फाइल फोटो
काठमाडौं : नेपाली कांग्रेस १४ औं महाधिवेशनको दौडानमा छ । नेतृत्व चयन प्रक्रियाको चुनावी रस्साकस्सी चलेकै छ । विभिन्न नेताहरु प्यानलमार्फत मैदानमा उत्रिसकेका छन् । सभापतिका लागि पाँच जना मैदानमा छन् ।
प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह, कल्याण कुमार गुरूङ, विमलेन्द्र निधि सभापतिका लागि चुनावी मैदानमा उत्रिएका हुन् ।
जसमध्ये देउवा र कोइरालाले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । यसबीच कर्णालीबाट पनि उपसभापतिदेखि सदस्यसम्म उम्मेदवारी दर्ता गराएका छन् ।
उपसभापतिका लागि देउवा प्यानलबाट पूर्णबहादुर खड्काले उम्मेद्वारी दिएका छन् भने देउवा प्यानलबाटै पिछडिएको सहमहामन्त्रीका लागि कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही उम्मेद्वारी दिएका छन् ।
कति चुनौती ?
पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीको एक सिटमा तीन जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवार हुम्लाबाट प्रतिनिधित्व गर्दै जीवनबहादुर शाही, बाजुराबाट प्रतिनिधित्व गर्दै बद्री पाण्डे र बझाङबाट प्रतिनिधित्व गर्दै चेतराज बजाल छन् ।
बजाल बझाङको जयपृथ्वी नगरपालिकाको मेयरमा एमालेका उम्मेद्वार विरेन्द्र खड्कासँग पराजित भएका थिए । उनले कांग्रेसमा लामो समयदेखि राजनीति गर्दै आएका छन् । पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीको उम्मेदवारी दिएपनि उनी कमजोर मानिन्छन् ।
पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीका लागि जीवन शाही र बद्री पाण्डे बलिया उम्मेदवार हुन् । यसकारण देउवा प्यानलबाट शाही छन् भने कोइराला प्यानलबाट पाण्डे छन् ।
चेतराज बजाललाई जीवन शाहीले चुनौती दिन पनि सक्छन् तर पाण्डेलाई भने मुस्किलै छ । बद्री पाण्डे जीवन शाहीविरद्धका बलिया उम्मेदवार मानिन्छन् । नेविसंघबाट राजनीति यात्रा सुरु गरेका पाण्डेले बाजुराको नेविसंघ सभापति हुँदै नेविसंघ केन्द्रीय महामन्त्री समेत भए ।
त्यति मात्रै होइन उनी अहिले देउवा प्यानलबाट महामन्त्रीका उम्मेदवार प्रदिप पौडेलसँग नेविसंघको सभापतिमा पराजित भएका थिए । दोस्रो संविधान सभाका समानुपातिक सांसददेखि पाण्डे २०७४ सालको चुनावपछि राष्ट्रिय सभा सदस्य समेत भए ।
यसअघिका दुई महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भइसकेको पाण्डे अहिले केन्द्रीय सदस्य छन् । उनको पार्टी भित्रको योगदान र युवा माझ लोकप्रियता पनि कायम छ । त्यसैले पनि जीवन शाहीका लागि ठुलो चुनौती छ ।
यसो भन्दै गर्दा जीवन शाही बद्री पाण्डेका अगाडि कम भने होइनन । अमेरिकाबाट पाइलट कोर्स पुरा गरे । एयर हाँक्न छोडेर २०४६ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा होमिए हुन् ।
त्यति मात्रै भएको भएत बद्री पाण्डेका अगाडि जीवन शाहीको राजनीति यात्रा कमै हुन्थ्यो । बद्री पाण्डेले पनि राप्रपाका पराजित अध्यक्ष कमल थापाले राजेन्द्र लिङदेनलाई भने जस्तै हुन्थ्यो । ‘राजनीतिमा म भन्दा जुनियर हो’ ।
तर, जीवन शाही त्यतिसम्म छैनन । उनी नेपाली कांग्रेस हुम्लाको संस्थापक सभापति भए । र, ०४६ सालदेखि ०६२ सम्म हुम्लाको पार्टी सभापतिमै रहे ।
२०४९ सालको स्थानीय निर्वाचनमा जिल्ला विकास समितिको सभापतिमा पराजित भएका शाही २०५५ सालमा भएको स्थानीय निर्वाचनबाट सभापतिमा निर्वाचित भए ।
०६४ मा भएको पहिलो संविधान सभाको निर्वाचनमा उम्मेदवार बने । त्यतिबेला माओवादीका उम्मेद्वारसँग पराजित भएका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । ०७० को भएको दोस्रो संविधान सभामा हुम्ला जिल्लाबाट निर्वाचित सांसद हुन् ।
२०७३ सालमा देशको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री र खानेपानी मन्त्री भए । ०७४ को निर्वाचनमा हुम्लाबाट नेकपाको गठबन्धनबीच पनि कर्णालीमा कांग्रेसबाट निर्वाचित एक्लो सांसद भए । त्यति मात्रै होइन अहिले कर्णाली सरकार हाक्ने जिम्मा उनकै हातमा छ । अर्थात् मुख्यमन्त्री छन् ।
देउवा प्यानलबाट पिछडिएको क्षेत्रका सहमहामन्त्रीको उम्मेद्वार बनेका जीवन शाही बलिया र जित्ने सम्भावनाका उम्मेद्वार मानिन्छन् ।
उनका लागि सम्भावनासँगै चुनौती पनि छ । पौडेल खेमामा रहेका बद्री पाण्डे कोइराला प्यानलका उम्मेदवारसँगको चुनावी लडाइँ पनि कमको छैन ।
जीवन शाहीलाई बझाङबाट प्रतिनिधित्व गर्ने चेतराज बजालसँग भन्दा बाजुराबाट प्रतिनिधित्व गरेर मैदानमा उत्रिएका बद्री पाण्डेसँग भिड्न चुनौती छ ।