वीरेन्द्रनगर : घडीको सुइले करिब दिनको १२ बजाएको हुन्छ । टल्किँदो घाम । ओइलाएको अनुहार । हातमा हथौडा । साथमा बाँसका बैसाखीसहित गिट्टीसँगै भेटिन्छन् दैलेख ठाटीकाँध गाउँपालिका –१ का १६ वर्षीय लोकेन्द्र विक ।
१६ वर्षको उमेरमा गिट्टीको खादमा भेटिनु लोकेन्द्रको रहर होइन बाध्यता । ०७४ सालतिरको कुरा हो । पढाइ र घर खर्च जुटाउन लोकेन्द्र परदेश गए । अर्थात् कालापहाड ।
भारतको उत्तराखण्ड जाँदा उनको मन उत्साहित थियो । ओठ हाँसोसहित खुलेका थिए । भारत गएर पैसा कमाएर पढाइसँगै बिरामी ‘बा’लाई उपचार गर्ने । आमालाई उपचार गर्ने ।
आमा दीर्घरोगी ‘बा’ पनि त्यस्तै थिए । आमा ‘बा’को उपचारसँगै घर खर्चको जोहो गर्न भारत पुगेका लोकेन्द्रमाथि वज्रपात भयो ।उत्तराखण्डको जोइसिमोड सडकको छेउमै काम गरिरहेकै बेलामा माथिबाट आएको पहिरोले उनको खुट्टा च्याप्यो । टाउकोमा चोट लाग्यो । र, गम्भीर घाइते हुन पुगे ।
उनको भारतमा त्यति उपचार भएन । आफन्त कोही थिएनन । लोकेन्द्रले कसैलाई चिनेका थिएनन । कसैले हेरचाह गरेनन । त्यसकारण उनी नेपाल फर्किन बाध्य भए ।
अपाङ्ग भएर नेपाल फर्किका लोकेन्द्रलाई आमा ‘बा’ले उपचारका लागि ऋणको जोहो गरेर नेपालगञ्जस्थित फिजियो केयर हस्पिटलमा उपचार गरियो ।
तर, आर्थिक अभावकाकारण पूर्ण रुपमा उपचार हुन सकेन । लोकेन्द्रलाई घर ल्याइयो । उपचार पुर्ण रुपमा भएको भए बैसाखीको सहायता विनै हिँडडुल गर्न सक्ने डाक्टरले सुझाव दिएको आमा मैसरा विकले बताइन् ।
‘घरबाट ऋण लिएर गयौं । पैसा हुन्जेल छोराको उपचार गरिदिए । पछि हस्पिटला मान्ठले (अस्पतालका डाक्टर, अन्य सम्बन्धित व्यक्ति) मस्तै (धेरै) पैसा लाक्छ भने । हामीसँग पैसा थेन (थिएन) छोरालाई ल्याएर फर्कियौं’ आमा मैसराले भनिन् ।
‘अझै पैसा भएको भए उपचार हुन्छ रे’, मैसराले थपिन् ‘पैसा छैनन क्यारौं (के गर्ने) छोराको उपचारमा कसैले सहयोग गरेको भए । हाम्रो ईश्वर नै हुनेछन् ।’
आमाको यो चीत्कारले लोकेन्द्रमाथि झन् पीडा थपिँदै गएको छ । साहुको ऋण, बिरामी ‘बा’ आमालाई केही सघाउ होला भनेर गिट्टी कुट्नु बाहेक लोकेन्द्रसँग अर्को विकल्प छैन ।
बिहानै घरबाट निस्किन्छन् । दिनभर गिट्टी कुटेर साँझ घर फर्किन्छन् । बाँसको बैसाखी उनको सहारा बनेको छ । यसै उनी अपाङ्ग थिए । झन् चिसोमा उनका हातले काम गर्न मुस्किल हुने गरेको बताउँछन् । दिनभर लगाएर तीन कट्टा गिट्टी कुट्ने गरेको उनको भनाइ छ । एक कट्टा गिट्टी ८० रुपैयँमा बेच्ने गरेको लोकेन्द्रले बताए ।
‘यतिबेला खुब खुशी हुँदै गएको थिए । यस्तो होला भन्ने मैले पनि सोचेको थिइनँ । किन ? घरको अवस्था हेरेरै इण्डिया गएको हुँ’, लोकेन्द्रले भने, ‘स्कुल पढ्दै थिए । स्कुल जाँदा कापी नहुँने, कमल नहुँने । अब स्कुल गएर पनि के गर्ने । इण्डिया गएर आएपछि कापी कलम पनि किन्ने हुन्छ । घर खर्च पनि चल्छ भनेर गएको थिए । भारत पुगियो । सडककै छेउमा काम गरिरहेका बेला माथिबाट पहिरो आएको पत्तै भएन । त्यहिँ पहिरोमा परियो । पुर्ण रुपमा उपचार गराएपछि डाक्टरले निको हुने आशा देखाएको छ ।’
उपचारका लागि जताततै हारगुहार गरेपनि कसैले पहल नगरेको लोकेन्द्र परिवारको गुनासो छ । चर्को घाम र चिसोकाबीच लोकेन्द्रको गिट्टी कुट्नु बाध्यता बनेको छ ।
साहुको ऋण तीर्नका लागि, बिहान बेलुका हातमुख जोड्नका लागि दैनिक गिट्टीको खादमा हुने गरेको लोकेन्द्रले बताए । लोकेन्द्रको साथमा एक हथौडा । एक जोडी च्यातिएको चप्पल र खलखली बगिरहने दिनमा पसिना रातमा चिसो बाहेक केही छैन ।
आफुलाई उपचार गर्न निकालेको ऋण पनि तीर्न कठिन भएको लोकेन्द्रको भनाइ छ । उपचार गर्ने पैसा आफ्नो शरिर पनि हुने उनको विश्वास छ । १३ वर्षको उमेरमा रहरले होइन बाध्यताले भारत पुगेका लोकेन्द्र अपाङ्ग भएर फर्किए ।
अहिले गिट्टीकै खादबाट उनको चीत्कार सुन्ने कोही छैन । नत स्थानीय सरकार नत असहाय गरिब, दुःखीलाई सहयोग गर्ने निकाय नै । उनको चित्कार न साहुले सुन्छ न घाउले ।