सिमकोट : नेपाल र चीनको सीमाना हिल्सामा तापक्रम माइनस १७ डिग्रीमा झरेपछि धाराको पानी निकाल्न तातोपानी खन्याउनु पर्ने भएको छ । पछिल्लो हिमपातसँगै चिसो बढेपछि तापक्रम माइनसमा झरेको कारण पानीका धारामा बरफ जम्ने गरेको हो ।
हिल्सामा तेस्रो पटकको हिमपातपछि तापक्रम माइनसमा झरेको धाराको पानी निकाल्न तातो पनि तताएर खन्याउने गरिएको हो । चिसो बढेपछि हिल्साको जनजीवन प्रभावित भएको छ ।
हाल हिल्सामा सिमा सुरक्षा चौकीका सशस्त्र प्रहरीका सुरक्षाकर्मी र छ जना हिल्सावासी बस्दै आएका छन् । स्थानीय पनि हिल्साका एक दर्जन भन्दा बढी होटेल कुर्नका लागि बसेका हुन् ।
चिसोले कर्णाली नदीमा बरफ जमेर पानी नै नदेखिने गरेको जानकारी दिए । चिसो बढेपनि सुरक्षाकर्मीहरुले आफ्नो गस्तीलाई भने जारी राखेका छन् । धारामा पानी जम्न थालेपछि तातो पानी उमालेर खन्याउनु पर्ने बल्ल पानी खस्ने बताउँदै यो कार्य दैनिक दिन गर्नु परिरहेको छ ।
यसअघि माइनस १२ डिग्री सेल्सियससम्म पुगेको भएपनि शनिबार बिहान झन बढेको हो । हिल्सा कर्णाली नदीको खोचमा भएको कारण दिउसो दश बजे पछि मात्रै घाम लाग्ने र दिउँसो दुई बजेपछि अस्ताउने गर्छ ।
घाम अस्ताएपछि बाहिर निस्कन कठिन हुने भएको कारण बाक्ला र ऊनका कपडा लगाएर बस्नु परि रहेको छ । वर्ल्ड लिंक कम्युनिकेसन्सको इन्टरनेटले सम्पर्कमा सहजता बनाएको हो ।
चिसो कै कारण सुरक्षाकर्मी र स्थानीय घरभित्रै दाउरा बालेर बस्नु पर्ने अवस्था सृजना भएको स्थानीयको भनाइ छ । चुल्होमा पकाएर केही बेर भाँडोमा राखिएको दाल तथा तरकारी समेत जम्न गरेको छ ।
नाम्खा गाउँपालिका भरी तापक्रम माइनसमा झरेको छ । यता सदरमुकाम सिमकोटमा पनि शनिबार बिहान तापक्रम माइनस सात डिग्रीमा झरेको छ । जताततै बरफ जम्ने गरेको देखिन्छ । यसरी उत्तरी हुम्लामा आगामी फागुन महिनासम्म तापक्रम माइनसमा रहनेछ । यसअघि हुम्लाको तापक्रम माइनस २२ डिग्रीसम्म पुगेको थियो ।