काठमाडौं: चलचित्र‘फिच्यो’ अर्थात् ‘कान्छी छोरी’ को विशेष प्रदर्शन हुने भएको छ । सार्वजनिक प्रदर्शन अगाडि फिल्मको नेपाल र अमेरिकामा एकसाथ विशेष प्रदर्शन गर्न लागिएको निर्देशक विकास घले गुरुङले बताए ।
‘स्वदेश तथा विदेशबाट फिल्मको माग भइरहेको छ’ निर्देशक विकासले भने, ‘फिल्मको रिलिज माहोल बन्न नसकेकोले केही विशेष प्रदर्शन गर्न लागेका हौं ।
उक्त फिल्म नेपाली, अंग्रेजी र गुरुङ गरेर तीन भाषामा निर्माण भएको छ । निर्देशक अनुसार गुरुङ र तमुहरुको महान चाड ल्होसारको अवसर पारेर पुस ३ गते काठमाडौंको रानीदेवी पार्टी प्यालेस र यही अवसर पारेर अमेरिकामा युनाइटेट गुरुङ एसोसियसन अफ अमेरिका (युजिएसए) ले फिल्मको विशेष प्रदर्शन गर्न लागेको हो । विशेष प्रदर्शनमा सबैलाई सहभागी हुनु विकासले अनुरोध समेत गरेका छन् ।
फिल्ममा विश्वास गुरूङ, ईन्द्र घले (काशी), टिकाराम घले, सीता देवी गुरुङ, डीबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुबेदार मन्त्री जङ गुरुङ, अन्जना गुरुङ, पेम्बा छिरिड शेर्पा लगायतको अभिनय छ ।
गुरुङ समुदायको रीतिरिवाज, भेषभुषा, चालचलन सहितको कथावस्तु बोकेको फिल्म स्वदेशका आकर्षक लोकेसनमा छायाङ्कन भएको छ ।