गलकोटः कोरोना सङ्क्रमणपछि बागलुङको जैमिनी नगरपालिका–१ कुस्मिशेराका गोबिन हमाल युनाइटेड अरब इमिरेटस् (युएई)बाट घर फर्किए । उनि डेढ दशकदेखि युएईमा मजदुरी गर्दै आएका थिए । विदेशबाट फर्केपछि हमाल हाल पशुपालन गर्दै आएका छन ।
“विदेशबाट फर्केपछि भैँसी फार्म खोल्ने निधोमा पुगे”, हमालले भने । उनलाई नयाँ व्यवसाय गर्ने सोच पलायो । भैँसी फार्म खोलेपछि विदेश बिर्सदै गएको हमालको भनाइ छ । हमालको गोठमा हाल ११ भैँसी, एक गाई, २५ बाख्रा र ५० कुखुरा छन् । हमालले कृषि तथा पशु फार्म दर्ता गरेर भैँसी बाख्रा पाल्दै आएका छन । उनले तरकारीखेती समेत गर्दै आएका छन ।
“विदेशमा १५ वर्ष बिताए, कोरोना नभएको भए अझै उतै हुन्थे”, हमालले भने, “अहिले दैनिक ९० लिटर दूध उत्पादन भइरहेको छ, बजारमा आफै लगेर बिक्री गर्छु, विदेशमा भन्दा परिवारसँगै बसेर काम गर्दा निकै आनन्द लाग्यो, अब यही काम गर्छु ।” उनले रु एक लाख ७० हजारदेखि रु एक लाखसम्मका भैँसी खरिद गरेर व्यवसाय सुरु गरेका हुन ।
उनको व्यवसायमा श्रीमती खगी, छोरी विपना र छोरा पवनले सहयोग गर्दै आएका छन । वार्षिक रु २० हजार भाडामा तीन रोपनी जग्गा लिएर हमालले फार्म स्थापना गरेका हुन । “मलाई दूध पुर्याउनै धौधौ परिरहेको छ” उनले भने, “फर्ममा अब भैँसीको सङ्ख्या बढाउँछु, बिक्री नभएको दूधको घ्यु र दही बनाएर बिक्री गर्ने योजना छ ।” हमालले जैमिनी नगरपालिकाबाट घाँस टुक्रयाउने र पानी तताउने औजार अनुदानमा पाएका छन । उनले उत्पादन गर्नुभएका खसी बोकासमेत स्थानीय कुश्मिशेरा बजारमा खपत हुने गरेका छन् । हमालले फार्ममा हालसम्म रु ५० लाख लगानी गरेका छन । उनले मासिक रु दुई लाख ४० हजार आम्दानी गर्दै आएका छन । रासस