सिमकोट : हुम्ला मालपोत कार्यालयमा महिलाको नाममा घर जग्गा लालपुर्जा लिनेको संख्यामा वर्षेनी वृद्धि हुँदै गएको छ । सरकारले जग्गा महिलाको नाममा नामसारी गर्दा राजस्वमा छुटको व्यवस्था गरेपछि पुरुषले नै त्यो कार्यमा सहयोग गर्दै आएका हुन् ।
नयाँ खरिद गरेको जग्गा आफ्नो नाममा लिएकी नाम्खा गाउँपालिका–१ की पासाङ लामाले पहिलो पटक लालपुर्जा हातमा आएको बताइन् । यसअघि पुरुष प्रदान समाजले गर्दा महिलाको नाममा जग्गा नामसारी गर्ने गरेको थिएन । उनले महिलाको नाममा जग्गा नामसारी गर्दा राजस्वमा छुट दिएकै कारण आफ्नो मानमा जग्गा आएको सुनाइन् ।
उनले पहिले महिलाको नाममा जग्गा दिनु हुँदैन भन्ने आफ्नो घरपरिवार अहिले आएर राजी भएको जानकारी गराइन् । यो जग्गा नामसारी गर्न उनी एक दिन पैदल हिँडेर आएकी हुन् । पहिला विरोध गर्ने पुरुष अहिले आफै महिलाको नाममा लालपुर्जा लिनका लागि सहयोग गर्न थालेका छन् ।
कार्यालय प्रमुख रबिन्द्र शाहीले दुई वर्ष यता महिलाको नाममा जग्गा नामसारी गर्ने संख्या निक्कै बढेको बताए । कार्यालयमा आउने जग्गाको कारोवार अधिकांश महिलामै नाममा पास हुने गरेको बताउँदै उनले गाउँमा महिलाको नाममा जग्गा नामसारी गर्दा त्यसबाट हुने फाइदाको महत्व बुझ्दै जाँदा यो संख्या वृद्धि भएको उनले उल्लेख गररे ।
सुरुका वर्षमा छुटको व्यवस्थाले पनि खासै फरक नपारेपछि पछिल्ला वर्षमा यसको प्रभाव परेको उनको भनाइ छ । उनले चालु आर्थिक वर्षमा मंसिर २६ गतेसम्म महिलाका नाममा जम्मा ६४ वटा जग्गाको नामसारी भएको बताए । जबकी अघिल्लो आर्थिक वर्षमा यो संख्या ३१ रहेको थियो ।
यसबाट सेवाग्राहीले प्रत्यक्ष राजस्वमा छुट तोकिएको रकम दुई लाख ७० हजार ३५९ रुपियाँ पाउनु भएको छ । जब कि अघिल्लो यो छुटको रकम एक लाख २० हजार ३५९ रुपियाँ रहेको थियो । यता दलितको पनि नाममा जग्गा कारोवार गर्ने संख्यामा वृद्धि भइरहेको कार्यलयले जनाएको छ ।
जसमा पाँच महिनाको अवधिमा मात्र १९ वटा कोरोबार पुगेका छन् । अघिल्लो वर्ष भरिमा यो संख्या १८ रहेको थियो । जग्गा नामसारी गर्दा दलित, जनजातिको नाममा पनि पच्चीस प्रतिशत राजस्व छुटको व्यवस्था गरिएको छ । यता राजस्व छुट पाउने अन्य वर्षहरुमा शहिद परिवार, अपांगता, वृद्धि भएपनि उनीहरुको नाममा हालसम्म कारोवार भएको छैन ।