जाजरकोट । गृहमन्त्रालयद्धारा गठित उच्चस्तरीय छानबिन समितिले सोती घटनाको विस्तृत अनुसन्धान थालेको छ । तर छानबिन टोलीले काम नथाल्दै सोती घटनामा मारिएका मुख्य व्यक्ति नवराज विक लगायत तीन जनाको शब जलाइएको छ ।
उनीहरु तीन जनाको बिहीबार भेरी नदीको शिवालयमा अन्त्येष्टि गरिएको थियो । अघिल्लो दिन पोष्टमार्टम गरेर भोलिपल्ट अन्त्येष्टि गरिएपनि रिर्पोट सार्वजनिक गरिएको छैन । त्यसमाथि छानबिन टोलीले शब नहेर्दै, अनुसन्धान नथाल्दै शब जलाइनु रहस्यमय ठानिएको छ । शब जलाएको भोलिपल्ट मात्रै छानबिन टोली जाजरकोट पुगेको छ ।
गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको टोलीले शुक्रबार जाजरकोट पुगेर अनुसन्धान शुरु गरेको हो । जाजरकोट पुगेर अनुसन्धान थालेका बस्नेतले शबको प्रकृति हेरेर घटनालाई दस्ताबेजीकरण गर्ने प्रारम्भिक प्रतिक्रिया दिएका छन ।
उनको त्यो प्रतिक्रिया मान्ने हो भने घटनाका मुख्य व्यक्ति नवराज विक, टीकाराम सुनार र गणेश बुढाको शब बिहीबार नै जलाईसकिएको छ । स्थानीयले तीन दिनसम्म शबको पोष्टमार्टम नै हुन नदिएका बेला एकाएक प्रमाण नष्ट गर्न कसले सघायो ? भन्ने विषयमा चाँसो बढेको छ ।
त्यसमाथि जाजरकोट पुगेकै दिन संयोजक बस्नेतले शबको प्रकृति हेरेर घटनाको निक्र्यौल गर्न सकिने बताएपछि सोती घटना रहस्यमय बन्ने आशंका बढेको छ । यसअघि कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको अनुसन्धान पनि शब जलाएकै कारण प्रभावित भएको थियो ।
निर्मलाको शब जलाउन उनका मामा डोटीबाट आएर भूमिका खेलेको तथ्य सञ्चारमाध्यममै आएको थियो । चरम पार्टीकरण भएको निर्मला हत्याकाण्डजस्तै नवराज हत्याकाण्ड पनि त्यही अवस्थामा पुग्ने हो कि भन्ने डर बढेको छ ।
यद्यपी छानबिन टोलीका लागि अब दुईवटा शब उपलब्ध छन । जाजरकोट रानागाउँकै लोकेन्द्र सुनार र सञ्जु विकको शब भेटिएको छ र जिल्ला अस्पतालमा राखिएको छ । तर घटनाका मुख्य व्यक्ति नवराजको शब जलाउन हतार गर्नुले आशंका उब्जिएको छ ।
शबको प्रकृति हेर्दा सबैभन्दा खराब अवस्थामा रहेका लोकेन्द्र र सञ्जुको डेथ बडीले अनुसन्धानमा सघाउने स्थानीयको दाबी छ । तर संयोजक बस्नेतको शुरुवाती प्रतिक्रियाले तीन जनाको शब जलाईसक्नु, दुई जनाको बाँकी रहनु र एक जना अझै बेपत्ता रहनुले घटनाको वास्तविकता पत्ता लगाउन फेरि अरु कुनै बाहना खोजिन्छ की ? भन्ने आशंका छ ।
जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा प्रेमिका शुष्मा मल्ललाई विवाहका लागि साथीहरु लिएर भगाउन गएका नवराजसहित ६ जनालाई कुटपिट गरेपछि मारेर भेरी नदीमा फालेको आरोप वडाध्यक्ष डम्बर मल्ल र युवतीका परिवारलाई छ । सोही आरोपमा प्रहरीले वडाध्यक्ष मल्ल, युवतीका बुवाआमासहित १८ जनालाई पक्राउ गरेर अनुसनधान पनि गरिरहेको छ ।