नेपालमा हरेक १० वर्षमा हुने जनगणना यस वर्ष सम्पन्न भएको छ । नेपाल जनगणना २०७८ अन्तर्गत नेपालका सबैभन्दा लोपोन्मुख समुदाय राउटेको पनि जनगणना भएको छ । राउटे समुदायको जनगणना चुनौतिपूर्ण काम हो । सख्या थाहा पाउन सजिलै हुने भएपनि उनीहरुको बढ्दो परिवर्तित शैली र गोपनियताको संस्कारबारे वास्तविकता खोतल्नु चुनौतिपूर्ण मानिन्छ । त्यसमाथि १० वर्षमा एकपटक गणना गरिने राउटे समूदायको संख्याबारेको जनगणना उनीहरु स्वयंमका लागि पनि नौलो र फरक काम हो । प्राय वर्षैपिच्छे नयाँ नयाँ ठाउँमा सरिरहने राउटे समुदायको संरक्षण र उनीहरुको भविष्यबारे चिन्ता थपिएका बेला ऐतिहासिक रुपमा राउटे समुदायको गणना गरेका गणक तथा अधिकृत धर्मराज ढकालसँग कर्णालीखबरका लागि सल्यान संवाददाता दुर्गा विसीले गरेको अन्तर्वार्ताको सम्पादित अंशः
गणना गर्न जाँदा के के सोच्नु भएको थियो ? कति गणकको टोली थियो ?
जनगणनाको समयमा हाम्रो गणना क्षेत्रमा राउटेहरुको बसोबास रहेकोले उनीहरुको गणना हामीले गर्नुपर्ने भयो । राष्ट्रिय जनगणनामा लोपोन्मुख समुदायको गणना गर्न पाउनु एउटा अवसर थियो भने अर्कोतर्फ गणनाको लागी राउटे समुदायलाई राजी बनाइ आवश्यक तथ्याङ्क संकलन गर्ने चुनौती महशुस भएको थियो । यस गणना कार्यका लागी म लगायत सो गणना क्षेत्रमा तथ्याङ्क संकलनका लागी खटिनुभएको १ जना गणक हुनुहुन्थयो ।
सुरुमा गणनाको थालनी कसरी गर्नुभयो ?
विगत लामो समयदेखि राउटेहरुको रेखदेख तथा व्यवस्थापनका लागी सेडेक नेपालबाट खटिनु भएका लाल बहादुर खत्रीको सहयोगमा प्रारम्भिक जानकारी लिएपश्चात उहाँकै सहयोगमा राउटे मुखिया तथा अन्य राउटेहरुसंग जनगणना र यसको उद्धेश्यबारे जानकारी गराएपश्चात गणनाको थालनी गर्यौ ।
गणना गर्नका लागि छुट्टै प्रश्नहरु तयार थिए या सबैका लागि सोधिने प्रश्न मात्रै थिए ?
जनगणनाका लागी केन्द्रिय तथ्याङ्क विभागले तयार पारेको मुख्य प्रश्नावली मै भएका प्रश्नहरु थिए ।
गणना गर्दा उनीहरुले खुलेर सोधेका प्रश्नको उत्तर दिए या आनाकानी गरे ?
प्रजनन् सम्बन्धी कुराहरुमा उत्तर दिन केही आनाकानी गरे । केही राउटे युवतीहरुले विवाह नगरेरै छोराछोरी जन्माएकोले यस बारेमा उत्तर दिन केही असहज महसुस गरे त्यस बाहेक अन्य प्रश्न उत्तर खुलेरै दिए ।
गणना गर्ने बेलामा के कस्तो समस्या र चुनौति झेल्नुभयो ?
बिशेषगरी महिला परिवारमुली तथा उत्तरदाता भएको परिवारमा गणनाको लागी तयार बनाउन केही कठिनाइ भयो । साथै दिउसोको समयमा घुम्न डुल्ल निस्किने भएकाले कतिपय परिवारमा उत्तरदाता भेट्न समेत मुस्किल भयो। केही उत्तरदाता मदिरा सेवन गरेकाले अन्य व्यक्तीको सहयोगमा तथ्याङ्क संकलन गर्नुपर्यो । साथै बेला बेलामा बसाइसराइ गरिरहने भएकोले जन्मस्थान र केही पाको उमेरका राउटेहरुको उमेर तथा विवाह गरेको उमेर एकिन गर्न कठिनाइ भयो । साथै मृत्यु सम्बन्धी प्रश्नमा जवाफ दिन केहिले असहज महशुस गरे।
गणना गर्ने बेला उनीहरुले रक्सी खाएका थिए वा थिएनन् ?
केहिले खाएका थिए ।
गणना गर्ने बेलामा राउटेको समूदायका महिला, बालबालिकाको अवस्था कस्तो पाउनुभयो ?
महिला बालबालिका लगायत सम्पुर्ण राउटे समुदायमा मदिराको लत लागेको छ । बालबालिकाहरुले सानै उमेर देखि नै मदिरा सेवन गर्न सिकेका छन् र विहानदेखि नै मदिरा सेवन गर्ने गरेको पाइयो। सरसफाइको अवस्था कमजोर रहेको छ। केहि बालबालिकामा कुपोषण भएको छ भने चिसो निमोनिया जस्ता कारणले बाल मृत्यु दर धेरै रहेको छ । महिलाहरुले धेरै सन्तान जन्माउने गरेको पाइयो।
उनीहरु पहिलेभन्दा कति फरक भए, कति फेरिए, कति परिवर्तन भए जस्तो लाग्छ ?
पछिल्लो समयमा उनीहरु केही परिवर्तन भएका छन्। आफ्नो समुदाय भन्दा बाहिरको मानिसहरुसंगै सहज रुपमा घुलमील हुने‚ बस्ती छोडेर बाहिर घुमफिर गर्ने‚ बस्ने खाने गरेका छन् । सरसफाइमा पनि केही सुधार भएको छ । चेतनाको स्तरमा केही बृद्धि भएको छ तर आफ्नो परम्पारगत पेशलाई छोडेर मागेर खाने बानीको विकास भएको छ । परनिर्भर भएका छन् र अत्याधिक मदिरा सेवन गर्ने बानीको विकास भएको छ ।
गणना गर्दा थोरैमात्र संख्या बढेको देखिन्छ ? यो जाति साच्चिकै संकटमा परेको जस्तो लाग्छ वा लाग्दैन ?
पछिल्लो ३/४ महिनाका कसैको पनि मृत्यु नभएको र ४ जनाको जन्म भएकाले केहि बढेको देखिएतापनि उनीहरुको संख्या विस्तारै घट्दै गएको छ। अत्याधिक मदिरा सेवनका कारण मृत्यु हनेको संख्या धेरै छ। चिसा‚ निमोनिया जस्ता कारणले धेरै बालबालिकाको मृत्यु हुने गरेको पाइयो । उच्च जन्मदर भएतापनि जन्मेका मध्य करिब आधा सन्तानको मृत्यु हुने गरेको र बढ्दो मदिराको लतले यस जातीको अस्तीत्व बिस्तारै संकटमा पर्दै जाने संभावना देखिन्छ ।
यो जातीलाई कसरी लोपोन्मुख हुनबाट बचाउन सकिन्छ ?
शिक्षा‚ स्वास्थ्य र सरसफाइका क्षेत्रमा विशेष ध्यान दिदै चेतनाको स्तरवृद्धि गराउन तर्फ जोड दिनु पर्छ । साथै उनीहरुको परम्परागत व्यवसायलाइ निरन्तरता दिन तर्फ जोड दिनुका साथै उक्त समुदायमा विकास हुदै गएका खराब बानी तथा अभ्यासहरुलाई न्युनीकरण गर्दै जानुपर्दछ ।
राज्यले के के गर्नुपर्ला ? राउटेले पनि के के कुराको माग गरेका छन् ?
राज्यले प्रदान निर्वाह भत्ता र स्थानिय तह लगायत अन्य संघसंस्थाहरुबाट प्राप्त हुने खद्यान्न तथा लुगालत्ताले उनीहरुलाइ परनिर्भार बनाएको छ र उनीहरुको परम्परागत पेशा संकटमा पर्दै गएको छ । तसर्थ राज्यले उनीहरुको परम्परागत पेशा‚ सिप लाइ उपयोग गदै आत्मनिर्भर बनाउन तर्फ जोड दिनुपर्ने आवश्यक रहेको छ । उनीहरुले प्राप्त गर्ने भत्ता लगायत खाद्यन्न र अन्य सामाग्रीहरुको सहि उपयोग भए नभएको एकिन गरी आवश्यक कार्य गर्नु समेत आवश्यक रहेको छ । राउटेहरुले प्राप्त गर्ने निर्वाह भत्ता समयमै प्राप्त हुनुपर्ने माग गरेका छन् ।
अन्तिममा, राउटेको गणना गर्दा आफूलाई कस्तो अनुभव भयो ? केही सुझाव छन् ?
राष्ट्रिय जनगणना जस्तो महान अभियानमा राउटे जस्तो लोपोन्मुख समुदायको गणना गर्न अवसर प्राप्त भएकोमा गौरवान्वित महशुस भएको छ। लोपोन्मुख तथा बेग्लै पहिचान भएको भएको समुदायमै पुगेर तथ्याङंक संकलन गर्नुका साथसाथै संस्कृति‚ रहनसहन‚ चालचलन‚ अवस्थाबारे‚ जीवनस्तर बारे जानकारी प्राप्त गर्ने अविस्मरणिय मौका प्राप्त भयो ।
र, यो पनि पढौँ