछोरी अध्ययनका लागि टाढा छन् । कान्छी छोरी बुवासँगै नारायणगढ बस्छिन्,’ रियाले पीडाको अर्को भारी फुकाल्दै भनिन्, ‘बिरामी हुँदा धेरै गाह्रो हुने रहिछ । म मरि गए भने छरछिमेकिले थाहा पाएर खबर गरेपछि बल्ल थाहा होला माइतीमा आमालाई । आमा आउँदासम्म मेरो लास नै कुहिएको हुन्छ होला । केही छैन बहिनी जिन्दगी जिउने भनेको आफू स्वयंले हो ।’
यति भन्दा उनका आँखा घरी आँधी खोला तिर जान्थे । घरी चटपट पसलतिर । आखिर जीन्दगी भनेकै जन्म र मृत्युको दोसाँध त रहेछ नि । समग्रमा बुझाई पनि यस्तै होला ।
‘अरुको चिन्ता नगरेको भए मैले धेरै राम्रोसँग जीवन जिउन सक्थे । आफ्नो जिन्दगी आफ्नै मेहेनतका साथ सुन्दर तरिकाले जिउन सक्ने थिए’, उनले भनिन्, ‘बिचार नै नमिलेपछि एकजनाले मात्रै सम्बन्ध जोगाउन खोजेर नहुने रहेछ बहिनी ।’
उनले त्यही भएर एक्लै जिउने निर्णय गरेकी हुन् । भन्छिन्, ‘अहिलेसम्म मागेर खानु परेको छैन । छोरा मान्छे बिना जिउन सक्दैनन भन्ने मान्छेहरुको सोचाई देखि दया लागेर आउँछ । तीन वर्ष भयो श्रीमानसँग छुट्टिएर जिन्दगी चलाउन सहज भएको छ ।’