काठमाडौं । सरकारले विदेशमा अलपत्र परकोलाई उद्धार गर्ने निर्णय गरेको छ । कोरोना सम्बन्धिको उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले प्राथमिकता तोकेर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो । साथै बैठकले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने सम्बन्धी कार्ययोजना पारित गरेको छ ।
परराष्ट्र मन्त्रालयले १० दिनभित्र अलपत्र परेकाको विवरण तयार पारेर उद्धार प्रक्रिया थाल्ने सरकारको तयारी छ । अबको एक हप्तापछि उद्धारको काम शुरु हुने समितिको भनाई छ ।
शुक्रबार पेश भएको कार्ययोजनामा मन्त्रीहरुले सुझाव दिएपछि त्यसलाई थप परिमार्जन गरेर अन्तिम रुप दिन मुख्यसचिव नेतृत्वको कार्यदललाई जिम्मा दिइएको छ । सो कार्ययोजनाबारे प्रधानमन्त्रीलाई जानकारी गराउन उपप्रधानमन्त्री सहितका मन्त्रीहरु बालुवाटार पुगेका छन् ।
मन्त्रिपरिषद बैठकले यसअघि नै भारतबाहेका देशबाट अलपत्र नेपालीलाई ल्याउने निर्णय गरिसकेको छ । दुई दिनअघि प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधनमा पनि यो विषयले प्राथमिकता पाएको थियो । विदेशबाट नेपालीको उद्धार गर्न विभिन्न प्रदेश अनुसार मन्त्रीहरुलाई जिम्मा दिइएको छ ।
उनीहरुको उद्धार, क्वारेन्टाइन व्यवस्थापन र जोखिम न्युनिकरणका लागि गृहप्रदेश अनुसार संघीय सरकारका मन्त्रीहरुलाई जिम्मा दिइएको हो । कर्णाली प्रदेशका लागि वन तथा वातावरणमन्त्री शक्ति बस्नेत छानिएका छन ।
यस्तै प्रदेश १ मा भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङ, प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय, बागमतीमा महिला वालवालिकामन्त्री पार्वत गुरुङ, गण्डकीमा भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, प्रदेश ५ मा उर्जामन्त्री वर्षमान पुन र सुदूरपश्चिममा उद्योगमन्त्री लेखराज भट्टलाई संयोजक तोकिएको छ ।
उनीहरुले प्रदेशका पालिकासँग समन्वय गरेर विवरण संकलन गर्नुका साथै क्वारेन्टाइन लगायत आवश्यक तयारी र व्यवस्थापन गर्नेछन ।