जाजरकोट । सोती घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो काम शुरु गरेको छ । समितिले आज पीडित पक्षसँग भेटघाट गरेर अध्ययन अनुसन्धान शुरु गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
त्यस्तै सो समितिले भेरी नगरपालिका–४ का सञ्जु भनिने सञ्जीव विकको शव स्वास्थ्य सेवा कार्यालयमा पुगेर अध्ययन गरेको छ । सरकारले गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
समितिले बिहीबारदेखि यहाँ आएर काम थालेको हो । उक्त घटनामा जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक सञ्जु विक, गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ । भेरी नगरपालिका–११ का गोविन्द शाही अझै बेपत्ता छन् ।
समितिलाई दलित अधिकारकर्मी सङ्घ र सङ्गठनले निष्पक्ष छानबिन गर्न माग गर्दै ६ बुँदे ज्ञापनपत्र बुझाएका अधिकारकर्मी पार्वती विकले बताइन। उक्त ज्ञापनपत्र बुझदै संयोजक बस्नेतले सरकारले दिएको कार्यादेश आधारमा काम हुने बताए। उनले तोकिएको समयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनेसमेत बताए।
गृहमन्त्री रामबहादुर थापा र वनमन्त्री शक्तिबहादुर बस्नेतले मृतकप्रति हार्दिक श्रदाञ्जलि व्यक्त गरेको र हराएकाहरुको खोजीकार्य जारी रहेको सन्देश पठाएको समेत संयोजक बस्नेतले जानकारी दिए। मृतकको शव हेरेर मात्र अनुसन्धान गर्नुपर्ने पीडित परिवारको मागअनुसार अनुसन्धान थालिएको उनको भनाइ छ ।
आज नै उक्त टोली रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा जाने प्रजिअ पन्तले जानकारी दिए। सो समितिमा गृह मन्त्रालयका सहसचिव बस्नेत, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव वशिष्ट घिमिरे र उपसचिव माधव ढकाल सहभागी रहेका छन् ।
यही जेठ १० गते चौरजहारी नगरपालिका–८ सोतीमा भएको सो घटनामा नवराज विक, टीकाराम सुनार, गणेश बुढामगर, लोकेन्द्र सुनार र सञ्जु विकको शव भेरी नदीका विभिन्न स्थानमा फेला परेको छ भने अर्का एक गणेश शाहीको खोजीकार्य जारी छ । रासस